मङ्गल ग्रहबाट पत्थर ल्याउन नासालाई किन नयाँ योजना आवश्यक

तस्बिर स्रोत, NASA
- Author, जोनाथन एमस
- Role, विज्ञान संवाददाता
मङ्गल ग्रहमा पहिला कुनै बेला जीवको अस्तित्व थियो कि भनेर हेर्न त्यहाँ सङ्कलित पत्थरका नमुनाहरू पृथ्वीमा ल्याउने प्रयासमा ठूलो परिमार्जन गर्नुपर्ने देखिएको छ।
अमेरिकी अन्तरिक्ष संस्था नासाका अनुसार अहिले जारी अभियानले आफूसँग भएको आर्थिक स्रोतको भरमा सन् २०४० अघि ती नमुनाहरू ल्याउन नसक्ने जनाएको छ। अनि चाँडै ल्याउन आवश्यक ११ अर्ब अमेरिकी डलर उपलब्ध गराउनु व्यावहारिक नहुने उसको भनाइ छ।
नासाले अझ सस्तो र चाँडो हुने विकल्पबारे सोचिरहेको छ।
उसले नयाँ उपायको खाका यो वर्षभित्रै बनिसक्ने अपेक्षा राखेको छ।
ग्रह अन्वेषणको काममा मङ्गल ग्रहबाट नमुना ल्याउनु दशकौँदेखि एकमात्र र सर्वाधिक महत्त्वको प्राथमिकता रहँदै आएको छ।
अपोलो अभियानका अन्तरिक्षयात्रीले चन्द्रमाबाट पत्थरहरू ल्याएपछि प्रारम्भिक सौर्यमण्डलको इतिहासबारे हाम्रो ज्ञानमा क्रान्ति आएको थियो। मङ्गल ग्रहबाट ल्याइने नमुनाले पृथ्वीबाहिर जीवहरू अस्तित्वमा भएको सम्भावनाबारे हाम्रो धारणामा पुनर्विचार गर्न सघाउने ठानिएको छ।
किन अव्यावहारिक
तर विद्यमान आर्थिक स्थितिमा मङ्गल ग्रहबाट नमुना ल्याउने योजना अव्यावहारिक हुने नासाले स्वीकार गरेको छ।
"खास कुरा के हो भने ११ अर्ब डलर निकै धेरै हो अनि नमुना ल्याउन २०४० सम्म कुर्न पनि सकिँदैन," नासा प्रमुख बिल नेल्सनले एउटा टेलिकन्फरेन्समा संवाददाताहरूलाई भने।
उनी अन्य निकायले नासाको मङ्गल परियोजना छायामा पार्न सक्ने सम्भावनाप्रति सजग देखिन्छन् र त्यसो हुन नदिने पक्षमा छन्।
तसर्थ उनी नासाभित्रैबाट र अन्तरिक्ष अन्वेषणकर्ताहरूबाट नयाँ धारणाको खोजीमा छन्।

तस्बिर स्रोत, NASA/JPL-Caltech/MSSS
'मार्स स्याम्पल रिटर्न' अर्थात् एमएसआर नाम दिइएको योजनामा युरोपेली अन्तरिक्ष निकाय (ईएसए) ले सहकार्य गरेको छ।
अहिले मङ्गल ग्रहमा नासाको 'पर्सिभिअरन्स' रोभरले नमुना सङ्कलन र तिनको नामाङ्कन गर्ने काम गरिरहेको छ।
यो दशकको उत्तरार्धतिर मङ्गल ग्रहमा एउटा रकेट पुर्याउने गरी अनुगमन परियोजना सञ्चालन गर्ने नासाको योजना थियो।
विशेष वाहनमा चढाइसकेपछि पर्सिभिअरन्सले सङ्कलन गरेका नमुनाहरू माथितिर प्रक्षेपण गरी युरोपमा निर्मित विशेष अन्तरिक्षयानमा पठाएर पृथ्वी ल्याइने योजना छ।
झन्डै ३०० ग्राम नमुनासहित एउटा क्याप्स्यूल सन् २०३३ मा अमेरिकाको यूटा राज्यमा आइपुग्ने अपेक्षा पहिला गरिएको थियो।
तर गत सेप्टेम्बरमा गरिएको एउटा स्वतन्त्र समीक्षामा उक्त परियोजना कार्यान्वयनमा त्रुटिहरूको भएको देखिएको थियो। उक्त समीक्षाले समयतालिका मिल्नेमा शङ्का व्यक्त गरेको थियो। मिले पनि खर्च बढेर आठ अर्बदेखि ११ अर्ब डलरसम्म पुग्न सक्ने आकलन थियो।

