विश्व कीर्तिमानी आरोहीमाथि ज्यान गुमाउन लागेका पथप्रदर्शकलाई त्यसै छाडेको आरोप

केटु

तस्बिर स्रोत, WILHELM STEINDL

    • Author, माटिआ बुबालो र बेथनी बेल
    • Role, बीबीसी न्यूज, लन्डन र भियाना

अघिल्लो महिना सबैभन्दा कम समयमा विश्वका चौधवटा अग्ला हिमाल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेकी एक प्रसिद्ध नर्वेली पर्वतारोहीले रेकर्ड कायम गर्न उनको टोलीले ज्यान गुमाउन लागेका एकजना घाइते पथप्रदर्शकलाई बेवास्ता गरेर शिखरतर्फ अघि बढेको भन्ने आरोप अस्वीकार गरेकी छन्।

मोहम्मद हसन नामका ती भरिया पाकिस्तानस्थित विश्वको दोस्रो अग्लो हिमाल केटुको एउटा टाकुराबाट खसेका थिए।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओमा एउटा पर्वतारोहीको समूह हसन नजिकैबाट हिँडेको देखिन्छ। त्यसको केही घण्टापछि उनको मृत्यु भएको बताइएको छ।

तर क्रिस्टिन हरिलाले उनी र उनको टोलीले उनलाई खतरनाक अवस्थामा मद्दत गर्नका निम्ति सबैखाले प्रयास गरेको बीबीसीलाई बताइन्।

भिडिओमा के देखिन्छ?

"यो एउटा दुखद दुर्घटना हो... एकजना बाबु र छोरा र एकजना श्रीमान्‌ले त्यस दिन केटुमा आफ्नो ज्यान गुमाए। मलाई लाग्छ- यो धेरै दुखद हो र त्यो त्यसरी समाप्त हुनपुग्यो," उनले भनिन्।

ती नर्वेलीले विश्व कीर्तिमान् कायम गर्न शिखर चढ्दै थिइन् र ८,००० मिटरभन्दा माथिका सबै चुचुराहरू सबैभन्दा छोटो समयमा आरोहण गर्ने क्रममा केटुको शिखरमा पनि पुगेकी थिइन्।

शिखर आरोहणका क्रममा हसन निकै साँघुरो मार्गबाट जुलाई २७ तारिखमा खसेको बताइएको छ।

अस्ट्रियाका फिलिप फ्लमिङ र विल्हेल्म स्ट्यान्डेल नामक दुई जना पर्वतारोहीले उक्त घटनाका तस्बिरहरू पोस्ट गरेका छन्।

त्यसमा उनीमाथि मानिसहरू चढिरहेको देखिन्छ।

तर घटनाको कुन अवस्था देखाउने अभिप्रायले ती तस्बिरहरू लिइएको हो भन्ने स्पष्ट छैन।

उनीहरू पनि त्यस दिन सोही हिमालमा थिए तर खतरनाक मौसमी अवस्था र हिमपहिरोका कारण उनीहरूले आरोहण रद्द गरेका थिए।

उनीहरूले शिखरमा पुग्ने स्ट्यान्डेलको प्रयासबारे एउटा डक्यूमेन्ट्रीका लागि छायाङ्कन गरिरहेका थिए।

तस्बिर कसरी लिइयो?

उनीहरूले आफ्नो क्यामेराको डिस्प्ले सानो भएकोले ड्रोनले कैद गरेको विवरण भोलिपल्ट मात्र देखेको बताएका छन्।

"हामीले एक जना केटालाई जिउँदै देख्यौँ, साँघुरो मार्गमा ऊ लडिरहेको थियो र मानिसहरू शिखरमा पुग्नका लागि उसैमाथि पाइला चालिरहेका थिए। अनि त्यहाँ कुनै उद्धार अभियान चलाइएको थिएन," स्ट्यान्डेलले बीबीसीलाई भने।

"म वास्तवमै स्तब्ध भएँ। अनि म वास्तवमै दु:खी थिएँ। मानिसहरूले भर्खरै उसलाई पार गरेर गए र त्यहाँ कुनै खालको उद्धार अभियान थिएन भनेर म रुन थालेँ।”

फ्लेमिङले अस्ट्रियाको डेर स्ट्यान्डर्ड अखबारलाई बताए अनुसार हसनलाई एक जना व्यक्तिले मद्दत गरिरहेको थियो तर “अरू सबै" आरोहीहरू "प्रतिस्पर्धात्मक शिखर आरोहणको भिड"मा मिसिएर शिखरतर्फ अघि बढिरहेका थिए।

