इलोन मस्क र डोनल्ड ट्रम्प कसरी आपसमा नजिकिए

सन् २०२४ को अमेरिकी राष्ट्रपतीय निर्वाचनअघिको चुनावी कार्यक्रममा डोनल्ड ट्रम्प र इलोन मस्क

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, राष्ट्रपतीय निर्वाचनअघि ट्रम्पका केही चुनावी कार्यक्रमलाई मस्कले सम्बोधन गरेका थिए
    • Author, ग्लोबल डिस्ट्रिब्यूशन यूनिट
    • Role, बीबीसी विश्व सेवा

अक्टोबरमा एउटा चुनावी र्‍यालीका क्रममा डोनल्ड ट्रम्पसँग प्रविधि जगत्‌का अर्बपति इलोन मस्कका लागि एक विशेष सन्देश थियो।

त्यति बेला मस्क 'मेक अमेरिका ग्रेट अगेन' अर्थात्‌ 'अमेरिकालाई फेरि महान् बनाऊँ' भन्ने सन्देश लेखिएको टोपी लगाएर ट्रम्पनजिकै उभिएका थिए।

"उनी एक ठूला सज्जन व्यक्ति हुन्," गोधूलिका बेला ट्रम्पले भनेका थिए, "उनले वाक्‌ स्वतन्त्रताको रक्षा गरेका छन्।"

उक्त कार्यक्रम करिब तीन महिनाअघि पेन्सिल्भेनिआस्थित फार्म शो ग्राउन्डमा भएको थियो, जति बेला एक बन्दुकधारीले ट्रम्पको हत्या गर्ने प्रयास गरेका थिए।

विफल हत्या प्रयासको केही मिनेटपछि जुलाईमा इलोन मस्कले ‍औपचारिक रूपमा राष्ट्रपतिमा ट्रम्पलाई सघाउने घोषणा 'एक्स'मार्फत्‌ गरे अनि उनको पक्षमा व्यापक प्रचारप्रसार गर्ने बताए।

पहिला ट्विटर भनेर चिनिएको उक्त सामाजिक सञ्जालको स्वामित्व अहिले मस्कसँग छ।

मस्कका लागि उनको त्यो घोषणा आफ्नो राजनीतिक विकासक्रममा अर्को महत्त्वपूर्ण क्षण थियो।

वाक्‌ स्वतन्त्रताको रक्षा गरेको भन्ने उनका दाबीले मस्कको रूपान्तरणबारे वर्णन गर्न सघाउँछ।

विद्युतीय कारदेखि एक्ससम्म

भत्काइँदै गरेको ट्विटरको साइनको तस्बिर खिच्दै एक व्यक्ति

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, मस्कले स्वामित्व पाएपछि पहिले ट्विटर भनिने सामाजिक सञ्जालको नाम बदलिएको छ

विद्युतीय कारको व्यापार, अन्तरिक्ष भ्रमण र भूउपग्रहको सहयोगले चल्ने इन्टरनेट उपलब्ध गराउने कामले उनलाई प्रसिद्ध र संसारकै सबैभन्दा धनी बनाएको छ। तर राजनीतिसम्बन्धी उनका विचारबारे स्पष्ट पार्न गाह्रो रहिआएको छ।

सन् २०११ मा उनले आफूलाई "मध्यमार्गी" र एक किसिमका सामाजिक रूपले उदार अनि आर्थिक रूपले अनुदारवादी" भने व्याख्या गरेका थिए।

उनको करिअरलाई नजिकबाट नियालेका पत्रकारहरू इलोन मस्कका विचारहरू कोभिड महामारीका र जो बाइडन प्रशासनका बेलादेखि फेरिन थालेका बताउँछन्।

महामारीको सुरुवाती चरणमा उनले कोभिडको गम्भीरताबारे प्रश्न गरे र प्रतिबन्धात्मक कदमका उनी कडा आलोचक थिए। टेस्लाको आम्दानीको हकमा सन् २०२० को एप्रिलमा उनले "फासीवादी" भनेर चित्रण गरे।

यो समयावधिको वरपर उनका सन्तानमध्ये एकजना लिङ्ग परिवर्तन लगाउन लागेका थिए, जुन कुराको पछि उनले विरोध गरे।

पहिचानको राजनीतिसहित प्रगतिशील मूल्यमान्यताबारे आलोचना गर्दै उनी प्रायः तिनलाई "वोक माइन्ड भाइरस" को उपज भएको बताउँछन्।

ट्विटर किन्नुअघिदेखि नै उनले सामाजिक सञ्जालहरूमा वामपन्थी पूर्वाग्रह भएकाहरूको उपस्थिति रहेको भन्दै आलोचना गरेका थिए।

