यूएईमा नेपालीको दशैँ: कामबाट फर्केपछि या बिदाका दिन

तस्बिर स्रोत, Umakanta Pandey
- Author, उमाकान्त पाण्डे
- Role, दुबई
पाल्पा तानसेनका शारदाप्रसाद भट्टराई (राजु) यूएई आएको ४३ वर्ष भयो। सन् १९८२ मा यूएई आएका उनी त्यो बेला दशैँ कहिले परेको छ भनेर नेपालमा रहेका आफन्तलाई चिट्ठी लेखेर सोध्ने गर्थे।
"उतिबेला दुबईमा नेपालीहरू भेट्टाउन गाह्रो पर्थ्यो," उनी भन्छन्। दुबईमा आजभोलि नेपालीको उपस्थिति बाक्लो छ।
पहिला दशैँको दिन नजिकिँदै छ भनेर महिनौँ अघिदेखि बिदाको लागि निवेदन दिएर तयारी गर्ने गरेको उनी सम्झन्छन्।
नेपालको स्वादको मासु खान ठूलो रहर लाग्ने, सबै मिलेर खसी किन्ने र स्वादिला परिकार बनाएर खाने गरेको सम्झना उनलाई छ। "राता अक्षताले भरिएको निधार, बाहिर जाँदा कसैले केही भन्ला कि भनेर अलिकति पुछेर मात्र जाने गरिन्थ्यो," भट्टराई भन्छन्, "यूएईमा कसैले हामीलाई रोक्ने, सोध्ने वा केही भन्नु पर्ने स्थिति कहिल्यै आएन।"
तर, बाहिर सडक छेउछाउ वा पार्कहरूमा धेरै हल्ला गरेर अरूलाई असजिलो हुने गरी पर्व मनाउनु उचित नहुने भट्टराईको भनाइ छ।
सन् १९९४ मा साउदी अरब पुगेका पोखरा टुटुङ्गाका कृष्णबहादुर ढकाल सन् १९९६ मा दुबई प्रवेश गरेको बताउँछन्।
उनले यहाँ तीन कार्यकालसम्म नेपाली समाज यूएईको नेतृत्व सम्हाले, जुन संस्था यूएईकै नेपालीहरूसम्बन्धी सबैभन्दा पुरानो संस्थामध्ये एक हो। नेतृत्वमा रहँदा उनले नेपाली राजदूतलाई समेत आमन्त्रण गरी, पार्कमा जेष्ठ नागरिकको हातबाट नेपाली समुदायलाई टिकोटालो गराउने परम्परा बसालेको बताउँछन्।

तस्बिर स्रोत, Umakanta Pandey
तर, समय फेरिँदै गएको छ। दूतावासको तथ्याङ्क अनुसार सन् २०२० मा करिब ३५ हजार नेपाली आमा, बुवा तथा परिवारजन आफ्ना छोरा, बुहारी, छोरी, ज्वाइँ र दाजु, भाइसँग दशैँ मनाउन यूएई आएका थिए। उनीहरूले दुबईमा बसेर परिवारसँगै पर्वको रमाइलो गरेका थिए।
दशैँमा टिकाटालासँगै पहेँलो जमरा र नेपाली परिकारको उत्तिकै महत्त्व हुन्छ। तर, परदेशमा यी सबै जुटाउन सजिलो छैन। कतिपयले त घर देशबाट आउने आफन्तमार्फत् नेपालमै राखिएका जमरा दुबईसम्म ल्याएर टिका ग्रहण गर्ने गरेका थिए।
यस पटक भने परिस्थिति फरक छ। नेपालमा भएको पछिल्लो जेन जी आन्दोलन र कैदी बन्दी फरार प्रकरणपछि यूएई सरकारले नेपाली नागरिकलाई भिजिट भिसा तथा अन्य भिसा दिन अस्थायी प्रतिबन्ध लगाएको छ। यसै कारण, यस वर्ष परिवारलाई दुबई बोलाएर दशैँ मनाउने योजना धेरैको अधुरै भएको छ।
अघिल्ला वर्षहरूमा घर फर्किनेहरू ३–४ महिना अघिदेखि नै हवाई टिकट बुक गर्ने गर्थे। यसपालि पनि बिदा पाउनेहरूले आफ्नो वार्षिक बिदा बचत गरेर दशैँमा घर जाने तयारी गरेका छन्। रुपन्देही मणिग्रामकी कला पङ्गेनी घटस्थापनाअघि नै नेपाल पुगेकी छिन्।

