इलोन मस्क आफ्नो त्यति धेरै पैसाले के गर्छन्

तस्बिर स्रोत, Getty Images
- Author, टिफनी भर्टेमेअर र एलिस डेभिस
टेस्लाका मालिक इलोन मस्क धेरै वर्षयतादेखि विश्वको सबैभन्दा धनी व्यक्तिहरूमध्ये एक रहिआएका छन्।
त्यो सम्पत्ति हालसालै ठूलो मात्राले बढ्यो र उनी पहिलोपटक पाँच खर्ब डलर सम्पत्ति हुने व्यक्ति बने।
यसका अलावा मस्क आफू धेरै हदसम्म तडकभडक नभएको जीवनशैली अपनाउने बताउँछन्। उनले सन् २०२१ मा आफू ५०,००० डलर मूल्य बराबरको घरमा बस्ने बताएका थिए।
उनकी पूर्वपार्ट्नर र उनका दुई सन्तानकी आमा ग्राइम्सले सन् २०२२ मा 'भ्यानिटी फेअर'सँग कुरा गर्दै इलोन मस्कको जीवन अरूले सोचेजस्तो एकदमै आरामदायी र चमकधमकपूर्ण नरहेको बताएकी थिइन्।
"उनी अर्बपतिले जसरी बस्दैनन्। उनी बेलाबेला गरिबीको रेखामुनि भएजस्तो गरी बस्छन्," उनले पत्रिकासँग भनेकी थिइन्। उनले एक पटक भनेकी थिइन्, आफू सुत्ने डस्नामा एकापट्टि प्वाल भए पनि उनले नयाँ डस्ना किन्न मानेका थिएनन्।
उनी दैनन्दिन बस्ने ठाउँ अरूले ठानेजस्तो लोभलाग्दो नभए पनि उनी अनौठा कारहरूका पारखीका रूपमा चिनिन्छन्। उनीसँग पानीमुनि जान सक्ने कारहरू पनि छन्। उनीसँग लाखौँ डलर पर्ने निजी विमानहरू पनि छन्।
सन् २०२२ मा उनले आफ्नो सम्पत्तिको केही रकम अर्थात् झन्डै ४४ अर्ब डलर खर्च गरेर अहिले एक्स भनिने ट्विटर किने।
भव्य महल किन बेचे

