यूकेमा शरणार्थी भएर स्थायी बसोबासको अनुमति पाउन २० वर्ष पर्खनुपर्ने नयाँ नियम आउँदै

तस्बिर स्रोत, PA Media
- Author, इयान एकमन
यूकेमा शरण पाएका मानिसहरूले स्थायी आवास अनुमति पत्रको प्रक्रियामा दर्ता हुन २० वर्ष पर्खनुपर्ने गृहमन्त्री शबाना महमूदले सोमवार घोषणा गर्न लागेको योजनामा रहेको बताइएको छ।
सरकारले साना डुङ्गामा यूके पुग्न खोज्ने र शरण दाबी गर्नेहरूको सङ्ख्या कम गर्न खोजिरहँदा शरणसम्बन्धी नीतिमा त्यस्तो मुख्य फेरबदल हुन लागेको हो।
ती योजना अन्तर्गत मानिसहरूलाई यूकेमा अस्थायी रूपमा बस्न पाउनेगरी मात्र शरण दिइनेछ।
जसक्रममा उनीहरूको शरणार्थी हैसियतलाई नियमित रूपमा समीक्षा गरिनेछ र आएको देश सुरक्षित महसुस हुँदा फर्कन भनिनेछ।
हाल शरणार्थी हैसियत पाँच वर्षका लागि लागु हुन्छ। त्यसपछि मानिसहरू अनन्त रूपमा बस्नका लागि आवेदन दिन पाउँछन्।
योजना
हाल गृहमन्त्रीले प्रारम्भिक अवधिलाई पाँच वर्षबाट घटाएर साढे दुई वर्ष बनाउन चाहेकी छन्। त्यसपछि उक्त हैसियत नियमित रूपमा समीक्षा हुनेछ।
तर स्थायी आवास अनुमतिपत्र प्राप्त गर्ने अवधि भने उल्लेख्य रूपमा बढाउँदै पाँच वर्षबाट २० वर्ष पुर्याउने उनको योजना छ।
महमूदले द सन्डे टाइम्ससँग बोल्दै ती सुधारहरू "खासगरी मानिसहरूलाई अवैध आप्रवासीको रूपमा यस देशमा नआउनुहोस्, डुङ्गा चढेर नजानुहोस् भनेर डिजाइन गरिएको" बताइन्।
उनले थपिन्: "गैरकानुनी आप्रवासनले हाम्रो देशलाई विभाजित गरिरहेको छ।" जसक्रममा "हाम्रो देशलाई एकताबद्ध पार्ने" सरकारको काम रहेको उनले बताइन्।
"यदि हामीले यो सुल्झाएनौँ भने मलाई लाग्छ हाम्रो देश थप विभाजित हुनेछ," उनले उक्त पत्रिकासँग भनिन्।
डेनमार्कको अनुसरण
उक्त नीति डेनमार्कबाट अनुसरण गरिएको हो।
त्यहाँ मध्यवामपन्थी सोसल डेमोक्र्याट्सहरूले नेतृत्व गरेको सरकारले युरोपकै कडा शरण र आप्रवासन प्रणाली लागु गरेको छ।
डेनमार्कमा शरणार्थीहरूलाई अस्थायी आवासीय अनुमति दिइन्छ। त्यो सामान्यतः दुई वर्षको हुन्छ र त्यसको म्याद सकिएपछि त्यसको पुनः आवेदन दिनुपर्छ।
यूकेमा महमूदको नयाँ योजनाको केही सत्तारुढ लेबर सांसदहरूबाटै विरोध हुने प्रस्ट छ।
लिबरल डेमोक्र्याट गृह प्रवक्ता म्याक्स विल्किन्सन भन्छन्: "सरकारले कन्जरभेटिभहरूले सिर्जना गरेको अव्यवस्थित शरण प्रणालीलाई ठिक गर्न नयाँ तरिकाहरू खोजिरहेको छ भन्ने कुरा सही छ।"
रिफ्युजी काउन्सिलका प्रमुख कार्यकारी इन्भेर सोलोमनले यूके सरकारको उक्त योजनालाई "चर्को र अनावश्यक" भन्दै उनीहरूले "क्रूर युद्धमा सताइएका, यातना पाएका वा परिवारका सदस्यहरूलाई मारिएको देखेका मानिसहरूलाई रोक्न सक्दैनन्" भनेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








