नेपाल सुपर सिक्समा पुग्न कस्तो नतिजा चाहिन्छ

क्रिकेट

तस्बिर स्रोत, ICC

    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली

जिम्बाब्वेमा जारी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले शनिवार लीग चरणको अन्तिम खेल नेदरल्यान्ड्सविरुद्ध खेल्दै छ।

नेपालले उक्त खेल जित्नैपर्छ।

हारसँगै नेपालको सुपर सिक्स सम्भावना समाप्त हुनेछ। तर जितले पनि नेपालको यात्रा सुनिश्चित भने हुने छैन।

त्यो कसरी? त्यसका लागि बाँकी खेलको नतिजाको हिसाबकिताब हेर्नुपर्ने हुन्छ।

समूह विभाजन

विश्वकप छनोटमा प्रतिस्पर्धा गरिरहेका १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ।

जसमा समूह ए मा नेपालसँगै टेस्ट खेल्ने दुई राष्ट्र वेस्ट इन्डीज र जिम्बाब्वे तथा नेदरल्यान्ड्स र संयुक्त राज्य अमेरिका छन् भने समूह बी मा श्रीलङ्का, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र यूएई छन्।

प्रत्येक समूहबाट तीन टोली सुपर सिक्समा प्रवेश गर्ने छन्।

समुह ए को अहिलेसम्मको खेलको नतिजा हेर्दा दुई खेलमा दुवै जितेका राष्ट्रहरू वेस्ट इन्डीज र जिब्बाब्वे सुपर सिक्समा पुग्ने लगभग निश्चित छ।

तीनवटै खेल हारेको अमेरिका भने प्रतियोगिताबाट बाहिरिइसकेको छ।

अब बाँकी रहे नेपाल र नेदरल्यान्ड्स। यी दुईमध्ये एउटा टोली शीर्ष तीनमा रहने पक्का छ।

अङ्क अवस्था

नेपाल र नेदरल्यान्ड्स दुवैले एक-एक खेल जितेर समान २ अङ्क प्राप्त गरेका छन्। तर नेदरल्यान्ड्सले एक खेल कम खेलेको छ।

नेपाल जिम्बाब्वेसँग ८ विकेट तथा वेस्ट इन्डीजसँग १०१ रनले पराजित भएको थियो भने अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो।

नेदरल्यान्ड्सले पनि अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो भने जिम्बाब्वेसँग ६ विकेटले पराजित भएको थियो।

क्रिकेट

तस्बिर स्रोत, ICC

यस्तो अवस्थामा नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेमा टोलीको शीर्ष तीनमा रहने सम्भावना निक्कै उच्च रहने छ।

त्यसपछि नेपालले नेदरल्यान्ड्स र वेस्ट इन्डीजबीचको लीगको अन्तिम खेलको नतिजा पर्खिनु पर्नेछ।

त्यहाँ यदि नेदरल्यान्ड्सले हार बेहोरेमा नेपाल ४ अङ्कका साथ शीर्ष तीनमा रहेर सुपर सिक्समा पुग्ने छ।

तर यदि नेदरल्यान्ड्सले वेस्ट इन्डीजलाई हराएको खण्डमा नेपाल र नेदरल्यान्ड्सबीच समान ४ अङ्क हुनेछ।

यस्तो अवस्थामा जुन टोलीको रन रेट उच्च हुनेछ। त्यही टोली शीर्ष ३ मा रहनेछ।

तर यदि नेपाल नेदरल्यान्ड्ससँग हारेमा भने नेदरल्यान्ड्स अन्तिम खेल खेल्नुअगावै सुपर सिक्समा पुग्नेछ।

बलियो प्रतिद्वन्द्वी

सन् २०१८ मा जब नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) राष्ट्रको मान्यता पायो। लगत्तै नेपालले नेदरल्यान्ड्समा गएर पहिलो ओडीआई प्रतिस्पर्धा गरेको थियो।

दुई एकदिवसीय सो प्रतिस्पर्धाको पहिलो खेलमा नेदरल्यान्ड्स ५५ रनले विजयी भएको थियो भने दोस्रो ओडीआई नेपालले १ रनले जितेर शृङ्खला बराबरी गरेको थियो।

त्यसपछि यी दुई टोलीबीच अहिले नै भेट हुन लागेको हो।

इतिहास हेर्दा नेपालभन्दा नेदरल्यान्ड्सको अनुभव एकदिवसीयमा बढी छ।

नेपालले सन् १९९६ मा पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला चाल्दा सोही वर्ष नेदरल्यान्ड्सले भने एकदिवसीय विश्वकप खेलिसकेको थियो।

नेदरल्यान्ड्सले सन् १९९६, २००३, २००७ र २०११ गरी चारवटा विश्वकप खेलिसकेको छ। त्यसमा २० खेल खेलेको टोलीले १८ मा हार र २ मा जित हात पारेको छ।

क्रिकेट

तस्बिर स्रोत, ICC

नेदरल्यान्ड्सले विश्वकपको सुपर लीग खेलेको थियो जसमा उक्त टोली १३ औँ राष्ट्रमध्ये १३औँ स्थानमा रहेर विश्वकप छनोटमा झरेको थियो।

नेपाल भने विश्वकप लीग २ को शीर्ष ३ भित्र स्थान बनाएर पहिलो पटक विश्वकप छनोटमा पुगेको हो।

यद्यपि वर्तमान अवस्था हेर्दा नेपाल र नेदरल्यान्ड्सको स्तर भने समान मान्न सकिने बताइन्छ।

विश्वकप लीग २ र एसीसी प्रिमियर कपमा राम्रो प्रदर्शन गरेको नेपाल उच्च मनोबलमा छ।

नेपाल- नेदरल्यान्ड्सको खेल हरारेको ताकासिंगे स्पोर्टस् क्लबमा हुनेछ जहाँ नेपालले अमेरिकालाई पराजित गरेको थियो।

हरारे स्पोर्टस् क्लबको ब्याटिङ पिचको दाँजोमा ताकासिंगेको पिचमा स्पिनरहरूलाई मद्दत पुग्ने भनिएको छ।

अर्कोतर्फ नेदरल्यान्ड्सले पनि अमेरिकालाई यही मैदानमा हराएको हो।

त्यसैले शनिवार हुने यी दुई टोलीको भिडन्त भने साँच्चै नै रोचक हुने देखिन्छ।