लाखौँ वर्षपछिको बुद्धिमान् जीवले मानवजातिको अस्तित्व सम्झनेमा वैज्ञानिकहरूको 'शङ्का'

जमिनमुनिबाट निकालिएको एक मानव कङ्काल

तस्बिर स्रोत, Microgen Images/Science Photo Library via Getty Images

हामी मानिसहरू विगतको इतिहासबाट निकै रोमाञ्चित हुन्छौँ।

हामीले जमिनमुनिबाट असङ्ख्य जीवावशेष निकालेका छौँ। यो पृथ्वीको साढे ४ अर्ब वर्षको इतिहासका प्रमाणका रूपमा तिनले हामीलाई मानव जाति यो ग्रहमा उत्पत्ति हुनुभन्दा धेरै पहिले प्रागैतिहासिक कालका प्रजातिबारे बुझ्न मद्दत गरेका छन्।

तर यदि हामी मानव जाति नै लोप भयौँ अनि करोडौँ वर्षपछि नौलो बुद्धिमान् प्रजातिको उदय भयो भने के तिनले हाम्रो अस्तित्वबारे पत्तो पाउलान्? हाम्रा सभ्यता कस्ता थिए भन्ने थाहा पाउलान्?

जीवावशेषमा परिणत हुने थोरै सम्भावना

भावी अध्येताहरूले हाम्रा जीवावशेष भेट्टाइहाल्छन् भनेर विश्वस्त हुन नसकिने अमेरिकाको रोचेस्टर विश्वविद्यालयका खगोल भौतिकशास्त्रका प्राध्यापक एडम फ्र्याङ्कले बताए।

"पृथ्वीमा उत्पत्ति भएका जीवहरूको अत्यन्त थोरै अंशमात्र जीवावशेषमा परिणत भएका छन्, खास गरी त्यस्ता प्रजातिको जसको अस्तित्व भौगर्भिक हिसाबमा लामो थिएन," उनले बताए।

दुई खुट्टामा उभिएको एक विशाल डाइनसोरको कङ्कालसामु फोटो खिचिरहेका तीन महिला

तस्बिर स्रोत, Courtney Hale/E+ via Getty Images

तस्बिरको क्याप्शन, एडम फ्र्याङ्क र गेभिन स्मिटको सन् २०१८को शोधपत्रअनुसार डाइनसोरको हरेक एक लाख वर्षको अस्तित्वको तुलनामा केवल मुठ्ठीभर सग्ला जीवाश्म भेटिएका छन्

सन् २०१८ मा प्रकाशित प्राध्यापक फ्र्याङ्कको सहलेखन भएको एक शोधपत्रका अनुसार साढे १६ करोड वर्ष जति पृथ्वीमा रहेका डाइनसोरमध्यै हालसम्म अत्यन्तै थोरै सङ्ख्यामा मात्र सग्ला जीवाश्म भेटिएका छन्।

त्यसैले उक्त शोधपत्रका अनुसार (हालसम्म) जम्माजम्मी ३ लाख वर्ष अस्तित्वमा रहेको मानव प्रजातिले जीवाश्म वा जीवावशेषको खासै रेकर्ड छाड्नसक्ने छैन होला।

तर हामीले मानव अस्तित्वका अरू भिन्नै प्रकारका चिह्नहरू भने छाड्ने छौँ।

पृथ्वीको रसायनमा फेरबदल

पृथ्वीको स्वाभाविक भौगर्भिक प्रक्रियाबमोजिम चट्टानहरू निरन्तर तहतह भएर जमिनमा खप्टिइँदै जान्छन्।

प्रत्येक तहको रासायनिक मिश्रणले त्यस कालमा पृथ्वीको अवस्था झल्काउँछ।

प्राध्यापक फ्र्याङ्कका अनुसार मानवसिर्जित जलवायु परिवर्तनका कारण बढेको तापक्रम र समुद्री सतहले चट्टानमा केके रहन्छ भन्ने निर्धारण गर्छ र त्यसलाई 'दशौँ करोड वर्षपश्चात्' पनि थाहा पाउन सकिन्छ।

