दक्षिण कोरियाका पूर्वराष्ट्रपति यउललाई जन्मकैदको सजाय

युन सुक-यउल

तस्बिर स्रोत, EPA

पढ्ने समय: १ मिनेट

दक्षिण कोरियाको एक अदालतले पूर्वराष्ट्रपति युन सुक-यउललाई राजद्रोहको योजना बनाएको अभियोमा दोषी ठहर गरेको छ। उनी अख्तियार दुरुपयोगको अभियोगमा समेत दोषी ठहर भएका छन्।

सन् २०२४ को डिसेम्बरमा सैन्य शासन लागु गर्ने असफल प्रयास गरेको अभियोगमा मुद्दा चलाइएका यउलविरुद्धको सुनुवाइ बिहीवार बिहानैदेखि सुरु भएको थियो।

अभियोजनकर्ताहरूले सैन्य शासन लागु गर्ने प्रयास गरेको अभियोगका निम्ति मृत्युदण्डको सजाय हुनु पर्ने माग गरे तापनि उक्त मुद्दामा उनलाई आजीवन कारावासको सजाय सुनाइएको छ।

सजाय सुनाइँदा यउल प्रत्यक्ष रूपमा उपस्थित थिए र सजायप्रति उनले अनुहारमा कुनै भाव दर्साएको देखिएन।

न्यायाधीशले पूर्वराष्ट्रपति यउल संवैधानिक व्यवस्था उल्ट्याउन र संसदको कामलाई हिंसात्मक रूपमा दबाउन जिम्मेवार भएको बताएका थिए।

'ठूलो क्षण'

दक्षिण कोरियाली जनता

तस्बिर स्रोत, Hosu Lee/BBC

बीबीसी संवाददाताले त्यस फैसलालाई 'ठूलो क्षण' भएको बताएका छन्। दक्षिण कोरियाले सजाय पाएका बन्दीहरूलाई मृत्युदण्ड दिन छाडेकाले व्यवहारिक रूपमा मृत्युदण्डको सजाय भनेको जन्म कैदको सजाय जस्तै हुन पुगेको छ।

यउलका समर्थकहरू अदालत बाहिर भेला भएर अदालती कारबाहीलाई उत्सुकतापूर्वक ठूलो स्क्रिनमार्फत हेरेका थिए।

६५ वर्षीय दक्षिणपन्थी राजनीतिज्ञ यउलको तत्कालीन घोषणाले सडकमा विरोध प्रदर्शनहरू निम्त्याएपछि त्यसलाई केही घण्टामै खारेज गर्नु परेको थियो।

उनलाई पछि महाभियोग लगाएर पदबाट हटाउनुका साथै शृङ्खलाबद्ध अपराधहरू गरेको आरोप लगाइएको थियो।

उनले अझै राज्यविरोधी शक्तिविरुद्ध "स्वतन्त्रताको रक्षा" गर्न उक्त निर्णय गरेकोमा जोड दिने गरेका छन्।

उनलाई पहिले नै भिन्दाभिन्दै आरोपमा पाँच वर्षको जेल सजाय सुनाइएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।