अन्तरिक्षमा अलपत्र दुई अन्तरिक्षयात्रीलाई स्पेसएक्सले 'फेब्रुअरीमा फिर्ता ल्याउने'

सुनीता विलिअम्स र ब्यारी विल्मोर

तस्बिर स्रोत, AFP

अन्तरिक्षमा विगत दुई महिनादेखि 'अलपत्र' परेका नासाका दुई अन्तरिक्ष वैज्ञानिकहरू आगामी वर्ष फेब्रुअरी महिनामा स्पेसएक्स कम्पनीको सहयोगमा पृथ्वी फर्किने भएका छन्।

अमेरेिकी अन्तरिक्ष निकाय नासाका अनुसार सुनीता विलिअम्स र ब्यारी विल्मोरलाई अन्तरिक्षमा लिएर गएको 'बोइङ स्टारलाइनर' अन्तरिक्षयान भने उनीहरूबिनै फर्किने छ।

उक्त यान विलिअम्स र विल्मोरलाई लिएर गत जुन ५ मा आठदिने अभियानका लागि अन्तरिक्षमा गएको थियो।

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र 'आईएसएस' तिर जाने क्रममा उक्त यानमा प्राविधिक समस्या उत्पन्न भएपछि दुई अन्तरिक्षयात्रीहरूले अझै आठ महिनाजति पृथ्वीको परिक्रमा गरेर बिताउनुपर्ने भएको छ।

'प्रपल्शन' प्रणालीमा इन्धन प्रवेश गराउने 'हीलिअम' चुहिने लगायतका समस्या उक्त स्टारलाइनर नामक यानमा देखा परेको थियो। उक्त यानमा जडित केही 'थ्रस्टर'हरूले पनि राम्ररी काम गरेका थिएनन्।

नासाले आफ्ना अन्तरिक्षयात्रीहरूलाई अन्तरिक्षमा पठाउन बोइङ र स्पेसएक्स दुवै कम्पनीसँग सहकार्य गरेको छ। बोइङले ४.२ अर्ब डलरको र इलोन मस्कले स्थापना गरकेो स्पेसएक्सले नासासँग २.६ अर्बको सम्झौता गरेका छन्।

बोइङ स्टारलाइनर यान विलिअम्स र विल्मोरलाई लिएर गत जुन ५ मा आठदिने अभियानका लागि अन्तरिक्षतिर गएको थियो

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, बोइङ स्टारलाइनर यान दुई अन्तरिक्षयात्रीलाई लिएर गत जुन ५ मा अन्तरिक्षतिर गएको थियो
बोइङ स्टारलाइनर

स्पेसएक्सले अहिलेसम्म नासाका लागि मानवसहितका नौवटा र केही व्यावसायिक उडान गरेको छ। तर मानवलाई अन्तरिक्षमा लैजाने प्रयासमा बोइङको यो पहिलो संलग्नता थियो।

बोइङ र नासाका इन्जिनियरहरूले स्टारलाइनर अन्तरिक्षयानको प्राविधिक समस्याहरू बुझ्न धेरै महिना खर्चेका छन्।

उनीहरू पृथ्वी र अन्तरिक्ष दुवै स्थानमा परीक्षण गर्दै छन् र डेटा पनि सङ्कलन गर्दै छन्।

उनीहरू अहिले देखा परेको समस्याको मूल कारण पत्ता लगाउने र दुई अन्तरिक्षयात्रीलाई सकुशल पृथ्वीमा फिर्ता ल्याउने प्रयास गरेका थिए।

नासा के भन्छ

नासा प्रमुख बिल नेल्सनले शनिवार आयोजित पत्रकार सम्मेलनमा स्टारलाइनरमा कस्तो सुधार गर्नुपर्छ भन्ने बुझ्न बोइङले नासासँग मिलेर काम गरिरहेको बताए।