तस्बिर स्रोत, Getty Images
मस्कसँग एकताका लोभलाग्दो घरजग्गा कारोबारसम्बन्धी पोर्टफोलिओ थियो। सन् २०१९ मा 'वाल स्ट्रीट जर्नल'ले उनले करिब सात वर्षमा सात वटा घरमा १० करोड डलर खर्च गरेका बताएको थियो। तीमध्ये धेरैजसो क्यालिफोर्नियाको बेल-एअरको प्रतिष्ठित बस्तीबाट एकदमै नजिकै रहेका घरहरू किनेका थिए।
तिनीहरूमा पौडीपोखरी, टेनिस खेल्ने ठाउँ, वाइन सेलर, निजी पुस्तकालय र एउटा बलरूम थिए। एउटा भने कृषि फार्म भएको घर थियो, जुन कुनै बेलाका प्रख्यात 'विली वोन्का'का अभिनेता जीन वाइल्डरको स्वामित्वमा थियो।
तर सन् २०२० मा मस्कले आफ्नो मन परिवर्तन गरे र ट्वीट गरे कि उनी आफ्ना सबै भौतिक सम्पत्ति बेच्ने छन् र कुनै पनि घर किन्ने छैनन्।
"पैसाको आवश्यकता छैन। मङ्गल र पृथ्वीमा आफूलाई समर्पित गर्दै छु। आशक्तिले केवल तपाईँलाई गह्रुङ्गो बनाउँछ," उनले लेखे।
त्यहाँ एउटा सर्त राखिएको थियो कि जीन वाइल्डरको घरलाई "भत्काउन वा त्यसको महत्त्व कम गर्ने केही गर्न पाइने छैन।"
उनले वास्तवमै तीनवटा शयनकक्ष भएको सम्पत्ति वाइल्डरका भतिजो जोर्डन वाकर-पर्लम्यानलाई बेचेका थिए। उनलाई उक्त सम्पत्ति किन्न लाखौँ डलरको ऋण पनि मस्कले नै दिएका थिए। तर सन् २०२५ को जुन महिनामा मस्कले उक्त स्वामित्वमा आफ्नो पुन: दाबी गरे। वाकर-पर्लम्यानले रकम भुक्तानी गर्न नसकेको बताइएको थियो र मस्कले पुन: दाबी गरेका थिए।
सन् २०२१ मा मस्कले आफ्नो "प्राथमिक घर" एक साधारण पुनर्निर्मित संरचना रहेको र टेक्ससको दक्षिणी भेगा अवस्थित उक्त घरको मूल्य ५० हजार डलर बराबरको भएको बताएका थिए।
"त्यो एक खालको गजबको थियो," मस्कले उक्त ठाउँबारे भनेका थिए।
अर्को वर्ष मस्कले आफूसँग घर नभएको बताए। उनले त्यसो भनेर आफूले विशाल सम्पत्तिका बाबजुद कति थोरै खपत गर्छन् भन्ने उदाहरण देखाउन खोजेका थिए।
"म साँच्चै साथीहरूको ठाउँमा बसिरहेको छु," उनले टेडका प्रमुख क्रिस एन्डर्सनलाई भनेका थिए। "म टेस्ला इन्जिनिअरिङ रहेको बे एरियामा जाँदा कहिले कुन साथीको कहिले कुन साथीको अतिरिक्त बेडरूममा सुत्ने गर्छु।"
यो कुनै नौलो कुरा होइन। सन् २०१५ मा गुगलका तत्कालीन प्रमुख कार्यकारी ल्यारी पेजले लेखक एश्ली भ्यान्सलाई मस्क "एक किसिमले घरबारविहीन" भएको बताएका थिए।
"उसले इमेल गरेर 'मलाईआज राति कहाँ बस्ने भनेर थाहा छैन, के म आऊँ?' भन्थ्यो"
मस्कले अमेरिकाभरि सम्पत्तिहरू किन्दै छन् भन्ने विभिन्न अड्कलबाजीहरू वर्षौंदेखि भएका छन्। तर टेक्ससमा रहेको घर उनको व्यक्तिगत स्वामित्वमा रहेको एक मात्र आधिकारिक घर जस्तो देखिन्छ।
कारका सौखिन
मस्कले सम्पत्तिमा ठूलो खर्च नगरे पनि कारहरू फरक कुरा हुन्।
टेस्लाको मालिकका रूपमा यो अचम्मको कुरा होइन किनभने उनीसँग असामान्य र केही अवस्थामा असाधारण, सवारी साधनहरूको ठूलो सङ्ग्रह छ।
त्यसमा 'फोर्ड मोडल टी' पनि रहेको छ जुन २० औँ शताब्दीको पहिलो किफायती गाडी मानिएको थियो। त्यसले मोटर उद्योगमा क्रान्ति ल्याएको थियो।

तस्बिर स्रोत, NurPhoto via Getty Images
उनका अन्य कारमा सन् १९६७ को ज्याग्युअर ई-टाइप रोड्स्टर पनि छ, जुन मस्कलाई बाल्यकालदेखि नै लोभ्याएको कार भनिएको थियो। अर्को सन् १९९७ को म्याक्लरेन एफ वन हो, जुन दुर्घटनाग्रस्त भएपछि र बेच्नुअघि मर्मत गर्न धेरै पैसा खर्च गरेका थिए। त्यसपछि उनीसँग टेस्ला रोड्स्टर छ, जुन बिक्रीमा जाने पहिलो टेस्ला मोडल थियो र सन् २०१८ मा मस्कले अन्तरिक्षमा पठाएका थिए भनेर चर्चा भएको थियो।
यीमध्ये सबैभन्दा असामान्य भनेको सन् १९६७ को लोटस एस्प्रिट हो जुन सन् १९७७ को चलचित्र 'द स्पाई हू लभ्ड मी'मा जेम्स बन्डले चलाएका थिए।
चलचित्रमा 'वेट नेली' उपनाम दिइएको कार पनडुब्बीमा रूपान्तरण हुन सक्छ। मस्कले यो कार सन् २०१३ मा लिलामीमा लगभग १० लाख डलरमा किनेका थिए, जसको उद्देश्य पनडुब्बी रूपान्तरण क्षमतालाई एक पटक फेरि वास्तविक बनाउनु रहेको थियो।

