विश्वकपमा इङ्ग्ल्याण्डको पहिलो खेल, इरानका कप्तानलाई देशको राजनीतिबारे चिन्ता

कतार विश्वकप

तस्बिर स्रोत, PA

कतार विश्वकपको उदघाटनको भोलिपल्ट सोमवार तीनवटा खेल हुँदैछन् जसमा वेल्सले ६० वर्षपश्चात् पहिलो पटक विश्वकप प्रतियोगिता खेल्दैछ।

राति १२.४५ बजे वेल्सले संयुक्त राज्य अमेरिकासँग खेल्दैछ।

त्यसअघि राति ९.४५ बजे सेनेगल र नेदर्ल्याण्ड्सबिच खेल हुँदैछ।

इङ्ग्ल्याण्डको भेट इरानसँग

साँझ ६.४५ बजे इङ्ग्ल्याण्डले इरानविरुद्ध खेल्दैछ।

इरानको फुटबल टोलीका कप्तानले उनको देशमा भइरहेका प्रदर्शनहरूमा गरिएका दमनबारे चिन्ता प्रकट गरेका छन्।

अभियानकर्मीहरूले इङ्ग्ल्याण्डलाई पनि इरानीहरूसँग ऐक्यबद्धता प्रदर्शन गर्न आह्वान गरिरहेका छन्।

साथै कतारमा यौनिक अल्पसङ्ख्यक एलजीबिटी अधिकारको समर्थनमा पाखुरामा ब्याण्ड पहिरिने इङ्ग्ल्याण्डका कप्तान हेरि केनको कदमले उनलाई पहेँलो कार्ड दिलाउने हो की भनेर इङ्ग्ल्याण्डको टोली प्रस्ट हुन खोजिरहेको बताइएको छ।

यसअघि धेरै युरोपेली देशहरूले एलजीबिटी अधिकारको समर्थन गर्ने गरी त्यसरी ‘आर्म ब्याण्ड’ लगाउने योजना स्थगित गरेका छन्।

त्यस्ता ब्याण्ड प्रदर्शन गरेको खण्डमा पहेँलो कार्ड अथवा निलम्बन सम्म गर्न सकिने फिफाले चेतावनी दिएको थियो।