बालदुलहीले सम्बन्धविच्छेदको अधिकार पाइन् - तर तालिबानले त्यसको अर्थ नभएको बतायो

सम्बन्धविच्छेदसम्बन्धी कागजात हेर्दै नजदाना
तस्बिरको क्याप्शन, नजदाना सम्बन्धविच्छेद गरेका कागजातसहित अफगानिस्तानबाट भागेर अर्कै देश गएकी छन्
    • Author, कवून खामूश
    • Role, बीबीसी विश्व सेवा, काबुल
  • पढ्ने समय: ५ मिनेट

एक जना युवती सम्बन्धविच्छेदका कागजातको एक खात आफ्नो छातीमा टाँसेर दुई व्यस्त सडकको बीचमा रहेको एउटा रुखमुनि बस्दै आएकी छन्।

यी कागजहरू बीबी नजदानाका लागि असाध्यै महत्त्वपूर्ण छन्: ती कागजहरूमा सम्बन्धविच्छेदका लागि दिइएका अनुमति छन् जुन उनले आफू बालविवाहको जीवनबाट मुक्ति पाउनका लागि गरेको दुई वर्ष लामो कानुनी सङ्घर्षपश्चात् हासिल भएको थियो।

यी तिनै कागजपत्र हुन् जसलाई तालिबानी अदालतले अवैध मानेको छ- उक्त समूहले मान्ने धार्मिक कानुन शरियाले अफगानिस्तानको कानुनी प्रणालीमा महिलालाई मौन राख्दै आएको छ।

नजदानाको सम्बन्धविच्छेदसम्बन्धी यो फैसला जस्तै अन्य दशौँ हजार अदालतका फैसलाहरू छन् जसलाई तीन वर्षअघि तालिबानले देश आफ्नो नियन्त्रणमा लिएपछि रद्द गरिदिएको छ।

नजदानाले त्यति ठूलो लडाइँपश्चात् पाएको सम्बन्धविच्छेदको फैसलालाई उनी सात वर्ष हुँदा विवाहका लागि वाचा गरिएका पुरुषले राजधानी काबुल पुगेर दश दिनमै उल्ट्याइदिए।

हेक्मतुल्लाहले नजदाना १५ वर्षकी हुँदा पहिलो पटक आफ्नी श्रीमतीका रूपमा प्राप्त गर्न माग गरेका थिए। त्यसबेला उनका बुवा "खराब विवाह"का लागि सहमत भएको आठ वर्ष भएको थि‍यो जसमा एउटा "शत्रु" परिवारलाई “मित्र” बनाउन खोजिन्छ।

उनले तत्काल त्यति बेलाको अमेरिकी समर्थनको अफगानिस्तान सरकारको सञ्चालनमा रहेको अदालतमा उपस्थित भएर छुट्टिनका लागि निवेदन दिइन्।

उनले त्यति बेला अदालतमा आफूले २० देखि ३० उमेरमा रहेको एक किसानसँग विवाह गर्न नसक्ने कुरा दोहोर्‍याएकी थिइन्।

उनलाई अदालतमा कानुनी लडाइँका लागि दुई वर्ष लाग्यो तर फैसला उनकै पक्षमा आयो: "अदालतले मलाई बधाई दियो र भन्यो, 'तपाईँ अब पतिबाट छुट्टिनुभयो र जोसँग चाहनुहुन्छ विवाह गर्न सक्नुहुन्छ।'"

तर सन् २०२१ मा हेक्मतुल्लाहले फैसला पुनरावेदन गर्न निवेदन दिए। नजदानालाई आफ्नो मुद्दा आफैँले अदालतमा उपस्थित भएर निवेदन दिन अनुमति नरहेको बताइएको थियो।

"अदालतमा तालिबानले मलाई शरिया कानुनको विरुद्ध हुनेभन्दा मैले अदालत फर्किन नपाउने बताएको थियो। उनीहरूले मेरो सट्टा मेरो दाइले मुद्दाको प्रतिनिधित्व गर्नुपर्ने बताएका थिए," नजदानाले भनिन्।

