हालैको वर्षाले धानबालीलाई फाइदा, तर किन छैन अझै ढुक्क हुने अवस्था

तस्बिर स्रोत, RSS
हालैका साताहरूमा भएको अतिवृष्टिले धानखेतीका लागि अनुकूल वातावरण सिर्जना गरेको देखिए पनि धान काट्ने समय आउन बाँकी रहेकाले अहिले नै ढुक्क हुने अवस्था नरहेको कृषि निकायका अधिकारी तथा विज्ञहरूले बताएका छन्।
धानबालीको वृद्धि र विकासका लागि पर्याप्त पानी आवश्यक पर्ने भए पनि अत्यधिक वर्षा, बाढी र डुबानले बालीमा क्षति पुर्याउन सक्ने भएकाले आगामी दिनको मौसमप्रति किसानहरू सचेत रहनुपर्ने उनीहरूको सुझाव छ।
गएका केही सातामा नेपालका विभिन्न स्थानमा भारीदेखि अति भारीसम्म वर्षा मापन भएको थियो। यसका कारण पूर्वदेखि पश्चिमसम्मका विभिन्न क्षेत्रमा खोलानालाको जलस्तर बढ्नुका साथै नदी तथा खोलाकिनारका खेतमा बाढीपहिरोको असर देखिएको कृषि विभागका प्रवक्ता राजेन्द्र कोइरालाले बताए।
विशेष गरी नदी तथा खोलाको आसपास रहेका खेतहरू कटानमा पर्ने, बाली डुबानमा पर्ने र खेतमा बालुवा तथा गेग्रान थुप्रिने समस्या देखिएको हो।
"तर समग्रमा वर्षाले खेतीलाई नै वा सम्भावित उत्पादनलाई चाहिँ त्यस्तो असर गरेको छैन, बरु सहज नै बनाएको छ," उनले भने।
"जहाँजहाँ खेत भत्किएका वा पुरिएका छन्, त्यहाँ किसानहरूलाई मर्का परेको छ, तर समग्रमा देशभरिको अवस्था हेर्दा कृषि उत्पादन घट्ने देखिँदैन।"
कसरी अनुकूल भयो यो वर्षा?

तस्बिर स्रोत, RSS
यतिखेर तराई र पहाडका सिँचाइ सुविधा भएका क्षेत्रमा धानखेती छ भने माथिल्लो क्षेत्रका पानी नलाग्ने जमिनमा कोदो लगाइएको छ।
"अधिकांश ठाउँमा असारको अन्तिमदेखि साउन १५ गतेसम्म रोपाइँ भएको थियो। धानका विभिन्न जातअनुसार यो गँजाउने र पोटाउने समय भएकाले पर्याप्त पानी चाहिने समय थियो," कृषि विभागका कोइरालाले भने।
उनका अनुसार वर्षासँगै वायुमण्डलमा रहेका विभिन्न कण जमिनमा झर्ने र त्यसले मलको काम गर्ने भएकाले पनि बालीलाई फाइदा गर्छ।
"हालैको साताका वर्षाले गर्दा माथिल्ला सुक्खा क्षेत्रमा धानखेती राम्रो भएको छ। पानीको उचित निकास भएका तल्ला क्षेत्रमा पनि वर्षाले प्रतिकूल असर पारेको छैन," उनले भने।
देशभरि करिब १३ लाख ५० हजार हेक्टर क्षेत्रफलमा धानखेती रहेको अधिकारीहरू बताउँछन्। उक्त क्षेत्रफलको ठूलो हिस्सा तराईमा पर्छ।
मधेश कृषि विश्वविद्यालयका रजिस्ट्रार श्रीभगवान् ठाकुर पनि तराईमा पछिल्लो वर्षाले धानबालीलाई सकारात्मक प्रभाव पारेको बताउँछन्।
"केही सातासम्म लगातार पानी पर्दा खेती नष्ट हुने हो कि भन्ने चिन्ता किसानमा थियो। तर यसपटकको वर्षाले धानबालीको वृद्धि र विकासमा सहयोग पुर्याएको छ," उनले भने।
ठाकुरका अनुसार यस वर्ष तराईका धेरै ठाउँमा रोपाइँ ढिलो भएकाले पनि लगातारको वर्षाले प्रतिकूल असर नपारेको हुन सक्छ।
कृषि विभागका प्रवक्ता कोइरालाका अनुसार गतवर्ष प्रतिहेक्टर ३.९ मेट्रिक टन उत्पादन भएको थियो।
"यसपालि त्योभन्दा घट्दैन भन्ने ठानिएको छ।"
किन कायमै छ जोखिम?

तस्बिर स्रोत, RSS
हालैको वर्षाले धेरै क्षेत्रमा सिँचाइका लागि आवश्यक पानीको उपलब्धता सहज बनाएको भए पनि धान उत्पादनको अन्तिम परिणाम भने वर्षाको निरन्तरता, आगामी दिनको मौसम र स्थानीय स्तरमा देखिएका प्राकृतिक विपद्का घटनामा निर्भर रहने जानकारहरू बताउँछन्।
समग्रमा वर्षा अनुकूल देखिए पनि यसबाट स्थानीय स्तरमा भएको क्षति र आगामी दिनमा देखिन सक्ने मौसमी जोखिमलाई बेवास्ता गर्न नहुने विज्ञहरूको धारणा छ।
"फेरि पानी पर्यो भने पाकिसकेको धानमा असर पर्छ। कतिपय धानको बाला उम्रिन सक्छन् भने कतिपय ढलेर नोक्सानी हुन सक्छन्। त्यसले उत्पादन घटाउन सक्छ," मधेश कृषि विश्वविद्यालयका ठाकुरले भने।
त्यसैले पनि कृषि मन्त्रालयको ध्यान यतिबेला मौसमी पूर्वसूचना प्रणालीको सुधारमा रहेको अधिकारीहरू बताउँछन्।
"अहिले पानी परे पनि धान काट्ने बेला पानी नपर्ने आशा गर्न सकिन्छ तर मौसमी स्थितिहरू अप्रत्यासित देखिन्छन्," कृषि मन्त्रालयका प्रवक्ता महेश्वर ढकालले भने, "त्यसैले पूर्वसूचना प्रणालीलाई बलियो बनाएर किसानसम्म कसरी पुर्याउन सकिएला भन्ने योजनामा छौँ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



