सन् २०२२ को मार्चमा मस्क र उनकी पूर्वपत्नीबीच आदानप्रदान भएको एउटा सन्देशमा दक्षिणपन्थी झुकाव भएको एउटा व्यङ्ग्यात्मक साइट निलम्बन गरिएकोमा उनीहरू आक्रोशित भएका देखिएको थियो।

अदालती कागजपत्रअनुसार उनकी पूर्वपत्नीले उक्त सामाजिक सञ्जाल किन्न सल्लाह दिइन् र "पूर्ण रूपमा वाक्‌ स्वतन्त्रतायुक्त" बनाउन सुझाइन्।

सोही वर्ष यी व्यापारीले ४४ अर्ब डलरमा ट्विटर खरिद गरे। पछि ट्विटरबाट एक्स नामकरण गरे।

वाक् स्वतन्त्रताको अजेन्डा

ब्रजिलका मानिसहरू इलोन मस्कको समर्थनमा प्रदर्शन गर्दै

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, ब्राजिलमा चुनावसम्बन्धी मिथ्या सूचना र हिंसासँग सन्बन्धित थुप्रै खाताहरूमाथि प्रतिबन्ध लगाउन उनले अस्वीकार गर्दा भूतपूर्व अतिदक्षिणपन्थी राष्ट्रपति जइर बोल्सोनारूका समर्थकहरूले मस्कको प्रशंसा गरे

ट्विटर खरिद गर्न उनका लागि किन त्यति महत्त्वपूर्ण भयो भनी प्रश्न गर्दा उनले "एउटा स्वस्थ लोकतन्त्रका लागि" वाक्‌ स्वतन्त्रताको महत्त्वको कुरा गरे र "डिजिटल टाउन स्क्वेअर" को आवश्यकतामाथि जोड दिए।

उनको परिभाषाको वाक्‌ स्वतन्त्रताका नाममा एक्समा ठूलो स्तरमा कर्मचारी कटौतीसहित व्यापक परिवर्तन ल्याइयो। उनले 'षड्यन्त्रमा विश्वास गर्ने' एलेक्स जोन्सका साथै डोनल्ड ट्रम्पलगायतका निलम्बित अकाउन्टहरूलाई ब्युँताए, जसले कतिपय रिपब्लिकनलाई खुसी बनायो।

आधारभूत रूपमा वाक्‌ स्वतन्त्रता भनेको आफूलाई व्यक्त गर्ने र अरूका कुरा सुन्ने नैतिक अधिकार हो।

त्यो प्रायः सुरक्षासहित आउँछ। उदाहरणका लागि घृणा फैलाउने अभिव्यक्ति वा हिंसा उक्साउने कार्यलाई आपराधिक मान्छ।

संयुक्त राज्य अमेरिकामा वाक्‌ स्वतन्त्रतालाई संविधानको पहिलो संशोधनले सुरक्षित गरेको छ।

त्यसले राजनीतिक आयामहरू खास गरी इन्टरनेटसम्बन्धी विषयलाई ग्रहण गरेको छ।

"रिपब्लिकनहरू संविधानमा अन्तर्निहित मौलिक अधिकारहरूलाई एक किसिमको राजनीतिक फुटबलका रूपमा उपयोग गर्न सिपालु भइसकेका छन्। जस्तो कि उनीहरू 'हामी यी अधिकारहरूको रक्षा गर्छौँ र डेमोक्र्याटहरू त्यसको विरोध गर्छन्' भनेर भन्छन्," युनिभर्सिटी कलेज लन्डनस्थित राजनीतिक दर्शनका ज्ञाता प्राध्यापक जेफरी हावर्ड भन्छन्।

'पूर्ण वाक्‌ स्वतन्त्रतावादी'?

डोनल्ड ट्रम्प र इलोन मस्क

तस्बिर स्रोत, Reuters

मस्क विदेशसम्म पनि आफ्नो परिभाषाको वाक् स्वतन्त्रताको रक्षा गर्न कति चाहिरहेका छन् भन्ने कुरा उनले देखाइसकेका छन् र त्यसले अन्तर्राष्ट्रिय स्तरमा विवाद पनि निम्त्याएको छ।

ब्राजिलमा चुनावसम्बन्धी मिथ्या सूचना र हिंसासँग सन्बन्धित थुप्रै खाताहरूमाथि प्रतिबन्ध लगाउन उनले अस्वीकार गर्दा भूतपूर्व अतिदक्षिणपन्थी राष्ट्रपति जइर बोल्सोनारूका समर्थकहरूले 'नायक' भन्दै मस्कको प्रशंसा गरे।

तर भारत र टर्कीका सरकारले एक्सबाट सामग्री हटाउन गरेको आग्रह स्वीकार गरेपछि कतिपले उनलाई 'पाखण्डी'को सङ्ज्ञा दिएका छन्।

