विश्वकप २०२२: कतारमा विश्वकप फुटबल सुरु, को बन्ला विजेता?

तस्बिर स्रोत, Getty Images
१२ वर्षदेखिका विभिन्न प्रश्न, आलोचना र अनुमानका माझ कतारमा आज आइतवारबाट विश्वकप फुटबल प्रतियोगिताको उद्घाटन सत्र आरम्भ भएको छ।
पहिलोपल्ट मध्यपूर्वको एक मुस्लिम देशमा हुन लागेको यो प्रतियोगिताको आयोजना विभिन्न विवादको छायामा परेको थियो। तर फुटबलको विश्व प्रशासकीय निकाय फिफाले यो प्रतियोगितामा सहभागी सबै ३२ वटा राष्ट्रलाई फुटबल खेलमा ध्यान केन्द्रित गर्न भनेको छ।
आयोजक कतार र एक्वडोरका बीच अल बेएत रङ्गशालामा भएको पहिलो खेलसँगै प्रतियोगिता सुरु भएको हो।
विवाद के के?
सन् २०२१ को फेब्रुअरी महिनामा गार्डिअन पत्रिकाले कतारले विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्ने निर्धारण भएयता त्यहाँ भारत, पाकिस्तान, नेपाल, बाङ्ग्लादेश र श्रीलङ्का गरी ६ हजार ५ सय आप्रवासी मजदुरहरूको ज्यान गएको समाचार प्रकाशन गरेको थियो
उक्त सङ्ख्या कतारमा अवस्थित ती सम्बन्धित देशका दूतावासहरूबाट प्राप्त भएको जनाइएको थियो। कतार सरकारले भने उक्त सङ्ख्या भ्रामक भएको बताउँदै मारिएका सबै मजदुरहरू विश्व कपसँग सम्बन्धित परियोजनामा सम्बद्ध नभएको जनाएको थियो।

तस्बिर स्रोत, Getty Images
कतारमा समलिङ्गी यौन गैर कानुनी भएको र देशमा कडा शरिया कानुन लागु रहेकाले खेलका एलजीबीटी समुदायका प्रशंसकहरूसँग कस्तो व्यवहार होला भन्ने आशंका पनि गरिएका थिए।
गत हप्तामात्रै सन् २०१० मा कतारलाई खेल आयोजनाको अवसर दिने घोषणा गरेका फिफाका तत्कालीन अध्यक्ष सेप ब्लाटरले त्यो निर्णय “गल्ती” भएको बताएका थिए।
खेल आयोजना हुने एकदिन अगाडि बोल्दै फिफाका वर्तमान अध्यक्ष जिआनी इन्फान्टिनोले कतार र प्रतियोगिताको बचाउ गर्दै पश्चिमा जगतलाई कतारको मानवअधिकार रेकर्डका बारेमा गरिएको रिपोर्टीङ्गलाई लिएर “दोहोरो चरित्र” को आरोप लगाएका थिए।
विश्वकप विजेता को बन्लाः विभिन्न अनुमान
ब्रजिलले सन् २००२ देखि यता विश्वकप जितेको छैन र उ विश्वकपको ट्रफी नउचाल्ने अन्तिम गैरयुरोपेली टोली हो।
खेल सम्बन्धी तथ्याङ्क विश्लेषण गर्ने एक संस्था ओप्टाले गरेको भविष्यवाणी अनुसार ब्रजिलका प्रशिक्षक टिटीको टोलीले छैठौँ पटक ट्रफी उचालेर रेकर्ड बनाउन सक्ने जनाएको छ।
तर लिओनेल स्कालोनीको आर्जेन्टिना तेस्रो पटक च्याम्पिअन बन्ने दोस्रो ठूलो सम्भावना रहेको बताइएको छ।
बीबीसी स्पोर्टका खेल पण्डितहरू मध्ये आठजनाले ब्रजिलले जित्नसक्ने अनुमान गरेका छन् भने तीनजनाले आर्जेन्टिना भनेका छन्। दुईजना फ्रान्सले ट्रफी आफ्नै साथ राख्ने अनुमान गरेका छन् र एकजना इङ्ग्ल्याण्डको पक्षमा देखिएका छन्।
विश्वकपमा नदेखिने चर्चित खेलाडीहरू

तस्बिर स्रोत, BBC Sport
फ्रान्सका स्ट्राइकर करिम बेन्जेमा चोटका कारण प्रतियोगितामा सहभागी हुन सक्ने छैनन्। प्रशिक्षणका क्रममा तिघ्रामा चोट लागेका कारण उनी खेल्न नसक्ने जानकारी शनिवार सार्वजनिक भएको थियो।
सेनेगलका फर्वार्ड साडिओ मानेलाई पनि कतारमा खेल मैदानमा देखिने छैन। उनको घुँडाको शल्यक्रिया गरिएको छ।
विश्वकप खेल सुरु हुनु दशदिन अघि मात्र बायर्न म्युनिखका निम्ति खेलेको खेलमा उनलाई चोट लागेको थियो।
चोटका कारण नै प्रतियोगितामा सामेल हुन नसकेका अन्य खेलाडीमा फ्रान्सका पल पोग्बा, जर्मनीका टिमो वेर्नर, इङ्ग्ल्याण्डका रीस जेम्स, पोर्चुगलका डिओगो जोटा र आर्जेन्टिनाका गिओभानी लो चेल्सो छन्।
म्यान्चेस्टर सिटिका स्ट्राइकर एर्लिङ हालाण्ड र लिभरपुलका मोहमद सालाह दुई त्यस्ता ठूलो नाम भएका खेलाडी हुन् जो तिनीहरूको देश विश्वकपमा छनौट हुन नसकेका कारण प्रतियोगितामा सहभागी हुन सकेनन्।








