एशिया कपमा भारतसँग नेपाल पराजित

भारत र नेपालको खेल

तस्बिर स्रोत, ACC

    • Author, निरञ्जन राजवंशी
    • Role, काठमाण्डू

तारिफयोग्य प्रदर्शनका बाबजुद भारतसँग पराजित भएपछि एशिया कप क्रिकेटको यो संस्करणमा नेपालको यात्रा समूह चरणबाटै टुङ्गिएको छ।

सत्ताइस वर्षको पर्खाइपछि छिमेकी भारतसँग खेल्ने अवसर पाएको नेपाल १० विकेटले पराजित भएको छ।

नेपालले ४८.२ ओभर खेलेर भारतलाई २३१ रनको लक्ष्य दिएको थियो।

तर वर्षाले खेल प्रभावित भएपछि डीएलएस पद्दतीबाट खेल २३ ओभरमा छोट्ट्याएर भारतलाई १४५ रनको नयाँ लक्ष्य दिइएको थियो।

भारतले नयाँ लक्ष्य २०.१ ओभरमा विना विकेटको क्षतिमा पूरा गर्‍यो।

सोमवार श्रीलङ्काको पल्लेकेले रङ्गशालामा भएको खेल वर्षाका कारण बारम्बार रोकिएको थियो।

पहिलो इनिङ्समा पनि ३८औँ ओभरपछि वर्षाले केही बेर खेल प्रभावित भयो।

दोस्रो इनिङ्समा भारतले जवाफी ब्याटिङ सुरू गरे लगत्तै २.१ ओभरपछि वर्षाले खेल लामो समय रोकियो।

डेढ घण्टापछि वर्षा कम भएसँगै अम्पायरहरूले डीएलएस पद्दतीबाट खेल छोट्ट्याउने निर्णय लिए।

नेपालले भारतसँगको खेलमा सुधारिएको ब्याटिङ गरेको थियो।

उद्घाटन खेलमा पाकिस्तानसँग पराजित भएको नेपाल समूह ए मा अन्तिम स्थानमा रहन पुग्यो।

भारतको ब्याटिङ अन्दाज

कप्तान रोहित शर्मा र शुभमन गिलले आफ्नै शैलीमा शानदार ब्याटिङ गर्दै नेपाल विरुद्ध सहज जित निकाल्यो।

१४५ रनको लक्ष्य पूरा गर्न आएको छिमेकी टोली विरुद्ध नेपाली बलरहरू प्रभावकारी देखिएनन्।

भारतका अनुभवी जोडीले नेपालका तेज गति र स्पिन बलरहरूलाई सहजै छक्का चौका बर्षाएका थिए।

कप्तान रोहितले आरामदायी ब्याटिङ गर्दै अविजित ७४ रनको अर्धशतकीय पारी खेले भने आक्रामक शुभमन गिलले अविजित ६७ रन बनाए।

नेपाली टोलीको हेर्न लायकको बलिङ पहिलो ओभरमा करण केसीले गरेका थिए। पहिलो बलमा कप्तान रोहित इनसाइड एज बाट जोगिएका थिए भने अर्को दुई बल 'विट्" भएर बल उनको प्याडमा लागेको थियो।

जसमध्ये एकमा करणले डीआरएसको असफल अपिल गरेका थिए।

नेपालले विकेट लिने एक मात्र अवसर पाएको थियो। सन्दीप लामिछानेको बलमा लामो छक्का प्रहार गर्ने क्रममा रोहितको बल लङ अनमा गुलशन झा को हातबाट छुटेको थियो।

नेपालको प्रभावशाली ब्याटिङ

कुशल भुर्तेल

तस्बिर स्रोत, ACC

भारतीय कप्तान रोहित शर्माले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएपछि नेपाली टोली भारतीय बलिङको सामना गर्न मैदानमा उत्रिएको थियो।

तीव्र गतिका बलरद्वय मोहम्मद सामी र मोहम्मद सिराजको चुनौती नेपाली खेलाडीहरूले कसरी सामना गर्लान् भन्ने चासो थियो।

पहिलो दुई ओभरमा भारतीय बलरहरूले प्रभाव जमाउन कोसिस गरेका थिए।

सुरुआतमा नै भारतीय बलरहरूले नेपालका ओपनरहरूलाई दवाबमा राखे। तर भारतीय फिल्डरहरूले कुशल भुर्तेलको दुई पटक र आशिफ शेखको एक पटक क्याच छुटाएपछि उनीहरूले जीवनदान पाए।

पहिलो ओभरमा मोहम्मद सामीको बलमा श्रेयस ऐयरले कुशलको स्लिपमा क्याच छोडेका थिए।

दोस्रो ओभरको पहिलो बलमा आशिफ शेखले अर्को जीवनदान पाए। यो बेला मोहम्मद सिराजको बलमा विराट कोहलीले सजिलो क्याच छोड्न पुगेका थिए।