उनले जुनजुन देशमा उक्त सामाजिक सञ्जाल सञ्चालनमा छ, त्यहाँको कानुन मान्नुपर्छ भन्ने कुरा प्रायः भन्ने गरेका छन्।

एक्समा एउटा पोस्टमा उनले आफूलाई एक "पूर्ण वाक्‌ स्वतन्त्रतावादी" भने। यो दृष्टिकोण उनले सधैँ अवलम्बन गरेको चाहिँ देखिँदैन।

एक्सले सबैखाले कानुनी अभिव्यक्तिलाई अनुमति दिँदैन र केही हानिकारक अभिव्यक्तिलाई रोक्ने उसका नियमहरू छन्।

वाक्‌ स्वतन्त्रताको रक्षा गर्ने इलोन मस्कका दाबीबीच उनको निजी जेटलाई पछ्याएको एउटा अकाउन्टसँग सम्बन्धित रहेको भन्दै सन् २०२२ को डिसेम्बरमा केही चर्चित पत्रकारहरूका एक्स अकाउन्टहरू अस्थायी रूपमा निलम्बनमा परे।

एक्समा सबैभन्दा धेरै 'फलो' गरिएको खाता मस्ककै हो र 'नोडएक्सएल'का अनुसार सन् २०२२ यता उनले आफ्ना पहिलाका पोस्टभन्दा दोबर बढी गरेका छन्।

'नोडएक्सएल' सोशल मिडिआ रिसर्च फाउन्डेशनको सामाजिक सञ्जाल पर्यवेक्षण टूल हो।

"उनको दैनिक सूचनाको आहार साँच्चै नै एक्स हो। त्यही उनले आफ्ना समाचार पाउँछन्," मस्कनजिकका मानिसहरूको अन्तर्वार्ता गरेकी र उनीबारे किताब लेखेकी न्यूयोर्क टाइम्स पत्रिकाकी केट कोङ्गर भन्छिन्।

ट्रम्पको समर्थनमा अभियान

सन् २०२४ को अमेरिकी राष्ट्रपतीय चुनाव अभियान सुरु हुँदा इलोन मस्कले आफूले डेमोक्र्याटिक पार्टी समर्थन नगर्ने सार्वजनिक रूपमै सङ्केत गरिसकेका थिए भने जुलाईमा उनले एक्समा एउटा पोस्ट गर्दै ट्रम्पलाई अनुमोदन गरेको घोषणा गरे।

केट कोङ्गरका अनुसार चुनावी अभियान चल्दै गर्दा मस्क हरसम्भव हरेक केही घण्टामा पोस्ट गर्थे, जसमा उनले कि ड्रोनल्ड ट्रम्पप्रति समर्थन जनाउँथे कि कमला ह्यारिसप्रति आक्रमण गर्थे।

डेमोक्र्याटहरूले चुनावमा धाँधली गरेका र ठूलो सङ्ख्यामा मतदाता ल्याएको भन्ने डोनल्ड ट्रम्पका अप्रमाणित दाबीहरूमा मस्कले स्वर मिलाए।

उनले पटकपटक दोहोर्‍याउने गरेका एउटा विषय चाहिँ वाक्‌ स्वतन्त्रता हो।

"यो सामान्य चुनाव होइन। अर्को पक्ष हाम्रो वाक्‌ स्वतन्त्रताको हरण गर्न चाहन्छ," अमेरिकीहरू मतदानमा जानुभन्दा एक महिनाअगाडि ट्रम्पको एउटा र्‍यालीमा मस्कले भने।

राजनीतिक जोडघटाउले नतिजा दियो। नियमन तथा ह्वाट हाउसलाई खर्चबारे सल्लाह दिने भूमिकाका लागि मस्कलाई चयन गरिएको छ र कम्तीमा अहिलेलाई उनी राष्ट्रपति निर्वाचित ट्रम्पको निकै नजिक देखिन्छन्।

आफ्नो करिअरमा मस्कका कम्पनीहरूले अर्बौँ डलर बराबरका सरकारी ठेक्कापट्टा पाएका छन् र सम्भावित स्वार्थको द्वन्द्वबारे अहिले चासो व्यक्त भइरहेका छन्।

उनका समर्थकहरू उनले वाक् स्वतन्त्रतालाई "जोगाएको" बताउँछन्। प्राध्यापक हावर्डजस्ता अरू त्यसमा असहमत हुन्छन्।

"मेरो आफ्नो बुझाइ के छ भने सार्वजनिक बहसका लागि एक्स स्वस्थकर ठाउँ रहेन, जस्तो मस्कले किन्नुभन्दा पहिला थियो।"

प्रतिक्रियाका लागि बीबीसीले आग्रह गरे पनि इलोन मस्कले कुनै जबाफ दिएनन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।