"अन्तरिक्षको उडान जोखिमपूर्ण हुन्छ, एकदमै सुरक्षित अवस्थामा पनि र नियमित उडान भए पनि। अनि परीक्षण उडान स्वभावतः न त सुरक्षित हुन्छ न त नियमित नै," उनले भने।

"हाम्रो मूल मान्यता सुरक्षा हो अनि यसले नै हामीलाई मार्गनिर्देशन गर्छ," उनले भने।

विलिअम्स र विल्मोरलाई 'स्पेसएक्स क्रू ड्र्यागन' अन्तरिक्षयानमार्फत पृथ्वीमा फर्काउन उनीहरूलाई फेब्रुअरी २०२५ सम्म आईएसएसमै राख्ने निर्णय गरिएको छ।

विल्मोर र विलिअम्स आठ दिनका लागि मात्रै अन्तरिक्षमा गएका थिए

तस्बिर स्रोत, NASA

तस्बिरको क्याप्शन, विल्मोर र विलिअम्स आठ दिनका लागि मात्रै अन्तरिक्षमा गएका थिए

उक्त अन्तरिक्षयान आगामी सेप्टेम्बर महिनाको अन्त्यतिर प्रक्षेपण गर्ने योजना छ।

उक्त यानमा चढेर चार अन्तरिक्षयात्री जाने तय गरिएको थियो।

तर विलिअम्स र विल्मोरलाई फिर्ता ल्याउन पर्याप्त ठाउँ पुगोस् भनेर अब दुई जनालाई मात्रै पठाइने छ।

बोइङ स्टारलाइनर
स्टारलाइन अन्तरिक्षयान

तस्बिर स्रोत, NASA

तस्बिरको क्याप्शन, आईएसएससँग जोडिने क्रममा स्टारलाइनरका पाँचवटा थ्रस्टरहरू खुलेका थिएनन्

सुनीता विलिअम्स र ब्यारी विल्मोरले अब के गर्छन्

नासाका अनुसार दुवै अन्तरिक्ष वैज्ञानिकले यसअघि पनि लामो समय अन्तरिक्षमा व्यतीत गरेका थिए र उनीहरू अन्तरिक्ष केन्द्रमा बढी बस्नुपर्ने सम्भावनासहित परीक्षण उडानसँग सम्बन्धित अन्य जोखिमबारे अवगत थिए।

विल्मोर ६१ वर्षका छन् भने विलिअम्स ५८ वर्षकी छिन्। नासाका अनुसार दुवै जना पृथ्वीमा फर्किने योजनामा सहमत भएका छन्।

अबका महिनाहरूमा उनीहरू अन्तरिक्षमा विभिन्न वैज्ञानिक कार्य र अन्तरिक्षयानको मर्मतमा संलग्न हुने छन्। उनीहरू 'अन्तरिक्षमा हिँड्ने' पनि छन्।

प्रक्षेपण गर्नुअघि स्टारलाइनर अन्तरिक्षयान

तस्बिर स्रोत, Boeing

तस्बिरको क्याप्शन, प्रक्षेपण गर्नुअघि पनि स्टारलाइनर अन्तरिक्षयानमा हीलिअम चुहिएको पत्ता लगाएको थियो

यसअघि विकास र निर्माणको चरणमा उत्पन्न प्राविधिक समस्याका कारण बोइङको स्टारलाइनर प्रक्षेपण गर्ने योजनामा केही वर्षको विलम्ब भएको थियो।

त्यसैगरी योभन्दा अगाडि गरिएको मानवरहित उडानमा पनि समस्याहरू देखा परेका थिए।

एउटा विज्ञप्ति प्रकाशित गर्दै बोइङले "अन्तरिक्षयात्री र यानको सुरक्षा"मा आफ्नो ध्यान केन्द्रित गरिएको जनाएको छ।

"हामी नासाले निर्धारण गरेबमोजिम नै अभियान सञ्चालन गर्दै छौँ अनि हामी यात्रुरहित यानको सुरक्षित र सफल फिर्तीको तयारी गर्दै छौँ," बोइङले भनेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।