"त्यसमा तपाईँले अक्सिजनका आइसोटोप तथा कार्बनका आइसोटोपमा फेरबदल पाउनुहुने छ जुन मानव क्रियाकलापले पृथ्वीको जलवायु प्रणालीमा भएको परिवर्तनका कारण भएका हुने छन्," उनले भने।

क्रमिक विकासमा परिवर्तन

हाम्रा आफ्ना हड्डीहरू जीवाश्मका रूपमा नजोगिए पनि हाम्रा कारण अन्य प्रजातिका जीवावशेषमा परिवर्तन आउन सक्छ - संसारभरि हामीले ओसारपसार गरेका जीवजन्तु र बदलिएको जैविक विविधतामार्फत्।

सन् २०१८ को एउटा अध्ययनमा संसारभरिका स्तनधारी जीवमध्ये ९६% भाग त मानिस वा मानिसले पालेका पशुले नै ओगटेको पाइयो - ती जीवको कुल तौलको हिसाब गर्दा। त्यसमा पनि मानिसको ३६% र मानिसले पालेको पशुको ६०% हिस्सा रहेको पाइयो भने जङ्गली जन्तुको केवल ४% हिस्सा पाइयो।

अनि चराचुरुङ्गीमध्ये दुई तिहाइभन्दा धेरै मानिसले पालेकाहरूले नै ओगटेको पाइयो।

'आवर वर्ल्ड इन डेटा'का अनुसार मानिसले हरेक वर्ष ७५ अर्ब कुखुरा मार्छन्। त्यसैले मानिस लोप हुनासाथ यतिका धेरै सङ्ख्याका उस्तै प्रकारका चरा अचानक मरेको देखिने हुँदा तिनका जीवाश्मले भावी अनुसन्धानकर्ताहरूका सामु पक्कै प्रश्न खडा गरिदिने छ।

जीवहरूको तौलको तुलना गरिएको ग्राफिक चित्र

"हामीले जैविक क्रमिक विकासको मार्गलाई नै परिवर्तन गरिदिएका छौँ," यूकेको लेस्टर विश्वविद्यालयका भूगर्भशास्त्री, जीवाशमविद् तथा इमेरिटस प्रोफेसर ज्यान जालासिवेचले भने।

"सुदूर भविष्यका शोधकर्ताहरू आश्चर्यमा पर्ने छन् : 'के भएको थियो? किन त्यसो भएको थियो?'" उनले भने। "अनि त्यसपछि उनीहरूको ध्यान एउटा निश्चित तहमा खिचिने छ, जहाँबाट यो सबै सुरु भयो। र, त्यो तह हामी मानव जातिको हुने छ।"

हाम्रो 'वास्तविक विरासत'

'डिस्कार्डेड : हाउ टेक्नोफोसिल्स विल बी आवर अल्टिमेट लेगसी' भन्ने आफ्ना किताबमा प्राध्यापक जालासिवेच र सोही विश्वविद्यालयका उनका सहकर्मी सहलेखक प्राध्यापक सारा ग्याबट पृथ्वीको भौगर्भिक रेकर्डमा हामीले दैनन्दिन प्रयोग गर्ने वस्तुहरू देखा पर्ने बताउँछन्।

ती वस्तुलाई लेखकद्वयले 'टेक्नोफोसिल्स' भनेका छन् - चाहे ती एल्युमिनिअमका क्यान हुन्, वा पोलिस्टरका लुगा हुन् वा भूमिगत कार पार्क।

खैरो सेडिमेन्टमा चार्जिङ केबलको चिह्न

तस्बिर स्रोत, Sarah Gabbott

तस्बिरको क्याप्शन, पृथ्वीमा दैनिक प्रयोगमा आउने वस्तुले छाडेका डोबहरूले भावी सभ्यतालाई हाम्रो जीवनशैलीबारे बताउने ठानिन्छ

सन् २०२०मा गरिएको एक अध्ययनले हामीले हरेक वर्ष ३० गिगाटन सामग्री उत्पादन गर्ने अनुमान गरेको छ - त्यो भनेको पृथ्वीमा रहेका हरेक मानिसले प्रत्येक हप्ता आफ्नो तौलजत्तिकै सामान उत्पादन गरेसरह हो।