तस्बिर स्रोत, NASA/ESA
युरोपको सहयोग
सोमवार प्रकाशित प्रतिक्रियामा नासाले उक्त आकलनप्रति असहमति व्यक्त गरेको छैन। बरु उपयुक्त उपायबारे छलफल गर्न तत्परता व्यक्त गरेको छ।
"हामी नमुनाहरू चाँडै र कम खर्चमा ल्याउन नयाँ सम्भावनाहरू खोज्दै छौँ," नासाको विज्ञान निर्देशनालयकी प्रमुख डा निकोला फक्सले भनिन्।
"यो पक्कै पनि निकै महत्त्वाकाङ्क्षी उद्देश्य हो अनि हामीले डिजाइनका लागि धेरै नयाँ सम्भावना खोज्नुपर्छ र त्यसका लागि गर्न बाँकी केही पनि राख्नु हुँदैन।"
बीबीसीसँग कुरा गर्दै डा फक्सले यो प्रयासमा ईएसएको भूमिका महत्त्वपूर्ण रहने बताइन्। युरोपको 'अर्थ रिटर्न अर्बाइटर' (ईआरओ) को प्रक्षेपण अहिले गर्ने भनिएकोभन्दा केही समयपछि सम्भवतः सन् २०३० मा गरिने छ।
ईएसएको मङ्गल अन्वेषण गर्ने टोलीका प्रमुख डा ओर्सन सदर्ल्यान्डका अनुसार ईएसएले नासाको नयाँ योजनाको सूक्ष्म समीक्षा गर्ने छ।
"एमएसआरका वैज्ञानिक उद्देश्यहरू प्राप्त गर्न र मङ्गलमा भविष्यमा हुने अभियानका लागि जग बनाउन सबैभन्दा उपयुक्त बाटो पहिल्याउनु हाम्रो प्राथमिकता हो," उनले भने।
नेल्सनले एमएसआरप्रति नासा प्रतिबद्ध रहेकोमा जोड दिए।
तर त्यसका लागि नासाले व्यावहारिक बजेटमा काम गर्नुपर्छ। नेल्सनका लागि त्यो भने पाँच अर्बदेखि सात अर्ब डलर हो।

तस्बिर स्रोत, NASA/JPL-Caltech
जेजेरो खाडल र सूक्ष्मजीवको खोजी
नासाको पर्सिभिअरन्सले गरेका अनुसन्धानहरूले एमएसआरको वैज्ञानिक महत्त्वलाई उजागर गरेका छन्।
उक्त रोबट 'जेजेरो' नामक चौडा खाडलमा काम गर्दै छ। त्यहाँ ३.८ अर्ब वर्षअघि विशाल तलाउ भएको ठानिन्छ। त्यहाँ सूक्ष्मजीवहरू हुन सक्ने वा पहिलाका सूक्ष्मजीवको अवशेष फेला पर्न सक्ने ठानिन्छ।
पर्सिभिअरन्सले उक्त खाडलको डिलमा थुप्रिएको ठानिएका पत्थरमा छेड्ने र नमुना सङ्कलन गर्ने काम गरिरहेको छ।
यो परियोजनामा संलग्न वरिष्ठ वैज्ञानिक प्राध्यापक ब्रायोनी होर्गन ती नमुनालाई रोचक मान्छिन्।
"अहिले पर्सिभिअरन्समा हामीले 'सिलिका' र 'कार्बोनेट' (चुन)ले टाँसिएका पत्थरका तीनवटा नमुना राखेका छौँ। ती पदार्थलाई पृथ्वीमा प्राचीन जीवनको सङ्केत संरक्षण गर्न निकै राम्रो मानिन्छ," उनले बीबीसीसँग भनिन्।
"हामी ती नमुना पृथ्वीमा ल्याएर प्रयोगशालामा हेर्न चाहन्छौँ," उनले भनिन्।

तस्बिर स्रोत, NASA/JPL/JHUAPL/MSSS/BROWN UNIVERSITY
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








