राष्ट्रपति, प्रधानमन्त्री र सुरक्षा प्रमुखहरू सहभागी बैठकमा कसले के भने

सुरक्षा प्रमुख सम्मिलित बैठक

तस्बिर स्रोत, PM Secretariat

आमनिर्वाचनका विभिन्न कोणबारे चर्चा भइरहँदा राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम प्रधानमन्त्री, मन्त्री तथा चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग शनिवार छलफल गरेका छन्।

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार शीतल निवासमा भएको छलफल मूलतः आमनिर्वाचन तथा शान्तिसुरक्षाको विषयमा केन्द्रित थियो।

विभिन्न क्षेत्रका केही व्यक्तिहरूसँग शनिवार नै भेटघाट गरेका राष्ट्रपतिले त्यसपछि प्रधानमन्त्री तथा सुरक्षा निकायका नेतृत्व पङ्क्तिसँग कुराकानी गरेका हुन्।

उक्त भेटघाटमा सहभागी एकजना विश्लेषकका अनुसार चुनावमा नजाने नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति राष्ट्रपति पौडेलले 'असन्तोष' व्यक्त गरे।

शुक्रवार नै सकिएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले सुशीला कार्की नेतृत्वकै सरकारले चुनाव गराउन नचाहेको दाबी गरेको थियो।

सरकारले फागुन २१ गतेका लागि प्रतिनिधिसभाको चुनाव तोकेको छ। चुनाव गर्ने जिम्मेवारीमा रहेको निर्वाचन आयोगले समेत दल दर्ता, मतदाता नामावली सङ्कलन लगायतका चुनावी गतिविधि थालिसकेको छ।

राष्ट्रपतिले प्रम, सुरक्षा प्रमुखलाई के भने?

पोखरेलका अनुसार राष्ट्रपति पौडेलले अन्तरिम प्रधानमन्त्री तथा सबै मन्त्रीहरूको सहभागिता रहेको बैठकमा सबै सुरक्षा निकायका प्रमुखलाई पनि बोलाएका थिए।

"बैठकमा राष्ट्रपतिज्यूले आमजनता र राजनीतिक दलहरू जसले भयरहित वातावरणमा निर्वाचन होओस् भनी चाहिरहेका छन्, उनीहरूलाई आवश्वस्त पार्नका लागि सरकार र सुरक्षा निकायलाई बोल्ड्ली [सशक्त रूपमा] प्रस्तुत हुनुहोस् भनेर निर्देशन दिनुभयो," पोखरेलले बीबीसी न्यूज नेपालीसँग भने।

बैठकमा अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले सुरक्षा निकायहरूलाई चाहिने स्रोतसाधनको सरकारले कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेको उनले बताए।

जेन जी आन्दोलनका क्रममा प्रहरीका थुप्रै हातहतियार लुटिएका र सुरक्षा पोस्टहरू जलाइएपछि उनीहरूको मनोबल खसेको बताइँदै आएका बेला प्रधानमन्त्रीको प्रतिबद्धता आएको हो।

"प्रधानमन्त्रीज्यूले सरकार सुरक्षा निकायले माग गरेका सम्पूर्ण साधनस्रोत दिन सरकार सक्षम छ, तयार छ र दिन पनि थालिसकेको छ भन्नुभयो। सबैलाई आश्वस्त पार्न सुरक्षा निकायका प्रमुखहरूलाई उहाँले पनि निर्देशन दिनुभयो।"

"सुरक्षा निकायलाई चाहिने आवश्यक सामग्रीको कुनै कमी नहुने वचनबद्धता प्रकट गर्नुभयो," पोखरेलले अगाडि थपे।

पोखरेलका अनुसार सुरक्षा निकायका प्रमुखहरूले भयरहित वातावरणमा आमनिर्वाचन सम्पन्न गराउन तयार रहेको बताएका थिए।

"उहाँहरूले योभन्दा पनि कठिन परिस्थितिमा निर्वाचन सम्पन्न भएका घटनाक्रमलाई स्मरण गर्दै शान्तिसुरक्षा प्रदान गरेर भयरहित वातावरणमा निर्वाचन गराउने कुरामा सुरक्षा निकाय सक्षम छन् र सम्पूर्ण रूपले तयार छ भन्नुभयो।"

चुनावका लागि शान्तिसुरक्षाको अवस्थाबारे राष्ट्रपतिले मुख्य रूपमा चासो देखाएको सरकारका प्रवक्ता जगदीश खरेलले बीबीसीलाई बताए।

उनका अनुसार सुरक्षा निकायका प्रमुखहरूले सुरक्षाकर्मीलाई चाहिने आवश्यक जनशक्ति तथा स्रोतसाधनको व्यवस्था मिलाएमा चुनाव गर्न सकिने उल्लेख गरे।

