किन एक चिकित्सकलाई हजारौँ महिलाको बन्ध्याकरण गरेको गलत आरोप लाग्यो?

कुरुङगेला टिचिङ हस्पिटलमा मोहमद साफी

तस्बिर स्रोत, Mohamed Shafi

तस्बिरको क्याप्शन, कुरुङगेला टिचिङ हस्पिटलमा मोहमद साफी
    • Author, सुनिथ परेरा
    • Role, बीबीसी विश्व सेवा

के मानिसहरूलाई सन्तान जन्माउन नसक्ने बनाउने कुनै चक्की छ? महिलाहरूको भित्री वस्त्रमा कुनै किसिमको जेल राख्दा पो त्यस्तो हुन्छ की? के तपाईँले शल्यक्रियामार्फत बच्चा जन्माउँदा चिकित्सकले महिलालाई सन्तान जन्माउन नसक्ने बनाएको सुन्नुभएको छ?

श्रीलङ्काका मुस्लिम विरोधी कट्टरपन्थी बौद्धमार्गी माझ चर्चा चलिरहेका केही अफवाहहरू यी हुन्।

त्यस्ता हल्लाहरूका अनुसार त्यहाँको मुसलमान अल्पसङ्ख्यक समुदायले बौद्धमार्गीको बाहुल्य रहेको सो देशमा गोप्य रूपमा उक्त धार्मिक समुदायका महिलालाई आमा बन्न नसक्ने तुल्याएर जनसङ्ख्याको आफ्नो अनुपात बढाउने प्रयास गरिरहेको दाबी गरिएको छ।

एक जना व्यक्ति उक्त सन्देहपूर्ण आरोपको केन्द्रमा छन्। उनी उत्तर पश्चिम नगर कुरुनीगालाका चिकित्सक हुन्।

“म मुस्लिम हुँ र मलाई गोप्य रूपमा ४,००० बौद्ध महिलाहरूलाई गर्भधारण गर्न नसक्ने बनाएको आरोप लगाइयो,” सर्जन मोहम्मद साफीले भने।

डाक्टर साफीलाई बौद्ध धर्मावलम्बी बिरामीका डिम्बबाहिनी नलीलाई शल्यक्रियाको समयमा सङ्कुचित बनाइदिएको अनि त्यस्तो गरेर ती महिलाहरूले भविष्यमा सन्तान जन्माउन नसक्ने बनाएको गलत आरोप लगाइएको थियो।

रेड लाइन
सम्बन्धित सामग्री
रेड लाइन

सन् २०१९ को मे २४ मा उनलाई आतङ्कवादसम्बन्धी कानुन अन्तर्गत पक्राउ गरिएको थियो।

“मलाई अपराधीहरूसँग थुनिएको थियो। मैले सोचेँ, उनीहरूले किन यस्तो गरिरहेका छन्? मेरी श्रीमती र सन्तानका लागि म जीवितै रहनुपर्थ्यो,”डाक्टर साफी भन्छन्।

तीन सन्तानका पिता उनले ६० दिन थुनामा बिताए। सन् २०१९ को जुलाईमा अदालतले उनलाई धरौटीमा रिहा गर्‍यो तर अनुसन्धान चलिरहेकाले उनलाई बाध्यात्मक बिदामा राखिएको थियो।

गिरफ्तारीको चार वर्षपछि मोहम्मद साफीलाई सन् २०२३ को मे महिनामा श्रीलङ्काको स्वास्थ्य मन्त्रालयले उनीमाथिका आरोप प्रमाणित नभएकाले पुनः काममा फर्कन दिएको थियो।

ईस्टर सन्डे बमकान्ड

ईस्टर सन्डेमा भएको हमलामा २५० भन्दा बढीले ज्यान गुमाएका थिए

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, इस्टर सन्डेमा भएको हमलामा २५० भन्दा बढीले ज्यान गुमाएका थिए

श्रीलङ्काको कूल २ करोड २० लाख जनसङ्ख्याको ७० प्रतिशत बौद्धमार्गी छन् भने १० प्रतिशत मुसलमान। त्यहाँ हिन्दुको जनसङ्ख्या करिव १२ प्रतिशत र इसाईको जनसङ्ख्या ७ प्रतिशत रहेको छ।

त्यस्तो आरोप लाग्नु अघि डाक्टर साफीले यी समुदायहरूको उपचारमा कैयौँ दिन बिताए।

तर सन् २०१९ को एप्रिल २१ मा इस्टर सन्डेका दिन भएका श्रृंखलावद्ध बम आक्रमणले डाक्टर साफीको जीवन सदाका लागि फेरिदियो। गिर्जाघर र पर्यटकीय होटेललाई निशाना बनाइएको सो हमलामा २५० जना भन्दा धेरैको ज्यान गएको थियो।

