कुवेतमा अवैध मदिरा सेवन गर्ने नेपालीहरू 'कालोसूचीमा, देशनिकाला गर्ने तयारी'

अवैध मदिरा भण्डार गरिएको ठाउँमा छापा मार्दै एक कुवेती प्रहरी

तस्बिर स्रोत, X/Moi_kuw

    • Author, फणीन्द्र दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

कुवेतमा विषाक्त मदिरा सेवन गर्दा बिरामी परेका कैयौँ नेपालीहरूलाई अस्पतालबाट डिस्चार्ज भएपछि अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको अधिकारीहरूले बताएका छन्।

उक्त खाडी मुलुकमा मदिरा सेवन र बिक्रीवितरणमा प्रतिबन्ध छ। तर गत साता मेथनोलयुक्त अवैध मदिरा सेवन गर्दा १२ नेपालीसहित २३ जनाको मृत्यु भएको थियो। कुवेतको आन्तरिक मन्त्रालयले विषाक्त मदिरा उत्पादनमा संलग्न रहेको आरोपमा नेपाली र अन्य देशका नागरिकहरू पक्राउ गरिएको बताएको छ।

कुवेतका स्थानीय सञ्चारमाध्यमका अनुसार अस्पतालबाट बिदा पाएपछि पक्राउ परेका विदेशीहरूलाई पुनः कुवेत फर्किन नपाउने गरी देशनिकाला गर्ने तयारी हुँदै छ। सुरक्षा निकायमा भएका स्रोतलाई उद्धृत गर्दै द टाइम्स अफ कुवेतले अवैध मदिरा उत्पादन तथा बिक्रीवितरणमा संलग्न भएकाहरूविरुद्ध भने हत्याको अभियोगमा मुद्दा चल्न सक्ने विवरण प्रकाशित गरेको छ।

बीबीसीसँग कुरा गर्दै कुवेतस्थित नेपाली दूतावासका श्रमसहचारीले स्थानीय प्रहरीले सन्दिग्ध व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान गर्न थालेको विवरण दूतावासले पनि पाएको बताए।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले अवैध रूपमा उत्पादन गरिने मदिरामा मेथनोल पाइने गरेको भन्दै त्यस्तो मदिरा सेवन गर्नेहरूमा स्वास्थ्यसम्बन्धी गम्भीर समस्या निम्तिन सक्ने चेतावनी दिँदै आएको छ।

कुवेतको घटनापछि नेपाली अधिकारीहरू के भन्छन्

कुवेतस्थित नेपाली राजदूतावासको भवन। भवनको अग्रभागमा नेपालको चन्द्रसूर्य अङ्कित राष्ट्रिय झण्डा

तस्बिर स्रोत, Kuwait Nepali Embassy

कुवेतस्थित नेपाली श्रमसहचारी गिरिप्रसाद आचार्यले विषाक्त मदिरा सेवनका घटना सार्वजनिक भएपछि सोमवारसम्म १२ नेपाली नागरिकको ज्यान गएको पुष्टि भएको बताए।

उनका अनुसार बिरामी पर्नेमध्ये ४० देखि ५० जना नेपालीहरू उपचारका लागि अस्पतालमा भर्ना भएका थिए। "त्यो सङ्ख्या आजको दिनमा घटेको छ। अझै पनि २६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको अवस्था छ। एघार जनाको आईसीयू वा मेडिकल भेन्टिलेटरमा उपचार भइरहेको छ। अन्य व्यक्तिहरूको विभिन्न वार्डमा उपचार भइरहेको छ।"

गत साता कुवेतको स्वास्थ्य मन्त्रालयले विषाक्त मदिरा सेवनबाट २३ जनाको मृत्यु भएको भन्दै १६० जनाभन्दा बढी अस्पताल भर्ना भएको जनाएको थियो।

विषाक्त हुन सक्ने भन्दै उक्त मन्त्रालयले अवैध मदिरा सेवन नगर्न विदेशी श्रमिकहरूलाई चेतावनी दिएको थियो।

कति नेपालीहरू पक्राउ परेका छन्

'अप्टिक नर्भ'को साङ्केतिक तस्बिर

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, मेथनोलका कारण हेर्न सक्ने क्षमता गुम्न सक्छ

कुवेती अधिकारीहरूका अनुसार अवैध मदिरा उत्पादन गरेको आरोपमा नेपाली, भारतीय र बाङ्ग्लादेशी नागरिकहरूलाई पक्राउ परेका छन्।

