'डीपसीकसँग सावधान रहनुहोस्', यो प्रयोगका लागि कति सुरक्षित छ?

चिनियाँ झण्डाको पृष्ठभूमिमा डीपसीक एपको फोटो

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, चीनमा विकसित डीपसीकले दुनियाँलाई चकित पारेको छ
    • Author, टम गर्कन र लुई बरुको
    • Role, बीबीसी

अस्ट्रेलियाका विज्ञान मन्त्री इड ह्यूजिक प्रविधि उद्योग र बजारमा हलचल मच्चाएको चिनियाँ बुद्धिमत्तामा आधारित च्याटबट 'डीपसीक'को गोपनीयतासम्बन्धी व्यवस्थाबारे चासो व्यक्त गर्ने पहिलो पश्चिमा सरकारका सदस्य बनेका छन्।

ह्वावेईदेखि टिकटकसम्मका चिनियाँ प्रविधि कम्पनीहरूमाथि बारम्बार निगरानीको उद्देश्यका लागि मानिसहरूको डेटा सङ्कलन गर्ने गरेको भन्ने आरोप लाग्ने गरेको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले डीपसीकलाई अमेरिकाका लागि "जागा हुने घण्टी" भनेका छन् तर राष्ट्रिय सुरक्षामा भने यसले खतरा दिने नदेखिएको उनले बताएका छन्। बरु यसले लागत घटाए त्यो अझै राम्रो हुन सक्ने बताएका छन्।

तर ह्यूजिकले मङ्गलवार एबीसी न्यूजसँग बोल्दै "डेटा र गोपनीयताको व्यवस्थापन" लाई लिएर थुप्रै अनुत्तरित प्रश्नहरू रहेको बताएका छन्।

"यसबारे धेरै चनाखो हुनुपर्ने छ, यस्ता विषयहरूलाई राम्ररी तौलिनुपर्छ," उनले थपे।

यसबारे टिप्पणीका लागि बीबीसीले गरेको अनुरोधमा डीपसीकले कुनै प्रतिक्रिया जनाएको छैन। तर अमेरिका र यूकेका प्रयोगकर्ताहरूले अहिलेसम्म त्यस्तो कुनै सतर्कता अपनाएको देखिएको छैन।

यी दुवै देशमा डीपसीक एपस्टोरबाट धेरै डाउनलोड गरेको देखिएको छ। बजार विश्लेषक सेन्सर टावरले अहिलेसम्म ३० लाख डाउनलोड भइसकेको जनाएको छ।

यी मध्ये ८० प्रतिशत त अघिल्लो सातामा मात्रै भएका हुन् र यसको अर्थ प्रतिस्पर्धी एप 'पर्प्लेक्सिटी'को तुलनामा यो एप तीन गुणा द्रुत दरमा डाउनलोड गरिएको हो।

डीपसीकले कस्ता डेटा सङ्कलन गर्छ र के हुन्छ?

डीपसीक

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, एप स्टोरमा डीपसीक एक नम्बरमा ट्रेन्डिङमा देखिएको थियो

डीपसीकको आफ्नै गोपनीयतासम्बन्धी नीतिका अनुसार उसले ठूलो मात्राका व्यक्तिगत सूचनाहरू प्रयोगकर्ताहरूबाट सङ्कलन गर्छ र चीनमा "सुरक्षित सर्भरमा" जम्मा गर्छ।

त्यसमा यी कुराहरू पर्छन् :

  • खाता खोल्दा हालिएका इमेल ठेगाना, फोन नम्बर र जन्ममिति
  • प्रयोगकर्ताले राखेका टेक्स्ट, अडिओ र च्याट गर्दाका विगतका विवरण
  • कथित "प्राविधिक जानकारी"मा फोनको मोडल र अपरेटिङ प्रणालीदेखि आइपी अड्रेस र "कीस्ट्रोक प्याटर्न" समेत पर्छन्।

उसले यी सूचनाहरू आफ्नो "सुरक्षा र स्थायित्व" प्रवर्द्धन गरेर डीपसीकलाई सुधार गर्न प्रयोग हुने जनाएको छ।

