यूकेले दियो प्यालेस्टाइनलाई औपचारिक मान्यता

तस्बिर स्रोत, PA Media
- Author, ह्यारी फार्ले र जेसिका रन्सले
यूकेका प्रधानमन्त्री सर किअर स्टार्मरले यूकेद्वारा प्यालेस्टाइनलाई राज्यको मान्यता दिएको घोषणा गरेका छन्। यसलाई सरकारको नीतिमा आएको महत्त्वपूर्ण परिवर्तनका रूपमा हेरिएको छ।
सामाजिक सञ्जाल 'एक्स'मा पोस्ट गरिएको एउटा भिडिओ वक्तव्यमा उनले भनेका छन्, "मध्यपूर्वको बढ्दो भयावह अवस्थामा हामी शान्ति र दुई-राज्य समाधानको सम्भावनालाई जीवित राख्न काम गरिरहेका छौँ।"
अस्ट्रेलिया, क्यानडा र पोर्चुगलले पनि प्यालेस्टाइनलाई राज्यका रूपमा औपचारिक मान्यता दिइएको घोषणा गरेका छन्, फ्रान्सले पनि त्यसो गर्ने ठानिएको छ।
इजरेली सरकार, गाजामा बन्धक बनाइएका मानिसका परिवार र केही कन्जर्भेटिभहरूले उक्त निर्णयको कडा आलोचना गरेका छन्। यसबारे टिप्पणी गर्दै आइतवार इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले प्यालेस्टिनी राज्य "नबन्ने" बताएका थिए।
इजरेली प्रधानमन्त्री बेन्जमिन नेतान्याहुले यसअघि यस्तो कदमले "आतङ्कवादलाई पुरस्कृत गर्ने" बताएका थिए।
इजरेली र अमेरिकी सरकार दुवैले त्यस्तो मान्यता हमासका निम्ति कूटनीतिक उपहार हुने बताएका छन्। सन् २०२३ को अक्टोबर ७ मा दक्षिणी इजरेललमा हमासले गरेको आक्रमणमा बाह्र सय जना मारिनुका साथै २५१ जना बन्धक बनाइएका थिए।
तर स्टार्मरले उक्त निर्णय "हमासका निम्ति पुरस्कार नभएको"मा जोड दिँदै त्यसको अर्थ हमासको "कुनै भविष्य नहुने, सरकार र सुरक्षामा कुनै भूमिका नहुने" भएको बताएका छन्।
"दुई-राज्य समाधानका निम्ति हाम्रो आह्वान हमासको यहुदीप्रतिको उसको दृष्टिकोणको बिल्कुल विपरीत छ," उनले भने।
उक्त कदमलाई "प्यालेस्टिनी र इजरेली जनताको भविष्य उत्तम हुन सक्नेतर्फको सङ्कल्प" भन्दै उनले अगाडि "(गाजाको) भोकमरी र बर्बादी पूर्ण असह्य भएको" र "मृत्यु र ध्वंशले सबैलाई तर्साएको" बताए।
प्यालेस्टिनी निकायका प्रमुख महमुद अब्बासले उक्त निर्णयको स्वागत गरेका छन्। उनले उक्त निर्णयले "प्यालेस्टिनी राज्यलाई सुरक्षा, शान्ति र राम्रो छिमेकी सम्बन्धका साथ इजरेल सँगसँगै चल्न बाटो खोल्ने" बताएका छन्।
दुई-राज्य समाधानले वेस्ट ब्याङ्क र गाजा स्ट्रीपमा प्यालेस्टाइन राज्यको निर्माणलाई जनाउँछ जसको राजधानी पूर्वी जेरुसेलम हो र यो लगभग सन् १९६७ को अरब-इजरेली युद्ध पहिलेको स्थिति अनुरूपको हो।
इजरेलले हाल वेस्ट ब्याङ्क र गाजा दुवैमा कब्जा गरेको छ जसको अर्थ प्यालेस्टाइन अथरिटी आफ्नो भूमि वा जनताको पूर्ण नियन्त्रणमा छैन।
प्यालेस्टाइनलाई हाल संयुक्त राष्ट्रसङ्घका १९३ सदस्य राष्ट्रमध्ये करिब ७५ प्रतिशतले मान्यता दिएका छन् तर यसको सीमामा, पुँजीमा र सेनामा कुनै अन्तर्राष्ट्रिय सहमति भएको छैन। त्यसैले यो मान्यता धेरै हदसम्म प्रतीकात्मक हो।
इजरेली सेनाले सन् २०२३ को अक्टोबर ७ तारिखमा दक्षिणी इजरेलमा हमासको नेतृत्वमा भएको आक्रमणको जवाफमा गाजामा हमला थालेको थियो। हमासको आक्रमणमा लगभग १,२०० मानिसहरू मारिए र २५१ जनालाई बन्धक बनाइएको थियो।
हमासको स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजरेली आक्रमणमा परी कम्तीमा ६४ हजार ९६४ जनाको मृत्यु भइसकेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








