कोशी प्रदेश : 'यसपालि पार्टीभन्दा व्यक्तिको प्रभाव'

कोशी प्रदेश
    • Author, विक्रम निरौला
    • Role, विराटनगर
  • पढ्ने समय: २ मिनेट

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अन्यत्र झैँ कोशी प्रदेशमा पनि विभिन्न दलका उम्मेदवारहरू मत माग्दै गाउँघर पुगिरहेका देखिन्छन्।

तर सर्वसाधारण मतदातामा चुनावबारे खासै चासो देखिँदैन। चुनाव भयो भने मतदान गर्न जाने सोचाइ भने रहेको मतदाताहरू बताउँछन्।

मोरङको रङ्गेली नगरपालिका वडा नं २ का ८५ वर्षीय गोविन्दप्रसाद घिमिरे यसपालिको चुनावमा युवा उम्मेदवारलाई भोट दिने योजना रहेको बताउँछन्।

उनी भन्छन्, "अब नयाँ युवाहरूले देश हाँक्नुपर्छ," उनी भन्छन्।

देशमै रोजगारीको अवसर चाहियो

विराटनगर ५ की ३० वर्षे लक्ष्मी पौडेल भन्छिन्, "धेरै अहिलेका उम्मेदवार नयाँ जोस जाँगर लिएर आएका छन्। देशमा केही उन्नति,प्रगति र परिवर्तन गर्छु भनेर आएका छन्। उनीहरूलाई साथ दिने सोचाइ छ।"

उनले थपिन्, "देशमा परिवर्तन हुनुपर्‍यो , विकास हुनुपर्‍यो, धेरै युवाहरू रोजगारीका लागि विदेश पलायन भइरहेका छन्। देशमै रोजगारी हुनुपर्‍यो, मूल कुरा यही हो।"

मतदान गरेको साङ्केतिक तस्बिर

तस्बिर स्रोत, EPA

पारदर्शी नेतृत्व,भ्रष्टाचारमुक्त शासन

विराटनगर ९का ३१ वर्षीय पूजन श्रेष्ठ यस पटकको चुनावमा पार्टीभन्दा पनि व्यक्तिको प्रभाव बढेको देखिएको बताउँछन् । ।

उनले भने, "अब आउने नेताहरू इमानदार हुनुपर्छ। नेतृत्व पारदर्शी हुनुपर्छ। भ्रष्टाचारमुक्त शासन हुनुपर्छ। स्पष्ट निर्णय प्रक्रिया र सार्वजनिक जबाफदेहिता तथा परिणाममुखी विकास गर्न सक्ने हुनुपर्‍यो।"

"युवालाई अवसर दिनुपर्छ। विदेश पलायन रोक्न स्वदेशमै रोजगारी, उद्यमशीलता र सीप विकासमा ध्यान दिनुपर्‍यो।"

उनले नेताले जनतासँग प्रत्यक्ष संवाद गर्नुपर्ने विचार सुनाए। सुशासन र कानुनी शासनको प्रत्याभूति गर्न सक्ने तथा राष्ट्रिय हितलाई पहिलो प्राथमिकता दिने खालको नेताको आवश्यकता औँल्याए।

चुनावी तथ्याङ्कमा कोशी प्रदेश

प्रदेश कोशी

जिल्लाको सङ्ख्या: १४

  • कुल निर्वाचन क्षेत्र: २८
  • कुल मतदाता: ३५,७४,३१०
  • महिला: १७,४६,०७३
  • पुरुष: १८,२८,२१३
  • अन्य: २४
  • कुल उम्मेदवार: ४८५
  • महिला: ५३
  • पुरुष: ४३१
  • अन्य: १
  • मतदान केन्द्र: ४२७०
  • मतदान स्थल: १९०७

विगतको नतिजा: कुन पार्टीले कति जिते?

  • नेकपा एमाले: १३
  • नेपाली कांग्रेस: ९
  • माओवादी केन्द्र: ३
  • जनता समाजवादी पार्टी: १
  • राप्रपा: १
  • स्वतन्त्र: १

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।