उसले त्यसपछि यी सूचनाहरू सेवाप्रदायक, विज्ञापन साझेदार तथा व्यापारिक समूहलाई दिन्छ जसले 'जहिलेसम्म आवश्यक पर्‍यो त्यतिबेलासम्म'का लागि ती सूचनाहरू राख्ने छन्।

"डीपसीकको प्राविधिक सम्भावनालाई लिएर त्यसप्रति साँच्चै चासो रहेको छ, खास गरी यसको गोपनीयता नीतिका सर्तहरूवरपर," डिजिटल गोपनीयताको वकालत गर्दै आएकी लरेन हेन्ड्री पार्सन्सले भनिन्।

उनले विशेष गरी नीतिमा उल्लिखित डेटा "सेवाबाहिर तपाईँ र तपाईँको क्रियाकलापहरूलाई मिलाउन मद्दत" गर्नका लागि प्रयोग गर्न सकिन्छ भनिएको अंशमा जोड दिइन्। उनका अनुसार त्यसले "आफ्नो गोपनीयतालाई लिएर चिन्तित मानिसहरूका लागि तत्कालै जनाउको घण्टी" दिने छ।

तर एपले धेरै डेटा सङ्ग्रह गर्छ। विशेषज्ञहरूले गोपनीयताका यी नीतिहरू च्याटजीपीटी र जेमिनाईजस्ता अन्य सेवाहरू वा सामाजिक सञ्जालहरूमा प्रयोगकर्ताले पहिल्यै सहमति जनाएका नीतिहरूसँग निकै मिल्दोजुल्दो हुनसक्ने औँल्याएका छन्।

डीपसीक र च्याटजीपीटी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, डीपसीकले थोरै लगानीमा नै च्याटजीपीटीले दिएजत्तिको सुविधा दिने दाबी गरिएको छ

त्यसो भए यो प्रयोग गर्न सुरक्षित छ?

डीपसीकजस्ता वेब वा एप इन्टरफेस भएका कुनै पनि खुला उपलब्ध एआई मोडलका लागि प्रश्नहरू वा 'प्रम्प्ट'हरू दिइन्छ र त्यसपछि निर्माताहरूका लागि त्यो मोडल निर्माताहरूका लागि उपलब्ध हुन्छ। जबाफ पनि त्यसै गरी उपलब्ध हुन्छ," अक्स्फर्ड इन्फर्मेशन ल्याब्सकी प्रमुख कार्यकारी इमिली टेलरले भनिन्।

"त्यसैले गोप्य वा राष्ट्रिय सुरक्षाका क्षेत्रमा काम गर्ने जोकसैले यसका जोखिमहरूबारे सचेत हुनुपर्छ," उनले बीबीसीलाई भनिन्।

यूनिभर्सिटी अफ स्याल्फर्डका डा रिचर्ड ह्वीटलले एपमा "डेटा र गोपनीयताबारे आफूमा धेरै चिन्ता" रहेको तर अमेरिकामा रहेका एआई मोडलहरूमा पनि "चासोका थुप्रै विषय" रहेको बताए।

"अत्यन्तै चर्चित नयाँ एपहरू बाहिर आउँदा उक्त कुराबाट आफू पछि पर्ने त्रासमाझ उपभोक्ताहरू सचेत हुनुपर्छ," उनले भने।

यूकेको डेटा नियामक इन्फर्मेशन कमिश्नरको कार्यालयले आफ्ना जानकारीलाई एआई मोडललाई 'ट्रेन' गर्न प्रयोग गरिएको सम्बन्धमा आफ्ना अधिकारहरूबारे सचेत रहन आम नागरिकलाई आग्रह गरेको छ।

अस्ट्रेलियाको सरकारले व्यक्त गरेको चिन्ता जस्तै उसलाई पनि केही चासो छ कि भन्नेबारे बीबीसी न्यूजले सोधेको प्रश्नमा एउटा विज्ञप्तिमा उसले भनेको छ, "जेनरटिभ एआई बनाउनेहरू र परिचालन गर्नेहरूले मानिसहरूलाई आफ्नो व्यक्तिगत डेटा प्रयोगबारे अर्थपूर्ण, सङ्क्षिप्त र सजिलै पहुँच हुने जानकारी दिने र उनीहरूलाई आफ्नो अधिकारको अभ्यासका लागि प्रभावकारी प्रक्रियाहरूको स्पष्टता सुनिश्चित गर्न आवश्यक छ।"