यो पनि पढ्नुहोस्

यद्यपि हरिलाले हसनलाई मर्नका लागि छोडिएको आरोपलाई अस्वीकार गरेकी छिन्।

बीबीसीको द वर्ल्ड टुनाइट कार्यक्रममा बोल्दै उनले आफ्नो टोलीका सदस्यहरूले हसनलाई मद्दत गर्ने प्रयास गरेको तर अन्य पर्वतारोहीहरूको भिड भएको साँघुरो बाटोबाट उनलाई फर्काउन सम्भव नभएको बताइन्।

उनले हसन "आफ्नो टोलीको हिस्सा नभएको" र आफूले उनलाई लडेको नेखेको तर ठूलो समूहले उनलाई चोट लागेको लागेको महसुस गरेपछि हसनलाई एक्लै नछोडिएको बताइन्।

हरिलाले हसन काम गर्ने कम्पनीलाई प्रश्न गर्नुपर्ने बताइन्।

क्रिस्टिन हरिला

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, क्रिस्टिन हरिला

कीर्तिमानी पर्वतारोही के भन्छिन्?

उनका अनुसार हसन डोरीहरू सुरक्षित छन् भन्ने निश्चित गर्न आरोहण दलभन्दा अगाडि पठाइएको "फिक्सिङ्" टोलीको हिस्सा थिए किनभने उनीसँग अक्सिजन वा चिसो मौसमका लागि उपयुक्त कपडा थिएनन्।

उनले भनिन्, "हामीले उनलाई बचाउन कोसिस गरिरहेका थियौँ। हामीले धेरै घण्टासम्म सक्दो गरेका थियौँ... त्यो एकदमै साँघुरो बाटो हो।”

"तपाईँ चढ्दै हुनुहुन्छ र पार गर्दै हुनुहुन्छ र [व्यक्ति] लाई बोक्नु पनि हुन्छ? त्यो सम्भव छैन।"

त्यसअघि गरिएको इन्स्टाग्राम पोष्टमा भने उनले के भएको थियो भन्ने लेखेकी थिइन्।

त्यसमा उनले लेखे अनुसार उनी हिँडिरहेका बेला अर्को टोली अगाडि थियो र "दुःखद दुर्घटना" हुनुअघि हसनलाई केही मिटर अगाडि थिए।

मिथ्या सूचनाको दाबी

हसन

तस्बिर स्रोत, HASSAN FAMILY

उनले हसनको मृत्युका लागि कसैलाई दोष नदिने बताइन् र "मिथ्या सूचना र घृणा"को फैलावट रोक्नको लागि आफूले सार्वजनिक रूपमा अभिव्यक्ति दिने निर्णय गरेको बताइन्।

उनले ठ्याक्कै के भएको थियो भन्ने नदेखेको बताइन्।

तर उनले देखेको कुरा भनेको चाहिँ हसन आफ्नो हार्नेसका साथमा डोरीमा "उल्टो झुण्डिरहेका" थिए। उनले ‘डाउन सूट’ लगाएका थिएनन् र उसको पेट हिउँमा परेको थियो।

उनको टोलीले एउटा कुनामा हिमपहिरो खस्न थालेको बेलासम्म हसनको डोरी बाँधेर उनलाई अक्सिजन र तातो पानी दिन डेढ घण्टा प्रयास गरेको उनको दाबी छ।

आफ्नो टोली सुरक्षित रहेको निश्चित गरिसकेपछि थप मद्दत आउँदैछ भन्ने थाहा पाएर त्यो साँघुरो स्थानमा धेरै भिडभाड नहोस् भनेर आफूहरूले अगाडि बढ्ने निर्णय गरेको उनले बताइन्।

उनका अनुसार त्यस्तै उनका क्यामेराम्यान आफ्नै लागि अक्सिजन कम नहुँदासम्म मद्दत गर्न पछाडि बसेका थिए।

"जब हामी तल फर्कियौँ त्यसपछि मात्र हामीले हसन बितिसकेको देख्यौँ अनि हामी आफैँ उनको शवलाई तल लैजान सक्ने अवस्थामा थिएनौँ।"

उनले आफ्नो क्यामेराम्यानलाई हसनसँग छाडेका बेलामा ती घाइते भरियासँग कोही थिए वा थिएनन् अथवा उनीहरूले हसनको शवलाई पार गर्दै गर्दा त्यहाँ कोही थिए वा थिएनन् भन्ने चाहिँ बताइनन्।

पाकिस्तान-चीन सीमानामा रहेको ८ हजार ६ सय ११ मिटरको केटु हिमाल आरोहणका लागि सबैभन्दा चुनौतीपूर्ण र खतरनाक हिमालमध्ये एक मानिन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।