पाकिस्तान छिरेर भारतीय गुप्तचरले दुई जनाको हत्या गरेको आरोप भारतद्वारा खण्डन

पाकिस्तानी विदेश सचिव

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, पाकिस्तानी विदेशसचिव
    • Author, मेरिल सेबेस्टियन
    • Role, बीबीसी न्यूज, कोची

भारतीय गुप्तचरहरूले पाकिस्तानी भूमिमा प्रवेश गरी दुई पाकिस्तानी नागरिकको हत्या गरेको भन्ने इस्लामाबादले लगाएको आरोप "झुटो" भएको भन्दै भारतले खण्डन गरेको छ।

पाकिस्तानले बिहीवार गत वर्ष आफ्ना दुई नागरिकको हत्या भारतीय गुप्तचरहरूले गरेको आरोप लगाएको थियो।

क्यानडामा एक सिख पृथक्तावादी नेताको हत्यामा भारत संलग्न भएको आरोप क्यानडाले लगाएको केही महिनापछि पाकिस्तानले पनि उस्तै प्रकृतिको आरोप लगाएको हो।

क्यानडाको आरोपको पनि भारतले खण्डन गरेको थियो।

‘विश्वसनीय प्रमाण’

बिहीवार इस्लामाबाले ती दुई व्यक्तिको हत्यामा भारतीय एजेन्टहरूको सम्बन्ध देखिने “विश्वसनीय प्रमाण” आफूसँग भएको बताएको थियो।

भारतको विदेश मन्त्रालयले उक्त दाबीलाई “द्वेष फैलाउने खालको भारतविरोधी प्रचारबाजी” भनेको छ।

पाकिस्तानी विदेश मन्त्रालयले बिहीवार पत्रकार सम्मेलनमा बताएअनुसार गत सेप्टेम्बरमा रावलकोट सहरमा मुहम्मद रियाज र अक्टोबरमा सियालकोट सहरमा शाहिद लतिफको हत्या भएको थियो।

ती हत्यामा भारतीय गुप्तचरको संलग्नता रहेको उसको आरोप छ।

एक जनाको मस्जिदमा नमाज पढिरहेका बेला गोली हानी हत्या गरिएको थियो भने अर्का व्यक्तिको मस्जिदबाहिर भएको बेलामा हत्या भएको हो।

मारिनेहरू को हुन्?

पाकिस्तानको विदेश मन्त्रालयले ती व्यक्तिहरू को थिए भन्ने खुलाएको छैन।

उसले दिल्लीले पाकिस्तानी नागरिकको हत्या गर्न किन गुप्तचर पठायो भन्ने पनि बताएको छैन।

सन् २०१८ देखि बन्द रहेको भारत र पाकिस्तानका भूभाग जोड्ने कश्मीर क्षेत्रको पुलवारि र पारि दुई देशका झण्डा

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, सन् २०१८ देखि बन्द रहेको भारत र पाकिस्तानका भूभाग जोड्ने कश्मीर क्षेत्रको पुलवारि र पारि दुई देशका झण्डा

पाकिस्तानी विदेश सचिव मुहम्मद साइरस काजीले ती हत्यालाई "अस्वीकार्य" र "आफ्नो सार्वभौमसत्ताको उल्लङ्घन" भनेका छन्।

"हामीसँग यी हत्याका योजनाकार दुई भारतीय गुप्तचरहरूको संलग्नताबारे दस्तावेज, वित्तीय र फरेन्सिक प्रमाणहरू छन्," उनले भने।

"अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लङ्घनका लागि भारतलाई उत्तरदायी बनाउनुपर्छ।"

भारतले के भन्यो?

भारतले पाकिस्तानी आरोपहरूलाई प्रत्यक्ष रूपमा सम्बोधन नगरीकन उक्त देश "आतङ्कवाद, सङ्गठित अपराध र गैरकानुनी अन्तर्राष्ट्रिय गतिविधिहरूको केन्द्रबिन्दु" भएको आरोप लगाएको छ।

भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, "भारत र अन्य धेरै देशले सार्वजनिक रूपमा पाकिस्तानलाई आतङ्क र हिंसाको परम्पराले उसलाई नै नष्ट गर्ने चेतावनी दिएका छन्।"

पाकिस्तानी विदेशसचिवले पाकिस्तानमा भएका हत्याहरू पनि क्यानडामा भएको र अमेरिकामा गरिएको हत्याको प्रयासको जस्तै प्रकृतिका थिए भन्ने दाबी गरेका छन्।

यद्यपि क्यानडामा भएको हत्या र अमेरिकामा भएको हत्याको प्रयास सिख पृथक्तावादी नेताहरूसँग सम्बन्धित थिए। ती मुस्लिमसँग सम्बन्धित थिएनन्।

अमेरिकाको आरोप

गत नोभेम्बर महिनामा अमेरिकाले भारतमा सिखहरूको छुट्टै राज्य माग गर्ने खालिस्तान अभियानको वकालत गर्ने एक अमेरिकी नागरिकको हत्याका लागि एक भारतीय व्यक्तिले बनाएको योजना विफल पारिदिएको बताएको थियो।

अमेरिकाले हत्याको योजना बनाउने निखिल गुप्तालाई एक भारतीय सरकारी अधिकारीले निर्देशन दिएको बताएको थियो।

यद्यपि निर्देशन दिने भनिएका ती व्यक्तिको नाम अमेरिकाले बताएको थिएन भने उनीमाथि अभियोग पनि लगाइएको छैन।

ह्वाइट हाउसले हत्याको उक्त प्रयास र त्यसको षड्यन्त्रबारे भारतसँग उच्च तहमा कुरा उठाएको बताएको छ।

भारतले चाहिँ "अमेरिकी सरकारले उठाएको सुरक्षा चिन्तालाई सम्बोधन गर्न" एउटा उच्चस्तरीय छानबिन समिति गठन गरेको बताएको छ।

क्यानडामा हरदीप सिंह निज्जरको हत्यामा भारतीय संलग्नताको आरोप लागेको थियो। त्यसलाई भारतले खण्डन गर्दै आएको छ

तस्बिर स्रोत, SIKH PA

तस्बिरको क्याप्शन, क्यानडामा हरदीप सिंह निज्जरको हत्यामा भारतीय संलग्नताको आरोप लागेको थियो। त्यसलाई भारतले खण्डन गर्दै आएको छ

क्यानडाको आरोप

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले गत जुन महिनामा ब्रिटिश कोलम्बियामा एक सिख नेताको हत्यामा भारत सरकार जोडिएको "विश्वसनीय" प्रमाण रहेको बताएको केही महिनापछि उक्त समाचार आएको थियो।

भारतले भने क्यानडामा भएको हत्यामा पनि आफ्नो कुनै खालको भूमिका रहेको कुरालाई अस्वीकार गर्दै आएको छ। उक्त आरोपपछि दुई देशबीचको सम्बन्ध व्यापक रूपमा बिग्रिएको थियो।

सन् १९८० को दशकमा सिखबहुल पञ्जाब राज्यमा चलेको हिंसात्मक विद्रोहका बेला भारतमा खालिस्तान आन्दोलन निकै चर्केको थियो।

उक्त आन्दोलनलाई भारतले बल प्रयोग गरेर निस्तेज पारे पनि अझै क्यानडा, अस्ट्रेलिया र यूकेलगायतका देशहरूमा रहेका सिख मूलका मानिसबीच त्यो अभियान लोकप्रिय छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।