कुवेतको आन्तरिक मामिला मन्त्रालयले घरेलु मदिराको उत्पादन र वितरणमा संलग्न ६७ जना पक्राउ परेको र केही घरेलु उद्योगहरूमा छापा मारेर बन्द गराएको उल्लेख गरेको छ।

सामाजिक सञ्जाल 'एक्स'मा राखिएको विवरणमा कुवेतको आन्तरिक मामिला मन्त्रालयले मेथनोलसहित एक नेपालीलाई पक्राउ गरेको पनि उल्लेख छ।

श्रमसहचारी आचार्य भन्छन्, "यो विषयमा हामीले पनि समाचारबाट नै थाहा पाएका छौँ। प्रहरीबाट केही पुष्टि भएको छैन। हामी उहाँहरूको बारेमा थप बुझ्दै छौँ।"

मदिरा सेवन गर्ने र बिक्रीवितरण गर्नेलाई कस्तो कारबाही होला

अवैध मदिरा शरीरमा लुकाएका एक व्यक्तिलाई पक्राउ गर्दै कुवेती प्रहरी

तस्बिर स्रोत, X/Moi_kuw

कुवेतमा मदिराको सेवन र बिक्रीवितरणमा प्रतिबन्ध छ। पछिल्लो घटना सार्वजनिक भएपछि त्यहाँको सरकारले विषाक्त मेथनोलयुक्त मदिरा उत्पादन र प्रवर्धन गर्ने आपराधिक गिरोहलाई पक्राउ गरिएको जनाएको छ।

उक्त मन्त्रालयले मृत्युसम्म निम्त्याउने विषाक्त मदिरा ज्यादै घातक रहेको भन्दै देशको सुरक्षा र मानिसहरूको जीवन एवं जनस्वास्थ्यसँग खेलबाड गर्न खोज्ने जोकोहीलाई कारबाही गर्ने उल्लेख गरेको छ।

कुवेतस्थित नेपाली दूतावासका श्रमसहचारी आचार्यले अस्पतालमा उपचार गराएर ठिक भएका नेपालीहरूलाई त्यहाँको प्रहरीले अनुसन्धानको क्रममा नियन्त्रणमा लिएको बताए।

उनी भन्छन्, "कुवेतमा पूर्ण रूपमा मदिरा निषेधित छ। सेवन पनि निषेध छ, बेचबिखन परको कुरा भयो। अहिले उपचारबाट डिस्चार्ज भएका बिरामीहरू पनि प्रहरीको अनुसन्धानमा रहेको अवस्था छ। उपचारपछि उहाँहरूलाई प्रहरीले लैजाने गरेको छ।"

कुवेतका स्थानीय सञ्चारमाध्यमका अनुसार विषाक्त मदिरा सेवन गरेर बिरामी परेका सबै जनालाई कुवेतबाट निष्काशन गर्ने तयारी भएको सुरक्षास्रोतहरूले बताएका छन्। उनीहरूलाई कुवेत फर्किन नपाउने गरी कालोसूचीमा पनि राखिएको विवरण प्रकाशित भएको छ।

कुवेतस्थित गैरआवासीय नेपाली सङ्घका अध्यक्ष दिलकुमार पाख्रिनका अनुसार अवैध मदिरा उत्पादन तथा बिक्रीवितरणमा संलग्न भएको भनिएका विदेशीमध्ये नेपाली नागरिकहरू पनि भएको बुझिएको छ।

"प्रहरीले उत्पादन गर्नेहरूलाई पनि समातेको छ। तीमध्ये दुई जना नेपाली र अरू भारतीय र बाङ्ग्लादेशी हुन्। उनीहरूलाई हत्याको अभियोग लगाउने कुरा चलेको छ। घोषणा भइसकेको छैन, तर त्यही हुन सक्छ," उनले भने।

मेथनोल के हो र यो कति घातक हुन्छ

प्रयोगशालामा एथनोल र मेथनोल राखिएका बोतल

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, एथनोलभन्दा मेथनोल अत्यन्तै हानिकारक हुन्छ

शुद्ध मेथनोल मदिराको जस्तो गन्ध आउने रङ्गविहीन र प्रज्वलनशील तरल पदार्थ हो।

मेथनोल मदिरा बनाउने प्रक्रियामा उत्पादन गरिन्छ र आसवन प्रक्रियामार्फत् यसलाई सघनीकरण गरिन्छ।

