कुलमान घिसिङलाई हटाएपछि सडकदेखि संसद्‌सम्म सरकारको विरोध

कुलमान घिसिङलाई हटाएको विरोधमा काठमाण्डूमा मङ्गलवार साँझ निकालिएको मसाल जुलुस

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, कुलमान घिसिङलाई पदबाट हटाएको विरोधमा काठमाण्डूमा मङ्गलवार साँझ मसाल जुलुस निकालिएको थियो भने केही प्रदर्शनकारीहरूले प्रधानमन्त्री ओलीको पुत्लादहन गरेका थिए

नेपालमा लोडशेडिङ अन्त्य गरेको श्रेय पाएका नेपाल विद्युत् प्रधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएपछि सरकारले सामाजिक सञ्जाल, सडक र सदन सबैतिरबाट विरोध एवं आक्रोशको सामना गरिरहेको छ।

सत्ता साझेदार दल नेपाली कांग्रेसकै वरिष्ठ नेताहरूको आलोचना खेपिरहेको सरकारविरुद्ध विपक्षी दलहरूले सडक र सदन दुवैतिरबाट विरोध गर्न थालेका छन्।

घिसिङलाई हटाएको समाचारलाई सरकारले आधिकारिक रूपमा पुष्टि नगर्दै आक्रोश व्यक्त गरेका विपक्षीहरू अहिले घिसिङको पक्षमा उभिएका छन्।

त्यसले गर्दा पूर्वराजा तथा राजावादीहरूको सक्रियताका कारण राजनीतिक दबावमा परेको ठानिएको सरकार थप अर्को चेपुवामा परेको विश्लेषण कतिपयले गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले चाहिँ घिसिङलाई हटाएको विषयतर्फ सङ्केत गर्दै मानिसहरूले "सानो त्यान्द्रो" लाई समाएर "तिललाई पहाड बनाइरहेको" बताएका छन्।

यद्यपि सत्तापक्षकै नेता तथा कार्यकर्तालाई समेत कुलमान घिसिङलाई हटाइएको विषयमा सरकारको प्रतिरक्षा गर्न कठिनाइ भएको देखिएको छ।

घिसिङले आफूलाई हटाइएको विषयमा कानुनी बाटोबाट "न्याय" खोज्ने बताइसकेका छन्।

प्रतिनिधिसभा बैठक

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, फाइल तस्बिर

उनको स्थानमा नियुक्त भएका नयाँ कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले "लामो समयपछि आफूले न्याय पाएको' उल्लेख गरेका छन्।

घिसिङलाई दोस्रो पटक नियुक्त गर्ने बेला शाक्यलाई हटाइएको थियो। उक्त निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै उनी सर्वोच्च अदालत पुगेका थिए। तर उक्त मुद्दाको फैसला अझै आइसकेको छैन।

कुलमान घिसिङ हटाउन सरकारले दिएका कारण

सन् २०२३ मा राष्ट्रपति रामचन्द्र पौडेलले कुलमान घिसिङलाई सुकीर्तिमय राष्ट्रदीप विभूषण प्रदान गरेका थिए

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, सन् २०२३ मा राष्ट्रपति रामचन्द्र पौडेलले कुलमान घिसिङलाई सुकीर्तिमय राष्ट्रदीप विभूषण प्रदान गरेका थिए

सरकारले उनलाई पदबाट हटाउनुपर्ने कारण खुलाएर पत्र दिएको विवरणहरू आएका छन्।

विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक विवरणहरूमा जनाइएअनुसार उनलाई "तीनपन्ने" पत्र दिइएको छ र त्यसमा झन्डै एक दर्जन कारण उल्लिखित छन्। त्यस्ता कारणहरूमा सञ्चालक समितिले गरेका निर्णयहरू कार्यान्वयन नगरेको भन्ने पनि छ।

विद्युत् प्राधिकरणको सञ्चालक समितका अध्यक्ष ऊर्जामन्त्री हुने व्यवस्था छ। वर्तमान सरकार गठन भएदेखि नै ऊर्जामन्त्री दीपक खड्का तथा घिसिङबीच मतभिन्नता रहँदै आएको थियो।

उक्त पत्रमा उनलाई प्राधिकरणका कर्मचारीबीच गुटबन्दी गराएको, संसद् र सरकारविरुद्ध बोलेको, सरकारले सोधेको स्पष्टीकरणका विषयवस्तु सार्वजनिक गरेको, सञ्चालक समितिको स्वीकृति नलिईकन काजमा गएको जस्ता आरोप पनि लगाइएको देखिन्छ।

प्रतिनिधिसभामा बोल्दै माओवादी सांसद शक्तिबहादुर बस्नेत

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, माओवादी सांसद शक्तिबहादुर बस्नेतले सरकारले कुलमान घिसिङको 'मानमर्दन गर्न' शक्ति प्रयोग गरेको बताए

उनीमाथि आफ्नो क्षेत्राधिकारबाहिर गएर भारतसँग विद्युत् खरिद तथा बिक्री सम्झौता गरेको आरोप पनि लगाइएको विवरण आएको छ।

नेपाल-भारत विद्युत् आदानप्रदान समिति अर्थात् पीईसीअन्तर्गत प्राप्त हुने विद्युत्‌को शुल्कबारे घिसिङले गरेको पछिल्लो सम्झौतालाई ऊर्जामन्त्री अध्यक्ष रहने सञ्चालक समितिले हालसम्म स्वीकृत गरेको छैन।

