दोस्रो स्टक एक्सचेन्ज: लगानीकर्ताले जान्नै पर्ने कुरा

तस्बिर स्रोत, Getty Images
नेपालमा हालसम्म एकमात्र धितोपत्र विनिमय बजारका रूपमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) सञ्चालनमा छ।
त्यसको अतिरिक्त थप एउटा स्टक एक्सचेन्ज खोल्न धितोपत्र बजारको नियामक निकायले गरेको आह्वानमा तीनवटा आवेदन परेको उसले जनाएको छ।
हिमालय स्टक एक्सचेन्ज, न्याशनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जका नाममा परेका आवेदनमध्ये एउटा चयन हुनेछ।
कतिपयले झन्डै १४ लाख लगानीकर्ता रहेको र पुगनपुग ५० खर्ब रुपैयाँको कुल गार्हस्थ उत्पादन भएको मुलुकको अर्थतन्त्रको आकारका आधारमा धेरै स्टक एक्सचेन्ज आवश्यक नपर्ने बताउने गर्छन् भने कतिपयले चाहिँ प्रतिस्पर्धा अनि धेरै विकल्प रोज्न अवसर सिर्जनाका निम्ति आवश्यक पर्ने बताउँछन्।
तर थप एउटा स्टक एक्सचेन्ज आउने सन्दर्भमा अब पुरानो एक्सचेन्ज के हुन्छ अनि त्यसमा सूचीकृत कम्पनी अर्कोमा पनि हुन्छ कि हुँदैन जस्ता विभिन्न प्रश्नहरू मानिसहरूको मनमा खेलिरहेका छन्।
यसै सन्दर्भमा हामीले नियामक निकाय सेबोनका अध्यक्ष रमेशकुमार हमालसँग कुरा गरेर नयाँ एक्सचेन्जबारे उब्जिएका केही प्रश्नहरूको जबाफ खोजेका छौँ।

तस्बिर स्रोत, Ramesh Hamal
किन आवश्यक पर्यो अर्को स्टक एक्सचेन्ज?
देशमा छरिएर रहेको पूँजीलाई एकत्रित गरेर जनताकै स्वामित्व हुने गरि कम्पनीहरूको निर्माण वा सञ्चालन गराउन स्टक एक्सचेन्ज भरपर्दा माध्यम हुन्।
अहिले नेपालमा सरकारी बहुमत स्वामित्वको नेप्से एकमात्र स्टक एक्सचेन्ज रहेको छ।
प्रतिस्पर्धाको आधारमा जनताको पूँजीको थप प्रभावकारी परिचालन गर्न सघाएर दोस्रो स्टक एक्सचेन्जले नेपालको पूँजी बजार विस्तारमा फड्को मार्न मद्दत गर्ने अपेक्षा छ।
अहिले नेप्सेले सीमित प्रकृतिका धितोपत्रमात्र कारोबार गरेकोमा नयाँले अचेल विश्वमा चलेका डेरिभेटिभ, फ्युचर्स जस्ता अन्य किसिमका धितोपत्र उपकरण निष्काशन गर्नसक्छ। साथै, ऋणपत्र बन्डका हकमा दोस्रो बजारमा कारोबार चलायमान हुनसक्छ।
खासगरी पूर्वाधार विकासमा दीर्घकालीन स्वरूपका निजी क्षेत्रका ऋणपत्रमार्फत् लगानी परिचालन प्रभावकारी हुनसक्छ र निश्चित् ब्याज दिइने त्यस्ता ऋणपत्र दोस्रो बजारमा पनि किनबेच गर्न सकिन्छ।
दुईवटै एक्सचेन्जमा एकै कम्पनी हुन्छन् कि छुट्टाछुट्टै?
हुन पनि सक्छन्। एकै कम्पनीले दुवैतिर सूचीकृत हुन पनि पाउँछन्। वा एउटा कुनैमा मात्र बस्न पनि पाउँछन्।
प्रतिस्पर्धाका आधारमा जुन एक्सचेन्जले पारदर्शिता, जबाफदेहीता वा कम लागतका साथ राम्रो व्यवस्थापन दिन सक्छन् त्यतैपट्टि कम्पनीहरू आकर्षित हुने अवसर सिर्जना हुनसक्छ।

तस्बिर स्रोत, Getty Images
लगानीकर्तालाई के फरक पर्छ? केमा ध्यान दिनुपर्छ?
चाहे एउटा एक्सचेन्ज होस् वा दुईवटा लगानीकर्ताले लगानी गर्दा ती कम्पनीको वित्तीय विश्लेषण र जानकारी राखेर अनि बुझेर गर्नुपर्छ।
आफूले लगानी गर्न खोजेको कम्पनीको आम्दानी सुनिश्चितता, नाफा गर्नसक्ने हैसियत, सञ्चालकहरू कस्ता छन् अनि प्रतिस्पर्धा कस्तो छ भन्ने जस्ता प्रश्नहरूको लेखाजोखा गरेरमात्र लगानी गर्नुपर्छ।
दुईवटा एक्सचेन्ज हुँदा धेरै विकल्पहरू खुला हुने र दीर्घकालमा ब्रोकरेज शुल्कजस्ता लागत घट्ने सम्भावना बढ्छ।
डिम्याट खाता अर्को चाहिन्छ?
चाहिँदैन। अहिलेकै डिम्याट खाताबाट दुवैतिर लगानी गर्न सकिन्छ।
नयाँ कार्याविधि बनाउनु पर्ने हुन्छ। तर आधारभूत कुराहरू उही रहन्छन्।

तस्बिर स्रोत, Getty Images
ब्रोकरहरू छुट्टाछुट्टै हुन्छन्?
जुन एक्सचेन्जमा कारोबार गर्ने हो त्यसमा ब्रोकरहरूले दर्ता गर्नुपर्छ।
दुवैमा दर्ता गरेर काम गर्न पनि पाइन्छ।
एउटामा मात्र कारोबार गर्छु भने पनि पाइन्छ।
तर अधिकांशको हकमा एउटामा मात्र ब्रोकर बन्छु भन्नु तर्कसङ्गत नहुनसक्ने हुनाले दुवैमा दर्ता हुने सम्भावना हुन्छ।
बजार विस्तार हुन्छ कि हुँदैन?
अहिले नेप्सेमा कुल बजार पूँजीकरण २७ खर्ब रुपैयाँभन्दा बढी छ। त्यसमा जम्माजम्मी अढाइ सय कम्पनीमात्र सूचीकृत छन्।
जबकी ठूला करदाता कार्यालयमा दर्ता भएका नै यहाँ १२ सय कम्पनी छन्।
ती ठूला कम्पनीलाई एक्सचेन्जमा सूचीकृत हुन आकर्षित पार्न सके पारदर्शिता बढ्छ र समग्र लेखा प्रणालीमा सुधार हुन्छ।
बलिया र स्थापित कम्पनी सूचीकृत हुँदा जनताको स्वामित्व धेरैभन्दा धेरै कम्पनीमा फैलन्छ।
कहिले स्थापना हुन्छ दोस्रो स्टक एक्सचेन्ज?
दोस्रो स्टक एक्सचेन्ज स्थापना गर्न ३ वटा निवेदन परेका छन्।
ती निवेदनलाई (धितोपत्र बोर्ड) सञ्चालक समितिले खोलेर अध्ययन गर्नेछ।
प्राविधिक तथा वित्तीय रूपमा दस्तावेजहरू कति जटिल छन् भन्ने पनि समितिले हेर्नेछ।
करिब १ महिनामा टुङ्गो लाग्ने बोर्डको अपेक्षा छ।








