कलाकार कृष्ण कँडेलको अनुभव: इन्द्रेणीमा कसरी पग्लिन्छन् ‘मन’, कसरी फेरिन्छन् 'जीवन'

कृष्ण कँडेल

तस्बिर स्रोत, INDRENI

    • Author, प्रकाश पन्त
    • Role, सुर्खेत

काभ्रेका रामचन्द्र तिमिल्सेना सात वर्षअघि साउदी अरबमा थिए। गाडी चलाउँथे। उनकै गाडीको ठक्करले एक पाकिस्तानी कामदारको ज्यान गयो।

सवारी ज्यान मुद्दा लाग्यो, उनी जेल परे। मृतकका परिवार माफी दिन तयार भए। तर ९० लाख रुपैयाँ ‘ब्लड-मनी’ मागे।

त्यत्रो रकम दिने हैसियत थिएन। उनले जेलबाटै सामाजिक सञ्जालमार्फत् सहयोगको याचना गरे।

टेलिभिजन कार्यक्रम इन्द्रेणीका प्रस्तोता तथा कलाकार कृष्ण कँडेलले थाहा पाए। सहयोग अभियान चलाएर १६ लाख रुपैयाँ जुटाइदिए।

सबैतिरबाट जुटेको सहयोग रकम ४५ लाख तिमिल्सेनाको हात पर्‍यो। उनले मृतकका परिवारलाई दिए।

“त्यसैले २७ महिनामा जेलमुक्त भएर घर फर्किन पाएँ,” तिमिल्सेनाले भने, “नत्र त म जेलमै हुन्थेँ।”

अरूको सहयोगपछि ‘उभिएका जीवनहरू’

धादिङ गल्छीका केदारप्रसाद भट्ट पूर्ण अपाङ्गता, श्रीमती दृष्टिविहीन, बहिनी अपाङ्गता भएकी र आमा दीर्घरोगी थिए।

२०७२ सालको भूकम्पले घर भत्काइदियो। बारीको पाटोमा पाल हालेर बसे। खान नै समस्या भयो। केदारले कृष्ण कँडेलसामु पीडा पोखे।

‘परिवारलाई काठमाण्डू ल्याएर खाने-बस्ने र उपचारको प्रबन्ध मिलाइदिएर २० लाख रुपैयाँ समेत जुटाइदिएको’ श्रेय कँडेललाई दिँदै केदारले भने, “नत्र त भोक भोकै मर्नु पर्थ्यो होला।”

इन्द्रेणी कार्यक्रम

तस्बिर स्रोत, INDRENI

छिमेकी जिल्ला गोरखाकी ३० वर्षीया लक्ष्मी परियार २७ वर्षसम्म ओछ्यानमै थिइन्। अहिले उनको जीवन फेरिएको छ। तर त्यसको निम्ति १० महिना अस्पताल भर्ना भएरै थेरापी गर्नु पर्‍यो।

“अरूको सहाराबिना हिँडडुल गर्न, खान र शौचालय जाने सक्ने भएकी छु,” लक्ष्मी भावुक हुन्छिन्, “कृष्ण दाइले मलाई नयाँ जीवन दिनुभयो।”

सहयोगमा 'करोडौँ रकम'

कृष्ण कँडेल अरूको निम्ति सहयोग गर्ने अभियान १२ वर्षअघि सुरु गरेको बताउँछन्। उनका अनुसार बोनम्यारोको समस्याबाट पीडित नारायण गन्धर्वको निम्ति उनले पहिलो पटक सहयोगको हात फैलाएका हुन्।

सहयोगबाट उपचारपछि नारायण निको भए। कृष्ण हौसिए। त्यसपछि उनले लोकदोहोरी कार्यक्रम इन्द्रेणीमार्फत् अभियानै चलाउन थाले।