"यदि हामीले मानेनौँ भने," नजदानाका दाइ शाम्सले भने, "उनीहरूले जबरजस्ती हेक्मतुल्लाहलाई मेरी बहिनी सुम्पिने बताए।"

नजदानाका पूर्व पति अहिले तालिबानको नयाँ सदस्य हुन् र उनले मुद्दा जिते। आफ्नै गृहप्रान्त उरुजगानस्थित अदालतमा आफ्नी बहिनीको जीवन खतरामा छ भनेर अदालतलाई भन्ने शाम्सको प्रयास कसैले सुनेनन्।

यी दाजुबहिनीले कुनै विकल्प बाँकी नरहेपछि देश छोड्ने निर्णय गरे।

नजदाना र उनका दाइ
तस्बिरको क्याप्शन, नजदाना र उनका दाइ शाम्स आफ्नो जीवन बचाउन अफगानिस्तानबाटै भागेका छन्

जब तालिबान तीन वर्षअघि सत्तामा आयो, उनीहरूले विगतको भ्रष्टाचार हटाउने र शरिया कानुन अन्तर्गत “न्याय” दिने वाचा गरे।

त्यसयता, करिब तीन लाख ५५,००० मुद्दाहरू हेरिएको तालिबानले जनाएको छ।

धेरैजसो फौजदारी मुद्दाहरू छन् – करिब ४० प्रतिशत जग्गाको विवादबारे छ भने थप ३० प्रतिशतचाहिँ नजदानाको सम्बन्धविच्छेदजस्तै परिवारसँग जोडिएका मुद्दाहरू छन्।

राजधानी काबुलमा रहेको सर्वोच्च अदालतको एक विभागमा बीबीसीले पाएको विशेष पहुँचपछि नजदानाको सम्बन्धविच्छेदको फैसला बाहिर आएको हो।

अफगानिस्तानको सर्वोच्च अदालतका सञ्चार अधिकृत अब्दुल हकानीले फैसला हेक्मतुल्लाहको पक्षमा भएको पुष्टि गरे र उनी “स्वयं उपस्थित” नभएका कारण त्यो वैध नभएको बताए।

"हेक्मतुल्लाह र नजदानाको विवाह रद्द गर्ने विगतको भ्रष्ट प्रशासनको निर्णय शरिया कानुन र विवाहको नियमविरुद्ध थियो," उनले व्याख्या गरे।

तर न्याय प्रणाली सुधार गर्ने वाचा छिनोफानो भइसकेका मुद्दा पुन: खोल्नेमा मात्रै सीमित रहेन।

तालिबानले सबै न्यायाधीशहरूलाई प्रणालीगत रूपमा हटाएको छ चाहे ती महिला होऊन् वा पुरुष। ती पदहरूमा उनीहरूले आफ्नो कट्टर धारणा समर्थन गर्ने मानिसलाई ल्याएका छन्।

न्यायिक प्रणालीमा भाग लिन पनि महिलाहरूलाई योग्य ठानिँदैन।

"महिलाहरू निर्णय लिन सक्दैनन् वा योग्य हुँदैनन् किनभने हाम्रो शरिया सिद्धान्तमा न्यायिक काममा उच्च बौद्धिकता भएका मानिसहरू आवश्यक पर्छ," तालिबानको सर्वोच्च अदालतका वैदेशिक सम्बन्ध र सञ्चार निर्देशक अब्दुलरहिम राशिदले भने।

तालिबानको सर्वोच्च अदालतका वैदेशिक सम्बन्ध र सञ्चार निर्देशक अब्दुलरहिम राशिद
तस्बिरको क्याप्शन, तालिबानको सर्वोच्च अदालतका वैदेशिक सम्बन्ध र सञ्चार निर्देशक अब्दुलरहिम राशिद

यो प्रणालीमा काम गरेका महिलाहरू जे गुम्यो त्यो निकै ठूलो भएको र त्यो केवल आफ्ना लागि मात्रै नगुमेको महसुस गर्छन्।

तालिबान फर्किएपछि देश छोडेकी सर्वोच्च अदालतकी पूर्व न्यायाधीश फअजिया अमिनी अदालतमा महिला न्यायाधीश नहुने हो भने शरिया कानुन अन्तर्गत महिलाको संरक्षणमा सुधार ल्याउन थोरैमात्रै आशा रहेको बताउँछिन्।

