महिला कर्मचारीमाथि तालिबानको प्रतिबन्धसँगै विदेशी सहायता समूहले रोके काम

सहायता समूहहरूले महिला कर्मचारीमाथि काममा रोक लगाउँदा त्यसले जीवन बचाउने आफ्ना कामहरूमा प्रत्यक्ष असर पर्ने जनाएका छन्

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, सहायता समूहहरूले महिला कर्मचारीमाथि काममा रोक लगाउँदा त्यसले जीवन बचाउने उनका कामहरूमा प्रत्यक्ष असर पर्ने जनाएका छन्

अफगानिस्तानमा तालिबानले महिलाहरूमाथि आफ्नो संस्थामा काम गर्न प्रतिबन्ध लगाएपछि चार वटा मुख्य गैरसरकारी संस्थाहरूले त्यहाँ तिनका काम रोकेका छन्।

एउटा संयुक्त विज्ञप्तिमा केयर इन्टरन्याश्नल, नर्वेजियन रेफ्युजी काउन्सिल (एनआरसी) र सेभ द चिल्ड्रेनले “महिला कर्मचारी बिना” आफूहरूले काम जारी राख्न नसक्ने बताएका हुन्।

द इन्टरन्याश्नल रेस्क्यु कमिटीले पनि आफ्नो सेवाहरू स्थगित गर्ने जनाएको छ।

अफगानिस्तानमा सत्ता चलाइरहेको तालिबानले महिला अधिकारलाई निरन्तर रूपमा दबाउँदै आएको छ।

महिलाहरूलाई विश्वविद्यालय शिक्षामाथि प्रतिबन्ध लगाए लगत्तै तालिबानले गैरसरकारी संस्थाहरूमा पनि काम गर्न नपाउने पछिल्लो निर्णय गरेको हो।

तालिबानको अर्थ मन्त्रालयका प्रवक्ता अब्देल रहमान हबिबले विदेशी सहायता समूहहरूमा काम गर्ने महिला कर्मचारीले हिजाब लगाउनुपर्ने नियम उल्लङ्घन गरेको बताएका छन्।

पछिल्लो प्रतिबन्ध अनुसार काम नगर्ने कुनै पनि संस्थाको अनुमति रद्द गरिदिने धम्कीसमेत तालिबानले दिएको छ।

त्यसयता थुप्रै सहायता समूहहरूले महिलाहरूलाई काम गर्न दिइनुपर्ने माग राखेका छन्।

केयर, एनआरसी र सेभ द चिल्ड्रेनको नेतृत्व तहमा रहेकाहरूले महिला कर्मचारीहरू नभएको भए “सन् २०२१ को अगस्ट यता आवश्यकतामा रहेका लाखौँसम्म आफूहरू संयुक्त रूपमा पुग्न नसक्ने” बताएका छन्।

"यो घोषणाबारे स्पष्टता पाएसँगै अफगानिस्तानमा जीवन जोगाउने प्रकृतिका सहायताका लागि महिला र पुरुषले समान रूपमा काम गर्न पाउनुपर्ने मागसहित हामीले हाम्रा कार्यक्रमहरू स्थगित गर्दैछौँ," उनीहरूको विज्ञप्तिमा भनिएको छ।

अफगानिस्तानभरि ३,००० महिलाहरूलाई रोजगारी दिएको इन्टरन्याश्नल रेस्क्यु कमिटी आइआरसीले आफ्नो संस्थाको सबै तहमा सेवा दिने क्षमता महिला कर्मचारीमा भर पर्ने भन्दै महिला कर्मचारीलाई रोजगारी दिन नसकिए “अप्ठेरोमा परेकाहरूलाई” सेवा दिन नसक्ने जनाएको छ।

संयुक्त राष्ट्रसङ्घका मानवीय मामिलासम्बन्धी संयोजक रमिज आलेकबारफले तालिबानको पछिल्लो प्रतिबन्ध उल्ट्याउन आफूले कोसिस गरिरहेको र त्यस्तो प्रतिबन्ध “मानवीयतासम्बन्धी काम गर्ने समग्र समुदायलाई नै अस्वीकार्य” हुने बताएका छन्।

तालिबान अधिकारीहरूले सहायता समूहमा काम गर्ने महिला कर्मचारीमाथि लगाइएको प्रतिबन्धको आदेश नउल्ट्याए संयुक्त राष्ट्रसङ्घले अफगानिस्तानमा मानवीयतासम्बन्धी सहायता दिन बन्द गर्नसक्ने एक अधिकारीले बीबीसीलाई बताएका छन्।

आलेकबारफले तालिबानले आफ्नो आदेशमार्फत् के भन्न खोजेको भन्ने अर्थ अझै स्पष्ट नभएको बताए।

उनले तालिबानका स्वास्थ्य मन्त्रीले संयुक्त राष्ट्रसंघलाई उनीहरूले आफ्नो स्वास्थ्यसम्बन्धी काम जारी राख्न सक्ने र महिलाले “काममा भनेर सेवाबाट बाहिरिन” सक्ने बताएका छन्।

अन्य मन्त्रालयहरूले भने राष्ट्रसंघलाई प्रत्यक्ष सम्पर्क गरेर विपद् व्यवस्थापनको क्षेत्रमा काम जारी राख्नसक्ने बताएका छन्। 

एनआरसीका यान एगल्याण्डले आफ्नो संस्थामा काम गर्ने १४ सयमध्ये करिब ५०० महिला कर्मचारी रहेको र कर्मचारीहरूले “परम्परागत मान्यता, पोसाकको नियम, आवतजावत र छुट्टै कार्यालयका नियमहरू” अनुसार कार्यालयमा काम गरेको बताएका छन्।

उनले तालिबानको निर्णय “केही दिनमै उल्टिने” आशा व्यक्त गरे र गैरसरकारी संस्थाहरूको काममा बाधा परे त्यसले लाखौँ मानिसहरूलाई समस्या हुने भन्दै चेतावनी पनि दिए।

गैरसरकारी संस्थाहरूमा काम गरेर घरका लागि आयआर्जन गर्ने अफगानिस्तानका महिलाहरूले प्रतिबन्धका कारण आफूहरूले निरीह महसुस गरेको यसअघि बताएका थिए।

एक जनाले प्रश्न गरिन्: "म यदि काममा जान पाइनँ भने मेरो परिवारलाई कसले हेर्छ?" अर्की महिलाले प्रतिबन्धको समाचारले आफूलाई “झट्का” लागेको र आफूले पोसाकसम्बन्धी तालिबानको कडा नियम पालना गरेको बताइन्।

अन्तर्राष्ट्रिय समुदायले प्रतिबन्धको निन्दा गरेको छ। अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिनकनले त्यसका कारण “महत्त्वपूर्ण र लाखौँको जीवन बचाउने सहायता कार्यक्रममा अवरोध” पुग्ने बताए।

गत वर्ष सत्ता नियन्त्रणमा लिएयता तालिबानले सन् १९९० को शासनभन्दा अहिले नरम हुने बाचा गरे पनि त्यसका बाबजुद निरन्तर रूपमा महिला अधिकारमाथि प्रतिबन्ध लगाउँदै आएको छ।

गैरसरकारी संस्थामा काम गर्न र विश्वविद्यालयमा पढ्न प्रतिबन्धबाहेक धेरैजसो प्रान्तहरूमा छात्राहरूका लागि माध्यमिक तहको पढाइ पनि बन्द गरिएको छ।

महिलाहरूलाई पार्क र जिमलगायत सार्वजनिक ठाउँहरूमा प्रवेश गर्न पनि रोक लगाइएको छ।