तस्बिर स्रोत, Screen Archives/Getty Images
कामका लागि उडान
मस्कले आफूलाई विमानहरूमा भने पैसा खर्च गर्न खुसी लाग्ने गरेको स्वीकार गरेका छन्। तर उनले कामप्रतिको आफ्नो लगावका कारण त्यसो भएको कुरामा जोड दिएका छन्।
"यदि मैले विमान प्रयोग गरिनँ भने मसँग काम गर्न कम समय हुन्छ," उनले सन् २०२२ मा टेडलाई दिएको अन्तर्वार्तामा भनेका थिए।
उनको सङ्ग्रहका निजी विमानहरूमध्ये धेरै गल्फस्ट्रीम मोडलहरू छन् जसको मूल्य दशौँ लाख डलर हुन्छ।
उनी ती विमानहरू अमेरिकामा विभिन्न ठाउँमा रहेका स्पेसएक्स र टेस्लाका केन्द्रहरूमा पुग्न तथा अन्तर्राष्ट्रिय यात्राका लागि प्रयोग गर्छन्।
फरक शैलीको परोपकार?

तस्बिर स्रोत, Reuters
अमेरिकी नियामक कागजातहरूका अनुसार मस्कले परोपकारी कामहरूका लागि अर्बौं डलर शेअर दान गरेका छन् र विभिन्न त्यस्ता कुराहरूका लागि लाखौँ डलर दिने प्रतिबद्धता जनाएका छन्। तर उनले गरेको परोपकारी कामको आलोचना पनि भएको छ।
'न्यूयोर्क टाइम्स'ले गत वर्ष यसलाई "अव्यवस्थित र धेरै हदसम्म आत्मसेवा गर्ने अनि आफूलाई ठूलो करछुटका लागि योग्य बनाउन र आफ्नो व्यवसायलाई सहयोग पुर्याउनका लागि गरिएको" भनेको थियो।
मस्क फाउन्डेशनले आफ्नो वेबसाइटमा भनेको छ, "यो वैज्ञानिक अनुसन्धान, प्राविधिक नवीनता र महत्वाकाङ्क्षी प्रयासहरूको माध्यमबाट मानवताको प्रगतिलाई अगाडि बढाउन समर्पित छ।"
तर न्यूयोर्क टाइम्सले फाउन्डेशनले लगातार तीन वर्षसम्म दिनुपर्ने रकमको तुलनामा यो कम भएको भन्दै समाचार लेखेको थियो। फाउन्डेशनको करसम्बन्धी कागजातमा पनि धेरै दान मस्कसँग सम्बन्धित संस्थाहरूलाई गएको न्यूयोर्क टाइम्सले पत्ता लगाएको थियो।
प्रतिक्रियाका लागि इलोन मस्क र मस्क फाउन्डेशनलाई सम्पर्क गरिएको थियो।
विगतका परोपकारी काम र कारणबारे सोध्दा मस्कले परम्परागत परोपकारी उपहारहरूबारे शङ्कास्पद देखिए।
"यदि तपाईँ यसबारे विद्यमान धारणाको सट्टा भलाइको वास्तविकताबारे ध्यान दिनुहुन्छ भने मलाई लाग्छ परोपकारी काम एकदमै गाह्रो छ," उनले सन् २०२२ मा क्रिस एन्डर्सनलाई भनेका थिए।
मस्कका लागि व्यापारिक उद्यमहरूको अस्तित्व परोपकारी काममा छ : "यदि तपाईँ परोपकार मानवताको प्रेम हो भन्नुहुन्छ भने तिनीहरू परोपकारकै काम हुन्," उनले जोड दिए।
उनले टेस्लाले "दिगो ऊर्जालाई गति दिइरहेको", र स्पेस एक्सले "मानवताको दीर्घकालीन अस्तित्व सुनिश्चित गर्न कोसिस गरिरहेको" र न्यूरालिङ्कले "एआईको मद्दतले मस्तिष्कमा लाग्ने चोटपटक र अस्तित्वको जोखिम समाधान गर्न मद्दत गर्न कोसिस गरिरहेको" बताए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