त्यसको बदला स्वरूप आशिफले ३.१ ओभरमा सिराजलाई पहिलो चौका प्रहार गरेर नेपाली टोली नर्भस नभएको र आत्मविश्वासले भरिएको सङ्केत दिएका थिए।

पुनः ४.२ ओभरमा कुशल भुर्तेलले अर्को जीवनदान पाए। मोहम्मद सामीको बलमा एज लागेको बेला विकेट किपर इशान किशनले समाउन सकेनन् र बल चौकामा परिणत हुन पुग्यो।

नेपालका लागि ५.३ ओभरमा कुशल भुर्तेलले खेलको पहिलो छक्का प्रहार गरे। मोहम्मद सिराज विरुद्ध हानेको सो बल मैदानभन्दा निकै टाढा पुगेको थियो।

दुई डीआरएस

नेपाल र भारतको क्रिकेट

तस्बिर स्रोत, ACC

नेपालले पहिलो पटक डीआरएस प्रणाली (अम्पायरको निर्णय विरुद्ध चुनौती दिने प्रणाली) मा क्रिकेट खेलिरहेको थियो।

यो सुविधाको नेपाली टोलीले भरपुर प्रयोग गरेको देखियो।

हार्दिक पाण्ड्याको बलमा ८.१ ओभरमा कुशल भुर्तेललाई एलबीडब्ल्यू आउट दिइएको थियो। तर कुशलले डीआरएस अपिल गरेर आफूलाई जोगाए। त्यसको अर्को बलमा उनले चौका प्रहार गरिदिए।

फेरी १८.५ ओभरमा आशिफ शेख पनि एलबीडब्ल्यू आउटको सिकार भए। तर यसपालि पनि आशिफ डीआरएस प्रणालीबाट अपिल गर्दै जोगिए।

१०औँ ओभरमा पहिलो विकेट

भिडिओ क्याप्शन सुरु हुँदैछ, खेल अगाडि नेपाली क्रिकेट प्रशंसकको यस्तो थियो चाहना

नेपालका ‌ओपनर कुशल भुर्तेल ९.५ ओभरमा आउट हुन पुगे। शार्दूल ठाकुरको बलमा 'एज' लागेपछि इशान किशनले उनको सहज क्याच लिएका थिए।

पहिलो विकेटका लागि कुशल र आशिफले ६५ रनको शानदार साझेदारी गरेका थिए।

भारत विरुद्ध सोचे भन्दा उत्कृष्ट सुरुआत गरेपछि टेलिभिजनमा कमेन्ट्री गरिरहेका कमेन्टेटरले नेपाली ब्याटिङको खुलेर प्रशंसा गरिरहेका थिए।

अर्कोतर्फ भारतको बलिङलाई सामान्य भन्दै फिल्डिङको आलोचना गरेका थिए।

नेपालले २१.३ ओभरमा एक सय रन पूरा गर्‍यो।

पाकिस्तान विरुद्धको अघिल्लो खेलमा नेपाल २४ ओभरमा १०४ रनमा आउट भइसकेको थियो।

आशिफ शेखको अर्धशतक

आशिफ शेख

तस्बिर स्रोत, ACC

नेपाली ओपनर आशिफ शेखले भारत विरुद्धको पहिलो खेलमा अर्धशतक पूरा गरे।

निकै संयमित बनेर खेल सम्हालिरहेका उनले ८८ बल खेलेर अर्धशतक पूरा गरेका हुन्।

यो उनको १० औँ एकदिवसीय अर्धशतक हो।

उनले ११ रनमा खेलिरहँदा विराट कोहलीबाट जीवनदान पाएका थिए।

त्यस बेला टिभी कमेन्टेटरले रमाइलो शैलीमा भनेका थिए - "आशिफले विराटलाई पनि धन्यवाद दिनुपर्छ। "

आशिफ २९.५ ओभरमा ५८ रन बनाएर आउट भए। कुल ९७ बल खेल्ने क्रममा ८ चौका हानेका उनी मोहम्मद सिराजको बलमा 'टप एज' लागेपछि विराट कोहलीबाट सजिलै क्याच हुन पुगेका थिए।

जडेजाको सिकार

भारत-पाकिस्तानबीचको खेल हेर्दै नेपाली टोली

तस्बिर स्रोत, CAN

तस्बिरको क्याप्शन, भारत-पाकिस्तानबीचको खेल हेर्दै नेपाली टोली

मध्यक्रमका तीन खेलाडी भने रवीन्द्र जडेजाको सिकार हुन पुगे।

तेस्रो नम्बरमा आएका भीम सार्की (७ रन )इन साइड एज लागेर बोल्ड हुन पुगे।

१९.३ ओभरमा कप्तान रोहित पौडेल ८ बलमा ५ रन बनाएर आउट भए। जडेजाको बल प्रहार गर्ने क्रममा उनलाई भारतीय कप्तान रोहित शर्माले स्लिपमा सुन्दर क्याच लिएका थिए।