"हामी प्रभावकारी पारदर्शिता उपायहरू प्रवर्धनका लागि सरोकारवालासँग छलफल जारी राख्ने छौँ र जब अपेक्षित नियमनहरूलाई बेवास्ता गरिन्छ, तब उनीहरूविरुद्ध कारबाही अगाडि बढाउन हामी हच्किने छैनौँ।"

डीपसीकपछाडिका योजनाकार लियाङ वेन्फङ को हुन्?

चीनको नयाँ एआई च्याटबट डीपसीकले प्रविधिको संसारमा ठूलो धक्का पुर्‍याएको छ।

यसले अमेरिकामा सबैभन्दा धेरै डाउनलोड भएको निःशुल्क च्याटजीपीटी एपलाई पछाडि पारेको छ र यसका संस्थापक अर्बपति लियाङ वेन्फङलाई रातारात प्रसिद्धि दिलाएको छ।

गत साता मात्रै सार्वजनिक गरिएको यो सस्तो मूल्यको च्याटबटले वाल स्ट्रीटलाई स्तब्ध तुल्याएको छ र प्रतिस्पर्धीहरूलाई पछाडि पार्न थालेको छ।

ज्यानुअरी २० तारिखमा भएको सरकारको एउटा बैठकमा सहभागी हुनै डीपसीकका संस्थापक लिआङ वेन्फङ

तस्बिर स्रोत, CCTV

तस्बिरको क्याप्शन, सरकारको हालैको एउटा बैठकमा डीपसीकका संस्थापक लिआङ वेन्फङ

'हाकिमभन्दा बढी सौखिन'

वेन्फङले सन् २०२३ को डिसेम्बर महिनामा डीपसीक स्थापना गरेका हुन् र सन् २०२४ मा पहिलो एआई मोडल सार्वजनिक गरेका हुन्।

यी ४० वर्षे उद्यमीबारे त्यति धेरैलाई थाहा छैन। उनी दक्षिणी चीनको ग्वाङ्दुङमा जन्मिएका हुन्। उनले जजियाङ विश्वविद्यालयबाट इलेक्ट्रोनिक्स इन्फर्मेशन इन्जिनिअरिङ र कम्प्युटर साइन्समा स्नातक गरेका छन्।

प्रविधिसम्बन्धी चिनियाँ सञ्चारमाध्यम '३६केआर'मा उनलाई चिनेका मानिसहरूले उनी "हाकिमभन्दाबढी आफ्ना विषयका सौखिनजस्तो भएको" बताएका छन्।

तर सार्वजनिक रूपमा विरलै देखिने र अन्तर्वार्ता दिने लियाङ अहिले अन्तर्राष्ट्रिय चर्चामा छन्।

उद्यमीहरूको बैठकमा देशका दोस्रो शक्तिशाली व्यक्ति ली चियाङसँग बैठक गर्ने उनी एकमात्रै एआईका संस्थापक हुन्।

अमेरिकाको सिलिकन भ्यालीका थुप्रै अमेरिकी एआई उद्यमीहरूभन्दा फरक लियाङको पृष्ठभूमि भने वित्त क्षेत्रको पनि छ। उनी हाई-फ्लाइअरका प्रमुख कार्यकारी अधिकारी हुन्। यो कम्पनीले लगानीसम्बन्धी निर्णय गर्नका लागि आर्थिक तथ्याङ्कहरूको विश्लेषणका लागि एआईको प्रयोग गर्छ। त्यसलाई 'क्वान्टिटटिभ ट्रेडिङ' भनिन्छ।

हाई-फ्लाइअरमा लियाङले एआई र एल्गरिदम प्रयोग गरेर शेअर मूल्यमा पर्ने असरहरूको पहिचान गर्ने विधि बनाएका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।