त्यसैका आधारमा उनीमाथि उक्त आरोप लगाइएको बुझिएको छ। सोही विषयलाई लिएर ऊर्जामन्त्री खड्काले घिसिङलाई स्पष्टीकरण पनि सोधेका थिए।

उक्त सम्झौता गर्न जाँदा सञ्चालक समितिबाट निर्णय नगराएको आरोप पनि घिसिङमाथि लगाइएको छ भने लामो समयदेखि विवादमा रहेको डेडिकेटेड तथा ट्रङ्क लाइन विद्युत्‌को बक्यौता नउठाएको आरोप पनि उनीमाथि लगाइएको छ।

संसद् अवरुद्ध

कुलमान घिसिङलाई हटाउने निर्णयको विरोधमा बुधवार विपक्षी दलहरूले प्रतिनिधिसभाको बैठक अवरुद्ध पारेका छन्।

बैठक सुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए।

त्यसपछि विपक्षी दलका तर्फबाट कुरा राख्न माओवादी सांसद शक्तिबहादुर बस्नेतलाई सभामुख देवराज घिमिरेले समय दिएका थिए।

त्यस क्रममा बोल्दै बस्नेतले घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्री ओलीले आएर संसद्‌मा जबाफ नदिएसम्म संसद्‌ चल्न नदिने बताए।

नेपालमा बिजुली

तस्बिर स्रोत, Getty Images

उनले सरकारले राज्यका सबै अङ्ग र निकायहरू "कब्जा गरेर सर्वसत्तावाद लाद्न" घिसिङलाई हटाएको आरोप लगाए। उनले "सङ्ख्याको दम्भ" नदेखाउन पनि सरकारलाई चेतावनी दिए।

सरकारले "दुईतिहाइको दम्भ" र "बिचौलियाहरूको स्वार्थपूर्तिका लागि" सरकारले घिसिङलाई हटाएको दाबी पनि गरे।

उनले भने, "सरकारले दुईतिहाइको सामर्थ्य एक राष्ट्रसेवकको मानमर्दन गर्न र सार्वजनिक संस्थालाई तेजोबध गर्न प्रयोग गरेको छ।"

उनले बोलिसकेपछि पनि विपक्षी सांसदहरू उठेर विरोध जनाइरहे भने सभामुखले उनीहरूलाई बसेर सभाको कारबाही अघि बढाउन आग्रह गरिरहे।

तर विपक्षी दलका सांसदहरू उठेर विरोध जनाइरहेपछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए।

पछि दिउँसो बसेको दोस्रो बैठक पनि विपक्षी सांसदहरूको अवरोधका कारण सञ्चालन हुन नसकेपछि बिहीवारसम्मका लागि स्थगित भयो।

यसअघि विपक्षी दलहरूसहित नेपाली कांग्रेका केही नेताहरूले सरकारले कुलमान घिसिङलाई हटाउन गरेको निर्णयको विरोध गरिसकेका छन् भने सडकमा पनि विपक्षी दलका भातृसङ्गठनहरूले प्रदर्शन गरेका थिए।

केही प्रदर्शनकारीहरूले राजधानी काठमाण्डूमा मङ्गलवार साँझ मसाल जुलुस निकाल्नुका साथै प्रधानमन्त्री ओलीको पुत्ला पनि जलाएका थिए।

राष्ट्रिय सभामा पनि अवरोध

राष्ट्रिय सभाको बैठकमा उभिएर विरोध जनाउँदै माओवादी सांसदहरू

तस्बिर स्रोत, RSS

कुलमान घिसिङलाई हटाउने निर्णयको संसद्‌को माथिल्लो सदन राष्ट्रिय सभामा पनि विरोध भएको छ।

बुधवार राष्ट्रिय सभाको बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए।

त्यसपछि राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले माओवादीका गोपी अछामीलाई बोल्न समय दिएका थिए।

उनले "लोडशेडिङ हटाएकोमा पुरस्कृत गर्नुपर्नेमा दण्डित गरेको" भन्दै प्रधानमन्त्रीले सदनमा आएर स्पष्टीकरण दिनुपर्ने माग राखे।

त्यसपछि अध्यक्ष दाहालले विपक्षी दलका सांसदहरूलाई बस्न आग्रह गरे पनि उनीहरूले उठेर विरोध जनाइरहेपछि बैठक स्थगित गरेका थिए।

सत्तापक्षका सांसद के भन्छन्

कुलमान घिसिङलाई हटाएको विषयलाई लिएर संसद्‌मा विपक्षीहरूले अवरोध गरेपछि अब सत्तापक्षले के गर्छ भनेर बीबीसीले नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरूलाई सोधेको थियो।

उनीहरूका अनुसार सदन चलाउनेबारे सभामुखसँग छलफल जारी रहेको बताएका छन्।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भने, "हामी अहिले सभामुखज्यूकहाँ छलफल गर्दैँ छौँ।"

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले आफू संसद्‌ अवरुद्ध हुँदा बालुवाटारमा अर्को बैठकमा रहेको भन्दै "छलफलबाटै हल निस्किने र संसद्‌ चल्ने" बताए।

उनले भने, "संसद्‌मा यस्तो अलिअलि विरोध भइहाल्छ। पहिले हामीले पनि गरेकै हौँ, विपक्षको विरोध स्वाभाविकै हो नि! हामी छलफलबाटै समाधान निकाल्छौँ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।