यमनमा आप्रवासी सवार डुङ्गा डुब्दा ६० जनाभन्दा बढीको मृत्यु

आप्रवासी सवार डुङ्गाहरू डुब्ने घटना धेरैजसो गरेका छन्

तस्बिर स्रोत, Getty Images

    • Author, याङ टियान
    • Role, बीबीसी न्यूज

करिब १५० जना आप्रवासीहरू सवार एउटा डुङ्गा आइतवार खराब मौसमका कारण यमनको तटपारि क्षेत्रमा डुब्दा ६० जनाभन्दा बढीको ज्यान गएको छ।

स्थानीय अधिकारीहरूका अनुसार उक्त डुङ्गा यमनको दक्षिणी प्रान्त अबीयानपारि डुबेपछि १२ जनालाई उद्धार गरिएको छ भने दर्जनौँ व्यक्ति अझै हराइरहेका छन्।

पीडितमध्ये धेरै चाहिँ इथियोपिआका भएका ठानिएको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन आईओएमले जनाएको छ। घटनालाई उसले "हृदयविदारक" भनेको छ।

कामको खोजीमा अफ्रिकाबाट खाडी अरब राष्ट्रहरूसम्म पुग्नका निम्ति आप्रवासीहरूका लागि यमन एउटा प्रमुख मार्गका रूपमा रहिआएको छ।

आईओएमको आँकडाअनुसार पछिल्ला महिनाहरूमा डुङ्गा दुर्घटनामा परी सयौँ मानिसहरूको ज्यान गएको छ अथवा हराइरहेका छन्।

'गैरजिम्मेवार तस्कर'

आईओएम यमनका प्रमुख अब्दुसात्तोर इसोएभले समाचारसंस्था एपीलाई बताएअनुसार दक्षिणी खानफर जिल्लास्थित तटबाट ५४ जनाका शव फेला पारिएको छ।

एपीका अनुसार अबीयानको सुरक्षा निकायले एउटा वक्तव्य जारी गर्दै ठूलो खोजी तथा उद्धार अभियान जारी रहेको जनाएको छ र तटको ठूलो क्षेत्रबाट शवहरू फेला पारिएको उल्लेख गरेको छ।

आईओएमका एक प्रवक्ताले घटनाबाट निकै दुःखी भएको भन्दै आप्रवासीहरूको सुरक्षाका निम्ति थप कदम चाल्नुपर्नेमा जोड दिए।

"चिन्ता र जोखिमलाई बेवास्ता गर्दै प्रायः गैरजिम्मेवार तस्करहरूले समन्वय गर्दै आप्रवासीहरूलाई गराउने खतरनाक यात्रालाई ध्यानमा राखी अझ सुदृढ सुरक्षा संयन्त्रहरूको आवश्यकतामा यो दुःखद घटनाले टड्कारो जरुरी देखाएको छ," उनीहरूले भनेका छन्।

'अति खतरापूर्ण'

'हर्न अफ अफ्रिका' बाट यमनसम्म पुग्न यात्रालाई यसअघि आईओएमले "अति व्यस्त एवं खतराले भरिपूर्ण मार्ग" भएको बताएको थियो।

गत मार्चमा १८० जनाभन्दा बढी आप्रवासीहरू सवार दुईवटा डुङ्गा यमनको धुबाब जिल्लास्थित तटपारि डुब्दा चालकदलका दुई व्यक्तिको मात्र उद्धार गर्न सकियो भने बाँकी हराएका वा मारिएका हुन सक्ने बताइएको छ।

जोखिम हुँदाहुँदै धेरै आप्रवासीहरूले समुद्रीयात्रा जारी राख्दै आएका छन्। सन् २०२४ मा मात्र यमनसम्म ६० हजार आप्रवासी पुगेका तथ्याङ्क छ।

आईओएमको 'मिसिङ माइग्रेन्ट्स प्रोजेक्ट' का अनुसार विगत एक दशकमा सो मार्गमा मात्र ३,४०० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको र हराएका छन्। मृतकमध्ये १,४०० जनाको डुबेर ज्यान गएको बताइन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।