"सरकारले आफ्नो तर्फबाट मिलाउनुपर्ने सबै वातावरण मिलाउँछ भन्ने कुरा रह्यो। खास गरी जनमानसमा पनि सुरक्षाको वातावरण कस्तो होला भनी चासो रहिआएको अवस्थामा चुनाव कुनै हिसाबले रोकिँदैन र चुनाव हुन्छ भन्ने सरकारको तर्फबाट आश्वासन रह्यो," बीबीसी न्यूज नेपालीसँग उनले भने।

शीतल निवास

एमालेप्रति 'असन्तोष'

प्रधानमन्त्री र सुरक्षा अङ्गका प्रमुखहरूसँग छलफल गर्नुअघि शनिवार बिहान राष्ट्रपति पौडेलले विभिन्न क्षेत्रका व्यक्तिहरूसँग कुराकानी गरेका थिए।

त्यस क्रममा राष्ट्रपतिले "संविधानलाई ट्र्याकमा ल्याउन चुनावको विकल्प नरहेको"मा जोड दिएको छलफलमा सहभागी सुरक्षाविज्ञ गेजा शर्मा वाग्लेले बताए।

"चुनावभन्दा अर्को उपाय छैन। चुनावमा जाने कुरामा दलले पनि वातावरण निर्माण गर्नुपर्ने सुरक्षा निकायहरूले पनि शान्तिसुरक्षाको प्रत्याभूति दिलाउनुपर्‍यो र नागरिक समाजले पनि खबरदारी गर्नुपर्‍यो भनेर उहाँले भन्नुभयो," शर्माले बीबीसी न्यूज नेपालीसँग भने।

राष्ट्रपतिले विभिन्न व्यक्तिहरूसँग कुराकानी गरेका हुन्

तस्बिर स्रोत, Office of the President of Nepal

बैठकमा राष्ट्रपतिले खास गरी एमाले अध्यक्ष केपी शर्माले चुनावमा नजाने भनी शुक्रवार दिएको एउटा अभिव्यक्तिप्रति चासो व्यक्त गरेका शर्माले बताए। "त्यसमा उहाँको असन्तुष्टि थियो," उनले अगाडि थपे।

शुक्रववार ओलीले "हामी आन्दोलनमा जान्छौँ, नहुने चुनावमा कसरी भाग लिने?" भनी अभिव्यक्ति दिएका थिए।

"मसँग कुरा हुँदा एमालेका नेताहरू हामी चुनावमा जान्छौँ भन्नुहुन्छ, तर हिजो अर्कै कुरा आयो। उहाँले त्यसप्रति चिन्ता जाहेर गर्नुभयो" बैठकका अर्का एक सहभागीले बीबीसी न्यूज नेपालीसँग भने।

शनिवार एमालेको पार्टी कार्यालय च्यासलमा आयोजित एउटा कार्यक्रमलाई पनि सम्बोधन गर्ने क्रममा ओलीले "फागुन १२ गते चुनाव हुनेवाला छैन" भनी अभिव्यक्ति दिएका छन्। उनले वर्तमान सरकारलाई संविधान र कुनै कानुनले नचिनेको टिप्पणी समेत गरे।

"संविधान र कानुन कतै नचिनेको यो सरकार हो। यो असंवैधानिक सरकार हो," उनले भने।

शङ्का नगर्न सरकारको आग्रह

सरकारका प्रवक्ता खरेलले चुनावप्रति शङ्का नगर्न आग्रह गरे। पछिल्लो समय प्रधानमन्त्री कार्कीले हरेक दिनजसो दलका नेताहरूसँग कुराकानी गर्दै आएको उनले बताए।

"सरकारको तर्फबाट पार्टीगत भेटघाटलाई हामीले अन्तिम चरणमा पुर्‍याइसकेका छौँ। अधिकांश दलबाट प्रतिनिधिसँग प्रधानमन्त्रीज्यूले छुट्टाछुट्टै भेटघाट गर्नुभएको र म पनि सबै भेटमा सहभागी हुँदै आएको छ," सरकारी प्रयासबारे खरेलले भने।

"चुनावमा भाग लिने कुरालाई उहाँहरूले अस्वीकार गर्नुभएको छैन। अधिकांश राजनीतिक दलको तर्फबाट हामी चुनाव जाने हो भन्ने नै छ र उहाँहरूको आग्रह सरकारले वातावरण बनाओस् भन्ने छ।"

चुनावमा सहभागी नहुने कुरा कुनै दलले नगरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री खरेलले उल्लेख गरे।

"यदि कसैलाई अझै पनि संशय छ भने म आग्रह गर्छु कि चुनाव हुन्छ। वातावरण मिलाउने सम्पूर्ण जिम्मेवारी सरकारको छ। कुनै शङ्का नगरी सहभागी हुन म सरकारको तर्फबाट आग्रह गर्छु।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।