वास्तवमा तौलकै तुलना गर्ने हो भने अहिले संसारमा जीवित वस्तुहरूभन्दा धेरै मानव-उत्पादित वस्तु रहेको लेखकद्वयले उल्लेख गरेका छन्।

प्लास्टिक उत्पादन दर्शाउने ग्राफिक चित्र

मानव-उत्पादित वस्तुको सबभन्दा ठूलो हिस्सा कङ्क्रिटका संरचना नै हुन् - जुन भावी शोधकर्ताहरूले प्राकृतिक नभएको पाउने छन्।

"हामीले कङ्क्रिट बनाउँदा प्रयोग गर्ने एउटा चीज भनेको फ्लाई एश पनि हो… त्यसलाई माइक्रोस्कोपमा राखेर हेर्दा एकदम अजिब देखिन्छ," प्राध्यापक जालासिवेचले भने।

"यदि तिनले त्यसका जीवावशेष भेटे भने… कङ्क्रिट भवन, पेभिङ स्ल्याब आदि, त्यसमा तिनले प्राकृतिक आकारप्रकारभन्दा नितान्त भिन्न वस्तु पाउने छन्।"

हामीले उत्पादन गरेका कैयन् वस्तुहरू निकै लामो समयसम्म रहने छन्।

प्लास्टिक 'हजारौँ नभई करोडौँ वर्ष' रहने प्राध्यापक ग्याबट ठान्छिन्।

हामीले यति धेरै प्लास्टिक उत्पादन गरेका छौँ कि संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०५० सम्ममा महासागरहरूमा माछाभन्दा धेरै प्लास्टिक पाइने छन्।

सन् २०२० मा जीवित जनावरको तुलनामा मानव-उत्पादित प्लास्टिक दोबर परिमाणमा रहेको 'नेचर' जर्नलमा प्रकाशित एक अध्ययनले जनायो। त्यतिखेर सम्पूर्ण जनावरको कुल तौल ४ गिगाटन थियो भने प्लास्टिक ८ गिगाटन।

प्लास्टिक मात्र पनि होइन।

"हामीले ४ अर्ब वर्ष पुराना चट्टान भेटेका छौँ जसमा ग्राफाइट पनि पाइएका छन्," प्राध्यापक ग्याबटले भनिन्। "अर्थात् पेन्सिलमा हुने ग्राफाइट ४ अर्ब वर्ष टिक्छ।"

जीवाश्म अध्ययन गर्ने प्यालेन्टलजिस्टहरूले दशौँ करोड वर्ष पुराना पातका जीवाश्म भेटेका छन्।

"कागज भनेको सेलुलोजबाट बन्छ। पात पनि त्यसबाटै बन्छ। त्यसैले… सही वातावरण हुने हो भने कागज दशौँ करोड वर्षसम्म टिक्न सक्छ," उनले अनुमान गरिन्।

विशाल फेरबदल

पृथ्वीको भूगर्भमा मानव जातिले विशाल चिह्न छाडिसकेको ठानिन्छ। हाम्रो अन्त्यको लामो समयपश्चात् उदय हुन सक्ने अर्को बुद्धिमान प्रजातिले कुनै दिन त्यसलाई देख्ने छ वा छैन भनेर यसै भन्न सकिन्न।

तर करोडौँ वर्षपछिको सुदूर भविष्यमा मानव जातिले छाडेको विरासत कस्तो होला भनेर कल्पना गर्नु उपयोगी हुने छ।

प्राध्यापक फ्र्याङ्क त्यसमा सहमत छन्।

"यो प्राविधिक अपरिपक्वताको कालबाट हामी उम्कन निकै जरुरी छ ताकि हामीले पृथ्वीको दीर्घकालीन इतिहासबारे सोच्न सकौँ," उनले भने।

"यी विशाल स्तरका फेरबदलले आगामी शताब्दीहरू अनि हजारौँ तथा करोडौँ वर्षसम्म प्रभाव पार्ने छन्," उनले भने।

बीबीसी विश्व सेवामा 'क्राउडसाइन्स'को एक भागमा आधारित। थप रिपोर्टिङ् एलन चाङबाट।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।