युवा कुशल मल्ल पनि २ रन मात्रै जोडेर सस्तैमा आउट भए। जडेजाको बलमा सट हान्न खोज्दा सिराजको हातमा सहज बल पुगेको थियो।

गुलशन झाले पनि प्रभावशाली प्रदर्शन गरेका हुन्। कुल २३ रन जोडेर आउट भएका उनले ३ चौका प्रहार गरेका थिए।

दीपेन्द्र-सोमपालको कमाल

दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले सातौँ विकेटका लागि बनाएको ५० रनको साझेदारी नेपाली इनिङ्स बढाउन थप महत्त्वपूर्ण साबित भयो।

३२ ओभरमा १४४ - ६ बाट इनिङ्स थालेको यो जोडीले नेपाललाई दुई सय रन स्कोरमा पुर्‍याएको हो।

अघिल्लो खेलमा पाकिस्तान विरुद्ध चार नम्बरमा ल्याइएका सोमपाललाई सोमवार आठ नम्बरमा ल्याइनुको रणनीतिलाई उनले सफल बनाइदिए।

यी जोडीले १० ओभरसम्म स्कोर बढाउने काम गरेका थिए। दीपेन्द्र २९ रन बनाएर हार्दिक पाण्ड्याबाट एलबीडब्ल्यूको सिकार बन्न पुगे।

नेपालले उक्त एलबीडब्ल्यूमा पनि डीआरएस अपिल गरेको थियो। तर यसपालि भने पाण्ड्याको बलले 'मिडल स्टम्प' उडाइदिएकोले उनी बच्न सकेनन्। दीपेन्द्रले ३ चौका प्रहार गरेका थिए।

त्यसपछि इनिङ्स सम्हालेका सोमपाल विपक्षी माथि हाबी देखिएका थिए। एक चौका र दुई विशाल छक्का प्रहार गरेर आक्रामक खेलिरहेका उनी अर्धशतक बनाउनै लाग्दा मोहम्मद सामीको बलमा एज लागेपछि विकेट किपर इशानबाट समातिन पुगे।

४८ रन बनाएका उनी अर्धशतक बनाउन बाट चुके।

सोमपाल बाहिरिएसँगै नेपाली इनिङ्स चाँडै नै समाप्त हुन पुग्यो र नेपालले पूरा ५० ओभर खेल्न सकेन।

सन्दीप लामिछाने नौ रन बनाएर आउट भए। नवौँ खेलाडीका रूपमा आएका हिटर करण केसीले भने दुई बल मात्र खेल्न पाए। अर्को इन्डमा आएका अन्तिम खेलाडी ललितनारायण राजवंशीलाई मोहम्मद सामीले बोल्ड गरेपछि नेपालको इनिङ्स ४८.२ ओभरमा समाप्त हुन पुग्यो।

दुर्लभ भेट

भूगोलका हिसाबले नजिकै भए तापनि क्रिकेटको हकमा भारत र नेपालबीच त्यस्तो सामीप्य कहिल्यै रहेन। यी दुई देशबीच न प्रतिस्पर्धा भयो न त क्रिकेट विकासको विषयमा विशेष सहयकार्य नै।

दुई महिनाअघि श्रीलङ्कामा नै नेपालले भारत 'ए'सँग खेलेको थियो।

इमर्जिङ टीम कप्सको त्यो भेटमा इन्डियन प्रिमिअर लीग आईपीएलका खेलाडीहरूको बाहुल्य रहेको भारतीय टोलीसँग नेपाल नौ विकेटले पराजित भएको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, एशिया कपमा नेपालले भारतसँगको प्रतिस्पर्धाको तयारी कसरी गर्नुपर्थ्यो?

तर सन् २०१७ मा १९ वर्ष उमेर समूहको प्रतियोगितामा भएको नेपाल भारतको भेट भने अहिलेसम्मको लागि नेपालको अविस्मरणीय प्रतिस्पर्धा रह्यो।

उक्त खेलमा नेपालले भारतलाई जुनकुनै प्रकारको प्रतिस्पर्धामा पहिलो पटक हराएको थियो।

सोमवार यी दुई देशका राष्ट्रिय टोलीबीच पहिलो पटक खेल भएको हो।

नेपालको आईसीसीको पूर्ण सदस्य राष्ट्रसँग यो पाँचौँ भेट हो।

भारत-११

रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयश ऐयर, ईशान किशन, हार्दिक पान्ड्या, रवीन्द्र जडेजा, शार्दूल ठाकुर, कुलदीप यादव, मोहम्मद शमी वा प्रसिद्ध कृष्ण, मोहम्मद सिराज

नेपाल-११

कुशल भुर्तेल, आशिफ शेख, रोहित पौडेल, भीम सार्की, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, कुशल मल्ल, करण केसी, सन्दीप लामिछाने, ललित नारायण राजवंशी

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।