संविधान दिवस: ओली, देउवा र प्रचण्डसहित अरू कसले के भने?

तस्बिर स्रोत, Reuters
'जेन जी' आन्दोलनका कारण भदौ २४ गते प्रधानमन्त्रीबाट राजीनामा दिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार पहिलो पटक सार्वजनिक अभिव्यक्ति दिँदै "प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको" भन्दै घटनाको "छानबिन हुनुपर्ने" बताएका छन्।
संविधान दिवसको अवसर पारेर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट राखेका ओलीको दाबी छ: "सरकारले प्रदर्शनकारीलाई ताकी ताकी गोली हान्ने आदेश दिएको थिएन।"
"यसका पछाडिको षड्यन्त्रबारे आज म धेरै कुरा भन्दिनँ, धेरै कुरा समयले आफैँ बयान दिनेछ," ओलीले लेखेका छन्।
"हाम्रो देश बनिरहेको थियो कि बिग्रेको थियो, वा देश बिग्रेको काल्पनिक भाष्य खडा गरेर आक्रोश विस्तार मात्रै गरिएको थियो ? यी सबै कुरा हाम्रो नयाँ पुस्ताले आफैँ महसुस गर्ने छ।"
उनले जेन जी आन्दोलनका आह्वानकर्ताहरूलाई नै उद्धृत गर्दै "शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ" भएको लेखेका छन्।
"त्यसमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरूको ज्यान गयो।"
एमालेको केन्द्रीय पार्टी कार्यालय, च्यासलमा आयोजित संविधान दिवस कार्यक्रममा भने उनी देखा परेनन्।
देउवा पनि बोले

तस्बिर स्रोत, Reuters
एक विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा विकसित वर्तमान राजनीतिक अवस्थाको उचित निकास पनि यही संविधानभित्रबाट खोज्न सकिने आफूहरूको विश्वास रहेको बताएका छन्।
"यदि त्यसो हुन सकेन भने राजनीतिक स्थिरताको खोजीमा संविधान बाहिर जाँदा झन्झन् अस्थिरता निम्तिने सम्भावना रहन्छ," आफ्नो विज्ञप्तिमा देउवाले भनेका छन्।
भदौ २३ र २४ गतेका घटनापछि कांग्रेसका अन्य नेताहरू बोले तापनि देउवा स्वयंले भने पहिलो पटक विज्ञप्ति जारी गरेका हुन्।
भदौ २४ गते बूढानीलकण्ठस्थित निवासमा प्रदर्शनकारीहरू प्रवेश गरेर तोडफोड गर्दा घाइते बनेका देउवा र उनकी पत्नी तत्कालीन मन्त्री आरजु राणा देउवालाई सुरक्षाकर्मीले उद्धार गरेका थिए।
उनीहरू दुवै उपचाररत रहेका विवरण आएका थिए।
'शासकीय स्वरुप बदल्ने मौका चुक्यो': प्रचण्ड

तस्बिर स्रोत, Screengrab
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिडिओमार्फत् जारी गरेको सन्देशमा 'जेन जी' आन्दोलनलाई पटक पटक उल्लेख गरेका छन्।
देश र जनताप्रतिको आफूहरूको 'निष्ठा र प्रतिबद्धता पुनर्निर्माणमा देखिनुपर्ने' भन्दै त्यसका लागि पार्टीपङ्क्तिमा आह्वान गरेका छन्।
"[भदौ] २३ र २४ गतेका घटनाहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन आयोग गठन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग जोड दिएर माग गर्दछु," प्रचण्डले भनेका छन्।
त्यसबाहेक उनले यतिखेर 'जेन जी'ले माग गरेको "प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था उतिखेरको मुख्य फरक मतका रूपमा राखेको" उल्लेख गरेका छन्।
"मेरा लागि 'जेन जी' आन्दोलन माओवादी जनक्रान्तिले सम्झौताको टेबुलबाट पूरा गर्न नसकेका एजेन्डाहरूकै अभिव्यक्ति हो।"
उनले 'जेन जी' आन्दोलनका बलमा त्यही संसद्बाट प्रत्यक्ष निर्वाचित कार्यकारी हुने शासकीय स्वरूपमा जानेगरी संविधान संशोधन सम्भव भएको भए पनि त्यस अवसर गुम्न पुगेको बताए।
"तर केवल आज 'जेन जी' आन्दोलनको औचित्य अन्तरिम सरकार र निर्वाचनको घोषणामा सीमित भयो। शासकीय स्वरूप नै बदल्ने र इतिहास रच्ने मौका फेरि पनि चुक्यो।"
'जेन जी आन्दोलन- असन्तुष्टिको प्रतिविम्ब': प्रधानमन्त्री

तस्बिर स्रोत, RSS
संविधान दिवसकै अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री सुशीला कार्कीले 'जेन जी' आन्दोलन "हाम्रा युवापुस्ताको चाहना, जनताको बढ्दो चेतनास्तर र मुलुकमा विद्यमान भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्ब" भएको बताइन्।
"संविधानको मर्म र भावनाबमोजिम सुशासन, समृद्धि र विकासको क्षेत्रमा भएका कमी कमजोरी र त्यसबाट सिर्जित असन्तोष, अभाव वा अपेक्षा पूरा नभएको कारणले पनि यो आन्दोलनको जन्म भएको कुरालाई हामीले स्वीकार गर्नुपर्दछ," कार्कीले भनिन्।
"यस आन्दोलनलाई मैले हाम्रो लोकतान्त्रिक प्रणालीको स्वास्थ्यसँग पनि जोडेर हेर्ने गरेको छु। किनभने लोकतन्त्र भनेको जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणाली हो।"
पछिल्लो आन्दोलनले धेरै क्षेत्रहरूमा सुधार गर्न मार्गनिर्देश गरेको बताउँदै प्रधानमन्त्री कार्कीले युवापुस्ता आफू शासकीय प्रणालीमा सहभागी हुन चाहेको बताइन्।
उनको भनाइ थियो: "विकसित देशका सफल शासकीय अभ्यासहरूलाई आफ्नो मुलुकमा देख्न चाहन्छ।"
"अहिले हामीले संविधानमा परिवर्तनभन्दा पनि संविधानको मर्म र भावना बमोजिमको कर्मको अझ बढी अपेक्षा गरेका छौँ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








