शेअर मूल्यमा ११ अर्ब डलर गुमाएपछि एसियाकै धनी व्यक्तिको कम्पनी मुद्दा लड्ने सुरमा

गौतम अदानी

तस्बिर स्रोत, Getty Images

    • Author, निखिल इनामदार र मोनिका मिलर
    • Role, बीबीसी न्यूज

धितोपत्रमा चलखेल र लेखासम्बन्धी जालसाजी गरेको भन्ने आरोपसहितको एक प्रतिवेदन सार्वजनिक भएपछि एसियाकै सबैभन्दा धनी व्यक्ति गौतम अदानीको कम्पनीले त्यस्ता आरोपको प्रतिवाद गरेको छ।

गौतम अदानीको ‘अदानी ग्रुप’ले एक अमेरिकी लगानी कम्पनीले तयार गरेको प्रतिवेदन “दुर्भावनापूर्ण” र “चुनिएका भ्रामक सूचना” युक्त भनेर प्रतिक्रिया दिएको छ।

यसै हप्ता बुधवार त्यस्तो अध्ययन प्रतिवेदन सार्वजनिक भएयता अदानी समूहले धितोपत्र बजारमा आफ्नो ११ अर्ब डलर मूल्य गुमाएको छ।

उक्त भारतीय कम्पनीले अब त्यस्तो प्रतिवेदन तयार पारेको न्यूयोर्कको ‘हिन्डनबर्ग रिसर्च’ विरुद्ध कानुनी उपचार खोज्नेबारे छलफल गरिरहेको जनाएको छ।

अदानी ग्रुप भारतमा सबैभन्दा ठूला कम्पनीहरू मध्येको हो। यसले बस्तु व्यापार, विमानस्थल, नवीकरणीय ऊर्जा लगायत व्यापक क्षेत्रमा लगानी गरेको छ।

यसको नेतृत्व गरेका गौतम अदानी विश्वकै चौथो धनी व्यक्ति रहेको फोर्ब्स म्यागेजिनले जनाएको छ।

हिन्डनबर्ग चाहिँ “शर्ट सेलिङ” अथवा कम्पनीको शेअर मूल्य घट्ने अनुमान गर्दै बाजी थापे जसरी त्यसमा लगानी गर्ने कार्यमा पोख्त मानिन्छ।

क्षतिपूर्तिका लागि मुद्दा हाल्ने चेतावनी

आफ्नो प्रतिवेदनमा हिन्डनबर्गले अदानीलाई “व्यावसायिक इतिहासकै सबैभन्दा ठूलो ठगी” गरेको आरोप लगाएको छ। अदानी ग्रुपको शेअर सर्वसाधारणका लागि बिक्री खुला गरिनुभन्दा केही दिन अघि मात्रै त्यस्तो प्रतिवेदन सार्वजनिक भएको हो।

प्रतिवेदनले अदानी समूहको स्वामित्वमा मोरिसस र क्यारेबिअन जस्ता ‘ट्याक्स हेभन’ भनिने देशहरूमा रहेका कम्पनीबारे पनि प्रश्न उठाएको छ। प्रतिवेदनले अदानी समूहसँग “ठूलो मात्रामा ऋण” रहेको र यसले पूरै समूहलाई “कमजोर आर्थिक धरातलमा” राखेको दाबी गरेको छ।

अदानी समूहले हिन्डनबर्ग रिसर्च विरुद्ध अमेरिका र भारतमा “उपचारात्मक र दण्डात्मक कारबाही” खोज्नेबारे मूल्याङ्कन भइरहेको बिहीवार बताएको छ।

अदानीले आफ्नो काम सधैँ “कानुनको परिधिभित्रै रहेको” दाबी गरेको छ।

“भारतीय धितोपत्र बजारमा प्रतिवेदनले सिर्जना गरेको अस्थिरता ठूलो चिन्ताको विषय हो र यसले भारतीय नागरिकहरूमा नसोचेको पीडा निम्त्याएको छ,” अदानीको कानुनी टोलीका प्रमुख जतिन जालुन्धवालाले भने।

हिन्डनबर्गको अडान

"हिन्डनबर्गको अध्ययन अप्रमाणित तथ्यहरूमा आधारित रहेको र यसले अदानी समूहको शेअर मूल्यमा गिरावट आउने निश्चित देखिएको उक्त प्रतिवेदनमै स्वीकार गरिएको" अदानी समूहको दाबी छ।

बिहीवार हिन्डनबर्गले अदानी समूहको प्रतिक्रियाको जवाफ दिँदै उक्त कम्पनीले आफूले उठाएको एउटा पनि विषय सम्बोधन नगरेको बतायो।

आफ्नो प्रतिवेदनमा रहेका विवरणहरूमा आफू अडिग रहने र कानुनी कदमको सामना गर्न तयार रहेको समेत हिन्डनबर्गले जनाएको छ।

यता अदानी समूहको प्रमुख कम्पनी अदानी इन्टरप्राइजेजले शुक्रावारबाट सर्वसाधारणलाई आफ्नो कम्पनीको शेअर बिक्री सुरु गर्दैछ।

राजनीतिक प्रतिक्रिया

गौतम अदानी

तस्बिर स्रोत, Reuters

अदानीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग नजिक रहेर फाइदा लिने गरेको आरोप लगाउँदै आएका विपक्षी राजनीतिज्ञहरूले यो मामिलामा तत्कालै प्रतिक्रिया जनाएका छन्।

सांसद समेत रहेकी शिव सेना पार्टीकी नेतृ प्रियङ्का चतुर्वेदीले ट्विट गर्दै प्रतिवेदनमा लगाइएका आरोपबारे सरकारले जानकारी लिनुपर्ने बताएकी छिन्।

दक्षिणी भारतका अर्का लोकप्रिय राजनीतिज्ञ केटी रामारावले अदानी समूहको सञ्चालनबारे छानबिन गर्न भारतका अनुसन्धान एजेन्सी र बजार नियामकसँग माग गरेका छन्।

बजारमा कस्तो असर

तर नियामकहरूले स्वतन्त्र रूपमा कुनै कदम नचाल्ने विज्ञहरू बताउँछन्।

“भारतको सेक्युरिटी एन्ड एक्सचेन्ज बोर्डले कुनै उजुरी परेको अवस्थामा मात्रै कदम चाल्छ। यो मामलामा कुनै उजुरी परेको छैन,” लगानीकर्ताहरूलाई परामर्श दिँदै आएको इनगभर्न रिसर्चका प्रबन्ध निर्देशक श्रीराम सुब्रमन्यमले भने।

“यो प्रतिवेदनमा लगाइएका धेरै आरोपहरू विगतमा नियामक निकायले जाँचबुझ गर्ने विषय बनेका उदाहरण छन्।”

बीबीसीले नियामक निकायसँग प्रतिक्रिया लिन सम्पर्क गर्ने प्रयास गरे पनि कुनै जवाफ प्राप्त भएन।

यो प्रतिवेदनले अदानी समूहले बिक्री खुला गरेको २.४ अर्बको शेअरका सम्भावित खरिदकर्ताहरू निरुत्साहित हुनसक्ने चिन्ता व्यक्त भएका छन्।

यो प्रतिवेदनको असर अदानी समूहभन्दा बाहिरसम्म पुग्न सक्ने आकलन समेत गरिएका छन्। यसलाई लिएर आर्थिक विश्वव्यापीकरण र राजनीतिक राष्ट्रवादबीच परेको भारतीय धितोपत्र बजारमा इमानदारीताकाबारे बहसहरू सुरु भएका छन्।