तस्बिर स्रोत, Umakanta Pandey
यस वर्षको टिकाको मुख्य दिन असोज १६ गते, अर्थात् अक्टोबर २ तारिख बिहीवार परेको छ। बिहीवार अधिकांश नेपाली श्रमिकलाई बिदा नपर्ने भएकाले टिकाकै दिन दशैँ मनाउन सहज छैन।
कतिपयले काम सकेर कोठामा फर्किएर दशैँ मनाउने तयारी गरेका छन् भने कतिपयले पूर्णिमासम्म दशैँ मनाउने परम्परालाई निरन्तरता दिँदै आएका छन्।
यूएईमा सार्वजनिक बिदा आइतवार पर्ने भएकाले यस पटक दशैँको त्यसैदिन धेरै नेपालीले दुबईका पार्कहरूमा सामूहिक टिकोटालो गर्ने योजना बनाएका छन्।
अबुधाबीमा कार्यरत बाराकी रश्मि रिजालले घटस्थापनाका दिनै व्यस्तताबीच जमरा राखेकी छिन्। उनी आफन्तसँगै दशैँ मनाउने तयारीमा छिन्। अबुधाबीको पश्चिमी क्षेत्रमा, साउदी सीमा सिलामा कार्यरत नेपालीहरू भने आफ्नै कम्पनीको मजदुर शिविरमा दशैँ मनाउने तयारीमा छन्।
तेल–ग्यास उत्पादन गर्ने क्षेत्रमा कार्यरत मजदुर बस्ने रूवेसस्थित ग्यास्को मजदुर शिविरमा दशैँ मनाउने क्रममा ८ वर्षअगाडि भएको झगडाले एक नेपालीको ज्यान गएको घटनापछि त्यहाँ दशैँ मनाउन सहज छैन। यद्यपि, स्याङ्जाका दिलीपराज मगरका अनुसार साथीभाइ मिलेर यसपालि पनि दशैँ मनाउने तयारी भइरहेको छ।
अबुधाबीमा कार्यरत नेपाली महिलाहरूले कम्पनीको काम सकेर साँझ कोठा फर्किएर दशैँ मनाउने तयारी गरेको बताएका छन्। त्यस्तैमध्ये दोलखाकी कमला रम्तेल र उनका साथीहरूले भने आफ्नो काम सकेर फर्किएपछि कानमा जमरा, निधारमा अक्षता राखेर दशैँ मनाउने योजना बनाएका छन्।
१९८०/९० को दशकमा निधारमा अक्षता र जमरा लिएर बाहिर निस्कँदा पुलिसले सोध्ला भन्ने डरले धेरैले पुछेर हिँड्ने गर्थे। तर, आजको यूएई धार्मिक सहिष्णुतामा आधारित मुलुक भएकाले यहाँ मन्दिर, चर्च, स्तूपासहित सबै धर्मलाई समान सम्मान दिने वातावरण छ। यसैले धेरै नेपालीले दशैँका दिन मन्दिरमा गएर पूजा–आजापछि एक आपसमा टिका ग्रहण गर्ने चलन बसालेका छन्।

तस्बिर स्रोत, Umakanta Pandey
व्यावसायिक समुदाय पनि यस पर्वमा सक्रिय देखिन्छ। अजमानका व्यवसायी विष्णु अधिकारीले बर्सेनि स्थानीय नेपालीलाई निःशुल्क टिका, जमरा, सेलरोटी र परिकार उपलब्ध गराउँदै आएका छन्। आफ्नो रेस्टुरेन्टको सभाहल मजदुर शिविरमा मनाउन नपाउनेहरूको लागि खुला गर्ने गरेका छन्। दुबईका अन्य व्यवसायीहरूले पनि आफ्ना सभाहल तथा पूजास्थल उपलब्ध गराएर सहज वातावरण सिर्जना गरिरहेका छन्।
यसैबीच, अबुधाबीस्थित नेपाली दूतावासका कूटनीतिक कर्मचारीहरूले राजदूतको निवाससम्म पुगेर टिका लगाउने चलनलाई निरन्तरता दिँदै आएका छन्।
बडा दशैँको अवसरमा यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले परदेशमा रहँदा सम्बन्धित मुलुकको कानुन र अवस्थालाई बुझेर सभ्य र मर्यादित तरिकाले दशैँ मनाउन सम्पूर्ण नेपालीलाई आग्रह गरेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