त्यसबाट सहयोग पाउनेमा धेरैजसो विदेशमा अलपत्र, बिरामी, असहाय-अशक्त, बाढी पहिरो, आगलागी पीडितहरू छन्।

“अहिलेसम्म करोडौँ रकम सहयोग गरेको छु,” उनको दाबी छ।

उनका अनुसार इन्द्रेणी कार्यक्रम हेरेर धेरैले सम्बन्धित व्यक्तिलाई नै सहयोग रकम दिने गरेका छन्।

विशेष गरी विदेशमा श्रम गरिरहेकाले अरूको दुखलाई पनि आफ्नै दुख सम्झेर सहयोग गर्ने गरेको कृष्ण कँडेलको अनुभव छ।

उदार मनका अनेक उदाहरण

इन्द्रेणीको स्टुडियोमा आउनेहरूको मन पग्लिएको तमाम क्षणका साक्षी कृष्ण भन्छन्, “कति जना त आफूसँग भएको सबै पैसा बिरामीलाई दिएर अरूसँग सापटी लिएर घर फर्किएका पनि छन्।”

उनका अनुसार एक जनाले इन्द्रेणीमार्फत् ४३ पल्ट गरेर झन्डै १५ लाख रुपैयाँ सहयोग गरेका छन्।

सहयोगकर्ताले नामै तोकेरै रकम पठाउने भएकोले एक रुपैयाँ पनि तलमाथि नगरी इन्द्रेणीबाट प्रत्यक्ष प्रसारण गरेर उनीहरूलाई हस्तान्तरण गर्ने गरेको उनले बताए।

सहयोग आदान प्रदान

तस्बिर स्रोत, INDRENI

उनका अनुसार इन्द्रेणीमा सातै प्रदेशका लोक भाका पस्किने गरिन्छ। ओझेलमा परेका स्रष्टा र नयाँ नयाँ प्रतिभालाई कार्यक्रममा अवसर दिइन्छ।

कालिकोटमा आगलागी हुँदा होस् वा बारामा बाढी आउँदा, सिन्धुपाल्चोकमा पहिरो जाँदा होस् वा कोभिड, भूकम्प र बाढी-पहिरोजस्ता विपद्का बेला आफ्नो टीम नै सहयोगमा खटिएको कृष्ण बताउँछन्।

कोभिड महामारीका बेला लकडाउन थियो। काठमाण्डू गौशालाका गाईलाई खानाको अभावको खबर कृष्णको कानमा पर्‍यो।

“गाई जोगाउन इन्द्रेणीबाट सहयोग आव्हान गर्दा ७० लाख रुपैयाँ सङ्कलन भयो,” उनले सुनाए।

उनको पहिचान: सैनिक र सङ्गीतकर्मी

आर्थिक कारोबार गर्दा आशङ्कायुक्त टिप्पणी पनि हुने गरेका छन्। कसले कति रकम दियो र कसले कति पायो भन्ने कुरा टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्ने गरेको उनी बताउँछन्।

“इन्द्रेणी भनेको ऐना जस्तो हो, छर्लङ्ग देखिन्छ,” शङ्का लागे इन्द्रेणीको कार्यालय गएर खाता समेत हेर्न सकिने बताउँदै कृष्ण प्रश्न गर्छन्, “गलत गरेको भए मप्रति अहिलेसम्म विश्वास रहन्थ्यो होला र?”

इन्द्रेणी कार्यक्रम

तस्बिर स्रोत, INDRENI

तीन दशकअघि रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण गरेका कलाकार मात्र होइनन्, कृष्ण। उनी १६ वर्ष सेवा गरेका पूर्व सैनिक पनि हुन्।

उनका अनुसार इन्द्रेणी कार्यक्रम चलाउन थालेको १५ वर्ष भयो। अनवरत चलिरहेको छ।

“आम दर्शकको साथ र सहयोग पनि निरन्तर छ,” कृष्ण कँडेल सन्तुष्ट सुनिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।