इजरेलद्वारा 'पूर्ण शक्ति' लगाउँदै हिज्बुल्लाहविरुद्ध हमला जारी, युद्धविरामका प्रयास के हुँदैछन्?

तस्बिर स्रोत, Getty Images
- Author, टम बेनेट
- Role, बीबीसी न्यूज
इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले आफ्नो देशको सेना सशस्त्र समूह हिज्बुल्लाहविरुद्ध “पूर्ण शक्ति” लगाएर लड्ने काम जारी राख्ने बताएका छन्।
अमेरिका र अन्य साझेदार देशबाट युद्धविरामका लागि आह्वान भइरहँदा नेतन्याहूको त्यस्तो भनाइ आएको हो।
लेबननको स्वास्थ्यमन्त्रालयले बिहीवार इजरेली हवाई हमलाका कारण कम्तीमा ९२ जना मारिएको जनाएको छ।
अवस्था चर्कन थालेपछि सोमवारयता लेबननमा अन्य सयौँ जनाले ज्यान गुमाएका छन्।
बेइरुतको दक्षिणमा पर्ने अपार्टमेन्टमा भएको एक हमलामा परेर हिज्बुल्लाहको ड्रोन एकाई प्रमुख मोहम्मद सुरुर मारिएको उक्त समूहले जनाएको छ।
सोमवारयता नाटकीय रूपमा लेबननमा इजरेली हमला चर्किएसँगै इजरेल र हिज्बुल्लाहबीच पूर्ण आकारको युद्ध हुने चर्चा यतिखेर उत्कर्षमा छ।
युद्धविरामका प्रयास के भइरहेका छन्?

तस्बिर स्रोत, Reuters
शत्रुता गहिरिँदै जाँदा अमेरिका, यूके र युरोपेली सङ्घ ईयूसहितका १२ शक्तिहरूले बुधवार तीन साता लामो इजरेल-हिज्बुल्लाह युद्ध विरामको प्रस्ताव गरेका छन्।
संयुक्त राष्ट्रसङ्घका लागि इजरेली राजदूतले यसअघि आफ्नो देश विभिन्न “विचारका लागि खुला” रहेको बताउँदा धेरैलाई आशावादी बनाएको थियो।
तर बिहीवारसम्ममा त्यसलाई इजरेली राजनीतिज्ञहरूले पूर्ण रूपमा अस्वीकार गरेका छन्।
संयुक्त राष्ट्रसङ्घीय महासभाका लागि न्यूयोर्कमा अवतरण गरे लगत्तै नेतन्याहूले आफ्ना सबै लक्ष्य हासिल नहुँदासम्म इजरेल लेबननमा “नरोकिने” बताएका थिए।
जसमध्ये एउटा मुख्य लक्ष्यका रूपमा उत्तरी भेगका इजरेली बासिन्दाहरू सुरक्षित रूपमा आफ्नो घर फर्कन सक्ने अवस्था बनाउनु रहेको उनले बताए।
पछि ह्वाइटहाउसले युद्ध विराम प्रस्ताव इजरेलसँग “समन्वय” गरिएको जनाएको थियो। तर त्यसको केही घण्टापछि नेतन्याहूले आफ्नो देशले लडाइँ जारी राख्ने बताए।
न्यूयोर्कमा बोल्दै यूकेका प्रधानमन्त्री सर किअर स्टार्मरले लेबननको द्वन्द्व सुल्झाउन "एउटा कूटनीतिक समाधानका लागि तत्काल युद्ध विराम" आह्वान गरे।
उनले द्वन्द्व "कसैले नियन्त्रण गर्न नसक्ने" युद्धका रूपमा फैलन सक्ने समेत बताए।
दुवैतर्फ हजारौँ विस्थापित
गाजा युद्ध सुरु भएयता झन्डै एक वर्षदेखि इजरेल र हिज्बुल्लाहबीच सीमापार हमला हुँदै आएको छ। जसका कारण एक वर्षयता उत्तरी इजरेलबाट ७० हजार मानिसहरू विस्थापित छन्।
लेबननमा सोमवारयता ९० हजार मानिसहरू विस्थापित भएका छन्। संयुक्त राष्ट्रसङ्घका अनुसार पहिल्यै त्यहाँ १ लाख १० हजार मानिसले घर छाडेका थिए।

तस्बिर स्रोत, Getty Images
बिहीवार इजरेली सेनाले लेबननको दक्षिण र पूर्वको बेका उपत्यकामा रहेका हिज्बुल्लाहका निशानामा प्रहार गरेको थियो।
उसले लेबनन-सिरिया सीमामा रहेका पूर्वाधारमा समेत हमला गर्दै त्यो उक्त समूहलाई अस्त्र आपूर्ति रोक्न त्यसो गरिएको जनाएको छ।
इजरेली वायु सेवाका कमाण्डर मेजर जेनरल तोमर बारेले बिहीवार आफ्ना फौजलाई सम्बोधन गर्दै लेबननमा हुने स्थल हमलालाई साथ दिन आफूहरू तयार हुनुपर्ने बताए।
हिज्बुल्लाहले हमासलाई साथ दिने गरी लडिरहेको भन्दै गाजामा युद्ध रोकिएपछि मात्र सीमा पार हमलाहरू रोक्ने जनाएको छ।
इरानको साथ पाएको हिज्बुल्लाहलाई इजरेल, यूके र कैयौँ पश्चिमा देशहरूले आतङ्कवादी सङ्गठन मान्छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