स्वयं कट्टरपन्थी बनेका इस्लामिक स्टेट समूहसँग आबद्ध भएको समूहले उक्त आक्रमण गरेका थिए। सन् २००९ मा तमिल टाइगर पृथकतावादीहरूको द्वन्द्व समाप्त भएयताको त्यो सबैभन्दा खराब हिंसा थियो।

सो आक्रमणले श्रीलङ्काभर इस्लाम विरोधी भावना फैलाएको थियो। त्यसको बदलामा मस्जिद, घरहरू र मुस्लिमहरूका पसलहरूमा आगजनी गरिएका थिए भने भीडले एक जना मुस्लिमको ज्यान लिएको थियो।

गलत आरोप

श्रीलङ्काको एउटा समाचारपत्र

तस्बिर स्रोत, Divaina

तस्बिरको क्याप्शन, एउटा मूलधारको समाचारपत्र ‘डिभाइना’ ले पहिलो पृष्ठमा झन्डै ४,००० महिलालाई एक मुसलमान चिकित्सकले बाँझो बनाइदिएका गलत विवरण छापेको थियो

बम हमला भएको एक महिनापछि २०१९ को मे २३ मा एउटा मूलधारको समाचारपत्र ‘डिभाइना’ ले पहिलो पृष्ठमा एउटा आरोप छापेको थियो जसमा ‘ताहिद जमात'का एकजना चिकित्सकले ४ हजार सिंहाली बौद्धमार्गी आमाहरूलाई गर्भधारण गर्न नसक्ने ’ बनाइदिएको उल्लेख गरिएको थियो। त्यसमा प्रमाणसहित भन्दै विभिन्न खुलासा भएका र ‘चिकित्सकलाई पक्राउ गर्न व्यापक छानबिन’ गरिएको भनिएको थियो।

न्याश्नल तौहिद जमात इस्टर सन्डे आक्रमणमा आरोप लगाइएको दुईवटा इस्लामवादी समूहमध्ये एक थियो।

सो समाचारपत्रले डाक्टर साफीको पहिचान खुलाउन वा आफ्नो दाबी पुष्टि गर्न कुनै स्रोत उल्लेख गरेको थिएन। तर केही समयमा नै बौद्धमार्गी महिलालाई बाँझो बनाएकोमा डाक्टर साफी दोषी रहेको भन्दै उनको तस्बिर र बस्ने ठाउँबारेका विवरण फेसबुकमा सार्वजनिक भयो।

“म पहिलो पटक ती दाबीमा त्यसबेला जोडिएको थिएँ।”

डाक्टर साफीले उनी, वार्डका कन्सल्टेन्ट र अन्य वरिष्ठ अधिकारीहरू केरुङगेला टिचिङ हस्पिटलका निर्देशक डा सराथ विराबन्दरालाई सामाजिक सञ्जालमा आएका गलत आरोप र त्यसले जीवनमा उत्पन्न गराउने सम्भावित खतराबारे उजुरी गर्न गएको बताए।

तर डाक्टर विराबन्दराले आफूले अस्पताल बाहिरका नभई भित्रका विषयहरू मात्रै सम्बोधन गर्नसक्ने जवाफ दिएका थिए।

त्यसको दुई दिनपछी डाक्टर साफी पक्राउ परे।

“मलाई पक्राउ पुर्जी विना नै प्रहरीसमक्ष लगियो र सार्वजनिक शान्तिमा (व्यवस्था) खलल नपुगोस् भनेर जेलमा हालियो,” उनले भने।

'विषाक्त सञ्चारमाध्यम'

बौद्ध भिक्षुहरूको प्रदर्शन

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, डाक्टर साफी पक्राउ परेपछि बौद्ध भिक्षुहरूको प्रदर्शन

टेलिभिजन च्यानलहरूले उक्त समाचारलाई आफ्नो खबर बनाए र त्यो गलत आरोप सामाजिक सञ्जालमा भाइरल बनेको थियो।

“म माथि षडयन्त्र गरियो। मलाई सार्वजनिक रूपमा नै आतङ्कवादी करार गरियो। विषाक्त सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका मिथ्या खबरहरूले खासमा मेरो जीवन नै ध्वस्त बनाइदियो।”

बौद्ध भिक्षुहरूले साफीकी श्रीमती फातिमा इमारा काम गर्ने अस्पताल बाहिर प्रदर्शन गर्न थाले। “मेरी श्रीमतीलाई ज्यान लिने धम्की दिइयो। उनी हाम्रा सन्तानहरूको जीवनलाई लिएर डराएकी थिइन्,” डाक्टर साफीले भने। उनका अनुसार उनकी श्रीमतीको जागिर पनि गुम्ने अवस्था देखिएको थियो।

