कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति

नागरिकता दुरुपयोग गरेको भन्दै उजुरी परेपछि पक्राउ परेका कान्तिपुर मिडिया ग्रूपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा जिल्ला अदालतले थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका रजिस्ट्रार कैलाश भट्टराईले बीबीसीलाई बताएका छन्।
काठमाण्डूबाट मङ्गलवार नियन्त्रणमा लिइएका सिरोहियालाई शुक्रवार दोस्रो पटक म्याद थपका लागि अदालतमा पेस गरिएको थियो।
अदालत लैजानुअघि जिल्ला सरकारी वकिलको कार्यालयमा सिरोहियासँग बयान लिइएको थियो। बयानका क्रममा उनले आफूले एउटा मात्र नागरिकता लिएको र किर्ते नगरेको दाबी गरेका थिए।
जिल्ला सरकारी वकिलको कार्यालयले सिरोहियालाई थप पाँच दिन हिरासतमा राख्न माग गरेको थियो।
गत बुधवार अदालतले उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।
सहकारीको बचत अपचलनका विषयमा गृहमन्त्रीमाथि लागेको आरोपबारे निरन्तर समाचार प्रकाशित गरिरहेको कान्तिपुरका अध्यक्षलाई प्रतिशोध लिन पक्राउ गरिएको भन्दै विभिन्न सङ्घसंस्थाले उनको रिहाइको माग गर्दै आएका छन्।
सिरोहियाले नागरिकता दुरुपयोग गरेको भन्दै वैशाख तेस्रो साता प्रहरीमा जाहेरी परेको थियो।
जाहेरी दिने व्यक्ति गृहमन्त्री रवि लामिछानेको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता भएको विवरण विभिन्न सञ्चारमाध्यमले सार्वजनिक गरेका छन्।
कैलाश सिरोहिया किन पक्राउ परे

प्रहरीले यसअघि अदालतमा पेस परेको विवरणमा सिरोहियाकै नाममा रहेको नागरिकता अर्का व्यक्तिको नाममा समेत पाइएको उल्लेख छ।
उनलाई पक्राउ गर्नुको कारण खुलाउँदै प्रहरीले पेस गरेको अर्को कारणमा जिल्ला प्रशासन कार्यालय धनुषाको अभिलेखमा सिरोहियाका दाजु र दिदीहरूको नागरिकता अङ्गीकृत रहेको पाइएको र उनको जन्मसिद्ध नागरिकता रहेको देखिएको उल्लेख छ।
प्रहरीले सिरोहियाको नागरिकताको प्रतिलिपिमा जन्ममिति किर्ते गरेर पछि थप गरिएको आशङ्का गरेको छ। साथै जन्ममिति र नागरिकता लिँदाको उमेर पनि मेल नखाएको प्रहरीको आरोप छ। साथै उनले नागरिकता लिँदा पेस गर्नुपर्ने कागजपत्रहरूको अभिलेख फेला नपरेको प्रहरीको जिकिर छ।
यद्यपि सिरोहियाले आफूले वंशज नागरिकता लिएको तर त्यसबारे देखिएका कमजोरी प्रशासनको त्रुटिका कारण भएको हुन सक्ने भन्दै त्यसमा आफ्नो दोष नरहेको दाबी गर्दै आएका छन्।
उनका वकिलले अदालतमा दिएको स्पष्टीकरणमा सिरोहियाले नागरिकतामा जन्ममिति पछि थप गरेको नभई सरकारी अधिकारीले नै थप गरेर खुलाइदिएको जिकिर गरिएको छ।
आफ्नो नागरिकताबारे उजुरी परेको समाचार सार्वजनिक भएलगत्तै सिरोहियाले आफूविरुद्ध धरपकड हुन सक्ने भन्दै सर्वोच्च अदालतमा त्यसलाई रोकिपाऊँ भन्दै रिट निवेदन दायर गरेका थिए।
त्यसमा सुनुवाइ गर्ने क्रममा सर्वोच्च अदालतले गृह मन्त्रालय र नेपाल प्रहरीसँग सिरोहियामाथि अनुसन्धान गर्नुपर्नाका कारण माग गरेको थियो।

कान्तिपुरका अध्यक्ष सिरोहियाले कानुनअनुसार हुने अनुसन्धानमा आफूले सहयोग गर्ने बताइरहँदा पनि गृहमन्त्री र सरकारले प्रतिशोधको भावनाबाट प्रेरित भएर पक्राउ गरिएको आरोप लगाएका छन्।
उनले गृहमन्त्री समेत संलग्न भएको आरोप लाग्दै आएको सहकारी ठगी प्रकरणमा कान्तिपुरले प्रकाशन गरिरहेका समाचारको प्रतिशोधका कारण आफूलाई पक्राउ गरिएको दाबी गरेका छन्।
पछिल्लो समय कान्तिपुर दैनिकले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको समेत नाम जोडिएको भन्दै सहकारी ठगीसम्बन्धी विषयमा शृङ्खलाबद्ध समाचार प्रकाशन गर्दै आएको छ।
कैलाश सिरोहिया को हुन्?

तस्बिर स्रोत, KMG
धनुषामा जन्मिएका सिरोहिया नेपालको अग्रणी र सबैभन्दा ठूलोमध्येको निजी सञ्चार संस्थाका प्रकाशक हुन्।
उनी अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रूपले कान्तिपुर दैनिक, द काठमाण्डू पोस्ट, कान्तिपुर टेलिभिजन, रेडियो कान्तिपुर, सहितका सञ्चारमाध्यम सञ्चालन गर्दै आएको छ।
यसअघि कान्तिपुरमा कार्यकारी भूमिकामा रहेका सिरोहियाले गत वर्ष आफ्ना जेठा छोरा सम्भव स्वाँर सिरोहियालाई प्रबन्ध निर्देशकको जिम्मेवारी सुम्पिएर आफू अभिभावकीय भूमिकामा रहने घोषणा गरेका थिए।
यसअघि दरबार हत्याकाण्डपश्चात् ज्ञानेन्द्र शाह राजा बनेपछि कान्तिपुर दैनिकमा तात्कालिक माओवादी नेता डा बाबुराम भट्टराईको लेख प्रकाशित हुँदा कैलाश सिरोहिया तात्कालिक प्रधानसम्पादक युवराज घिमिरेसँगै पक्राउ परेका थिए।
उनी फर्निचर व्यवसायबाट सञ्चार उद्योगमा संलग्न भएको बताइन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