"हामीले महत्त्वपूर्ण भूमिका खेल्यौँ," उनले भनिन्। "उदाहरणका लागि, सन् २००९ मा महिला कानुनविरुद्धको हिंसा निर्मुल पार्नु हाम्रो एउटा उपलब्धि थियो। हामीले महिलाका लागि बास, अनाथको अभिभावकत्व, र मानव तस्करीविरुद्धको कानुन लगायतमा काम गर्‍यौँ।"

नजदानाको जस्तै फैसला तालिबानले उल्ट्याएपछि त्यो पनि व्यर्थै भएको उनले बताइन्।

"यदि महिलाले आफ्ना श्रीमान्‌सँग सम्बन्धविच्छेद गरेकी छन् र अदालतका कागजपत्रहरू प्रमाणका रूपमा छन् भने त्यो नै अन्तिम हो। सरकार फेरिँदैमा कानुनी फैसलाहरू फेरिन सक्दैनन्," अमिनीले भनिन्।

"हाम्रो देवानी संहिता आधा शताब्दीभन्दा पुरानो हो," उनले भनिन्। "तालिबान स्थापना हुनुभन्दा पनि अगाडिबाट नै यो कानुन अभ्यासमा छ।

"सम्बन्धविच्छेद लगायतका सबै नागरिक र देवानी संहिता कुरानबाट लिइएको हो।"

तालिबानको अदालतका निर्णयहरू
तस्बिरको क्याप्शन, तालिबानको सर्वोच्च अदालतमा अघिल्लो सरकारका पालामा छिनोफानो गरिएका मुद्दाहरू

तर तालिबानले भने अफगानिस्तानका पूर्व शासकहरू इस्लाम नभएको बताउँछ।

बरु, उनीहरू धेरै हदसम्म हनफी फिकहमा भर परेको बताउँछन्। उक्त विधिशास्त्र आठौँ शताब्दीको भएको र त्यसले "विद्यमान आवश्यकता पूरा" नभएको अब्दुलरहिम राशिदले बताए।

"पहिलाका अदालतहरूले नागरिक र देवानी संहिताका आधारमा निर्णय गरे। तर अहिले सबै निर्णयहरू शरिया [इस्लाम कानुन] मा आधारित हुन्छन्," उनले छिनोफानो गरिसकेका मुद्दाका चाङ देखाउँदै गर्व गरेर भने।

अमिनी भने अफगानिस्तानको कानुनी प्रणाली यसरी अगाडि बढाउने योजनाबाट खासै प्रभावित छैनन्।

"तालिबानलाई मेरो प्रश्न छ। के उनीहरूका आमाबुवाले यी कानुनको आधारमा विवाह गरे वा उनीहरूका छोराले लेख्ने कानुका आधारमा गरे?" उनले सोधिन्।

नाम नखुलाइएको छिमेकी देशमा दुई सडकबीचमा रहेको रूखमुनि बसेकी नजदानाका लागि यी कुनै पनि कुराले सहज महसुस गराउँदैनन्।

जम्मा २० वर्षकी उनी सम्बन्धविच्छेदका कागजहरू च्यापेर र कसैले मद्दत गर्छ कि भन्ने आशामा यहाँ यसैगरी बस्न थालेको एक वर्ष भयो।

"संयुक्त राष्ट्र सङ्घसहित मद्दतका लागि मैले धेरैको ढोका ढक्ढकाएँ तर मेरो आवाज कसैले सुनेनन्," उनले भनिन्।

"समर्थन कहाँ छ खै? महिलाका रूपमा मैले स्वतन्त्रता पाउनु पर्ने होइन?"

बीबीसीले हेक्मतुल्लाहसँग प्रतिक्रिया लिन चाहे पनि त्यो सम्भव भएन।

गुनासो पत्रसहित नजदाना
तस्बिरको क्याप्शन, नजदानाले आफ्नो सुनुवाइ तालिबानको न्यायिक निकायहरूले नगरेको र उनीहरूले महिला भएकै कारण अदालतमा उपस्थित हुन नहुने भनेको बताइन्

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।