“मेरी जेठी छोरी परीक्षाको तयारी गरिरहेकी थिइन् र विद्यालय जान चाहन्थिन्। तर हामीले त्यसो गर्न सकेनौँ किनभने सार्वजनिक रूपमा हामीप्रति आक्रोश थियो। उनी मानसिक आघातमा थिइन्। हाम्रा बच्चाहरूका लागि नयाँ विद्यालय खोज्नुपर्ने अवस्था थियो।”

सेन्ट सेबास्टियन चर्चमा रहेको भग्नावशेष

तस्बिर स्रोत, Anadolu Agency/Getty Images

साफी पक्राउ परेपछि उनकी श्रीमती र तीन सन्तान कोलम्बोमा बसाइँ सरे। त्यहाँ उनका बच्चाहरू तीनवटा फरक विद्यालयमा पढ्न थाले।

“मेरी श्रीमती र बच्चालाई एक ठाउँबाट अर्कोमा भाग्नुपर्‍यो। उनीहरूसँग पैसा थिएन किनभने मेरो ब्याङ्क खाता रोक्का गरिएको थियो।”

करिब ८०० महिलाहरूले मोहमद साफी विरुद्ध वयान दिएका थिए जसलाई अस्पतालका अधिकारीहरूले उजुरीका रूपमा उल्लेख गरेका थिए। सन् २०१९ को जुन २७ मा श्रीलङ्काको क्रिमिनल इन्भेस्टिगेसन डिपार्टमेन्ट (सीआइडी) ले अदालतलाई गोप्य रूपमा महिलाहरूलाई गर्भधारण गर्न नसक्ने बनाइएको कुनै प्रमाण नपाइएको जानकारी दिएको थियो।

श्रीलङ्काका अन्य कानुन कार्यान्वयन गर्ने निकाय र गुप्तचर निकायहरूले पनि साफी कुनै आतङ्कवादी गतिविधिमा संलग्न रहेको प्रमाण नभेटिएको जनाएका थिए।

चुनावी अभियान

धार्मिक राष्ट्रवाद

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, गोटबाया राजपक्षको जीतका लागि धार्मिक राष्ट्रवादले महत्त्वपूर्ण भूमिका खेलेको थियो

इस्टर सन्डे बम हमलापछि पूर्व राष्ट्रपति महिन्द राजपक्षका भाई र युद्धको समयमा रक्षा मन्त्री रहेका गोटाबाया राजपक्षले आफू निर्वाचनमा लड्ने र इस्लामको फैलावट रोक्ने बताएका थिए।

नोभेम्बर २०१९ मा सम्पन्न चुनावको समय इस्लाम विरोधी भावना उच्च विन्दुमा पुगेको थियो।

“जातिवाद एउटा कुलत हो। दुर्भाग्य, त्यसको लतमा परेका मानिसहरू गर्वसाथ त्यसको कुरा गर्छन्, “ डाक्टर साफीले भने।

“श्रीलङ्काली राजनीतिज्ञहरूले मेरो बदनाम गरे। त्यो अकल्पनीय पीडा हो।”

‘बाँझोपनको चक्की र जेल’

बाँझोपनलाई मुसलमानहरूले श्रीलङ्कामा आफ्नो पकड कायम गर्न गरेको षडयन्त्र भन्ने हल्ला चलाइएको प्रसङ्ग नौलो होइन्।

सन् २०१८ मा एक जना मुसलमान रेस्टुराँ व्यवसायीमाथि खानेकुरामा ‘बाँझोपनको चक्की’ मिसाएर बौद्धमार्गी ग्राहकहरूलाई बेचेको आरोप लगाइएको थियो।

त्यसपछि पूर्वी श्रीलङ्काको अम्पारामा बौद्धमार्गीहरूको जत्थाले रेस्टुराँ र मुसलमान स्वामित्वका पसल र होटेलहरूमाथि आक्रमण गरेका थिए।

श्रीलङ्काको जनसङ्ख्याको ७० प्रतिशत बौद्ध धर्मावलम्बी छन्

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, श्रीलङ्काको जनसङ्ख्याको ७० प्रतिशत बौद्ध धर्मावलम्बी छन्

डाक्टर साफी पक्राउ परेपछि एक जना चर्चित भिक्षु वाराकोगोडा श्री गनानारत्नले सार्वजनिक रूपमा नै मुसलमानमाथि ढुङ्गा हान्ने र मुसलमान स्वामित्वका स्टोर र खानेकुरा व्यवसाय बहिष्कार गर्ने विषयमा समर्थन जनाएका थिए।