व्यावसायिक मदिरा उत्पादकहरूले यसलाई मानिसले उपभोग गर्न सुरक्षित हुने स्तरमा ल्याउँछन्।

तर घरेलु मदिराको अवैध उत्पादन गर्नेहरूले भने सस्तो घरेलु मदिरालाई थप कडा बनाउन रङ्ग र भार्निशमा पाइने औद्योगिक मेथनोल मिसाउँछन्।

यो विषालु मिश्रणको थोरै मात्राको प्रयोगले पनि अन्धोपन, कलेजोमा क्षति हुने र मृत्यु हुने जोखिम रहने विज्ञहरू बताउँछन्।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार मेथनोलको विषाक्त असर देखिन १२ देखि २४ घण्टासम्म लाग्न सक्छ। यसका प्रारम्भिक लक्षणहरूमा देख्न गाह्रो हुने, पेट र मांसपेशी दुख्ने, शरीर गल्ने र झुम्म हुन्ने र बेहोसीदेखि अचेत हुनेसम्म पर्छन्।

नेपालका विधिविज्ञान विशेषज्ञ डा हरिहर वस्ती भन्छन्, "मन्छेले खाने रक्सी चाहिँ एथनोल एल्कोहल हो। तर बनाउने क्रममा पूरा नबनेको अवस्थामा त्यो 'मेथाइल'को अवस्थामा हुन्छ। एकदमै कडा रक्सी बनोस् भन्नका लागि कहिलेकाहीँ गर्छन्। यो एकदमै विषाक्त छ।"

"यो एक पेग खायो भने मान्छेको ज्यान नै जान्छ। यसले शरीरको रगतलाई अम्लीय बनाइदिन्छ, मेटबोलिजममा असर गर्छ। सास फेर्न कठिन हुन्छ। शरीरका धेरै अङ्गहरू काम गर्न नसक्ने अवस्थामा पुग्छन्।"

विषाक्त मदिराको जोखिमबाट जोगिन के गर्ने

शरीरभित्र दुइटा मिर्गौला देखाइएको चित्र

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, मेथनोलको सेवनले मिर्गौलामा अम्ल भरिन सक्छ

डा वस्तीका अनुसार संसारका कैयौँ देशहरूमा घरेलु मदिरामा मेथनोल पाइएको छ। त्यस्तो मदिरा सेवन गर्दा मानिसहरूको ज्यान गएको छ।

"नेपालमा, भारतमा यस्ता विषाक्त मदिरा प्रयोग गरिएका कुराहरू बेलाबेला आइरहन्छन्। ठूला भोजभतेरहरूमा समेत विषाक्त मदिरा प्रयोग भएका कारण धेरैको ज्यान गएको छ।"

विगत केही वर्षमा फिलिपिन्सदेखि पेरूसम्म विश्वका विभिन्न स्थानमा मदिरामा विष पर्ने घटनाहरू भएका विवरणहरू सार्वजनिक भएका थिए। केही समयअघि भारतमा मेथनोल मिसिएको विषालु मदिरा पिउँदा कम्तीमा ५७ जनाको मृत्यु भएको थियो।

मेथनोल पोइजनिङ इनिशटिभका अनुसार यो वर्षको फेब्रुअरीमा विषाक्त मदिरा सेवन गरेका कारण टर्कीमा ६५ जनाको मृत्यु भएको थियो।

डा वस्ती वैदेशिक रोजगारीमा जाने समूहहरू सस्तोमा मूल्यमा पाइने भएकाले घरेलु मदिरातर्फ आकर्षित हुने गरेका ठान्छन्।

उनका अनुसार कडा मात लगाउने खालको मदिरा सेवन गर्न खोज्दा पनि उनीहरू विषाक्त मदिराको जोखिममा परेका हुन्।

"उहाँहरूले आफ्नो स्वास्थ्यलाई ख्याल गर्नुपर्छ। पहिलो कुरा, यो काम नै बन्द गर्नुपर्छ। चाडबाड, रमाइलो गर्न कहिलेकाहीँ बसेर खाने हो भने पनि सुरक्षित तरिकाले खानुपर्‍यो। यस्तो आफूले नै बनाएर खाने गर्नु भएन।"

अशोक दाहालको थप रिपोर्टिङ

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।