अर्को दाबी अनुसार मुसलमान स्वामित्वको लत्ता कपडा विक्री गर्ने चेन स्टोरले ‘बाँझोपन निम्त्याउने जेल’ बौद्धमार्गी महिलाहरूले लगाउने भित्री वस्त्रमा प्रयोग गरिदिएको आरोप लगाइएको थियो।

त्यस्ता हल्ला चलेपछि कट्टरपन्थी बौद्धमार्गीहरूले मुसलमानहरूका पसललाई बहिस्कार गर्न भनेका थिए र त्यहाँ किनमेलमा जाने कतिपयलाई आक्रमण पनि गरेका थिए।

अम्पारामा भएको हिंसापछि संयुक्त राष्ट्रसङ्घले एउटा विज्ञप्ति जारी गर्दै बाँझोपन गराउने चक्की वा (चिप्लो औषधी) जेल अस्तित्व नै नरहेको जनाएको थियो।

सञ्चार आचारसंहिता

श्रीलङ्का योङ जर्नलिस्ट्स एसोशिएशन (एसएलवाईजेए) स्थानीय समाचारपत्र, टिभि च्यानल र वेबसाइटहरूमा आएका विवरणमाथि प्रश्न उठाउने एकाध संस्था मध्ये एक थियो।

मस्जिदमाथि आक्रमण भएको थियो

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, ईस्टर सन्डे बमकान्डपछि बौद्धमार्गीको जत्थाले मस्जिदमा आक्रमण गरेका थिए

त्यसका अध्यक्ष थारिन्दा जयबर्धनले त्यसबेला उक्त घटनाबारेका धेरै तथ्यगत विवरण प्रकाशित नभएका बताए।

बीबीसीले कैयौँ स्थानीय पत्रकारहरूसँग कुरा गरेको छ जसका दुवै पक्षका कुरा समेटिएका अनुसन्धानात्मक लेख त्यो बेला प्रकाशित हुनबाट रोकिएको थियो। सम्पादकहरूले त्यस्ता विवरणले पाठकहरूलाई ‘आक्रोशित तुल्याउने र पत्रिकाको विक्री घटाउनसक्ने’ भन्दै चिन्ता जनाएका थिए।

डाक्टर साफीमाथि मूलधारका सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलिएको घृणा अभियानकै कारण बौद्ध भिक्षुहरूले मुसलमानमाथि ढुङ्गा प्रहार गरेर हत्या गर्न सोझै माग गरेको जयबर्धन बताउँछन्। त्यसको कुनै आधार नरहेको बताइन्छ।

उनले भने, “हामीले साफीविरुद्ध वक्तव्य दिएका महिलाहरूमध्ये १६८ जनाले मात्रै सन्तान जन्माउन सङ्घर्ष गरेको थाहा पायौँ। अरू समाचार सुनेर मात्रै बाहिर आएका थिए। उनीहरू आफ्नो जाँच गरिओस् भन्ने चाहन्थे। हामीसँग सबै उजुरीहरूको सूची छ र हामीले डाक्टर साफी पक्राउ परेपछि करिब १२० जनाले बच्चा जन्माएका पुष्टि भएको थाहा पाएका छौँ।”

निर्दोष प्रमाणित

A composite image showing the four major religions in Sri Lanka - Buddhist, Hindu, Muslim and Christian

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, श्रीलङ्का धार्मिक रूपमा विविधतायुक्त देश हो

आफूमाथिका आरोप पुष्टि हुने प्रमाण नभएकाले डाक्टर साफीले सन् २०२३ को मेमा कुरुङगेला शिक्षण अस्पतालमा काम थालेका थिए।

त्यसअघि उनलाई झन्डै तीन वर्षको तलब एकमुस्ट दिइएको थियो जुन साढे ११ लाख नेपाली रुपियाँ भन्दा केही बढी हुन आउँछ।

डाक्टर साफीले बक्यौता रकम स्वास्थ्य मन्त्रालयलाई अत्यावश्यक औषधि खरिद गर्नका लागि चन्दा दिएका थिए।

श्रीलङ्काका धेरै चिकित्सकहरू देशमा आर्थिक सङ्कट गहिरिँदै गएकाले राम्रो अवसरको खोजीमा बिदेसिने गरेका छन्। तर डाक्टर साफी देशभित्रै बस्न र आफूलाई गलत आरोप लगाइएको अस्पतालमा नै काम गर्न प्रतिवद्ध छन्।

“मेरो परिवारले मलाई त्यस्तो नगर्न भनेका थिए,” उनले भने। “तर मलाई थाहा छ आफूलाई निर्दोष प्रमाणित गर्ने उपाय भनेको त्यही अस्पतालमा गएर पहिलेकै पदमा काम गर्नु हो।”