थाईल्यान्डमा आमचुनावसँगै जनमतसङ्ग्रह किन हुँदै छ?

तस्बिर स्रोत, Getty Images
थाईल्यान्डका मतदाताहरूले नयाँ संसद् चयनका लागि आइतवार देशभरि मतदान गरिरहेका छन्।
मुलुकको विद्यमान संविधानको पुनर्लेखन गर्नुपर्छ वा पर्दैन भन्नेबारे जनमतसङ्ग्रहअन्तर्गत पनि उनीहरूले मत खसालिरहेका छन्।
निकै महत्त्वका साथ हेरिएको मतदानमा देशभरि लाखौँ मतदाता सहभागी भइरहेका विवरणहरूमा जनाइएको छ।
बहालवाला प्रधानमन्त्री अनुतिन चार्नभिराकुलले समयअगावै चुनाव आह्वान गरेका थिए, जो तीन वर्षको अवधिमा थाईल्यान्डका तृतीय प्रधानमन्त्री हुन्। थाईल्यान्डले पछिल्ला वर्षहरूमा राजनीतिक उतारचढाव झेल्दै आएको छ।
सुधारका कदम नचालिँदा धीमा भएको अर्थतन्त्र, महँगी लगायतका विषय अहिलेका चुनावी मुद्दा रहेका छन्।
दुई मुख्य प्रतिस्पर्धी
यो निर्वाचनलाई मुख्यतः दुई पार्टीबीचको प्रतिस्पर्धाका रूपमा हेरिँदै छ: सेनाले समर्थन गरेको अनुदारवादी पूम्जाईथाई पार्टी र सुधारवादी पिपुल्स पार्टी।
दुवै दल वर्तमान सरकारमा सहभागी छन् र कसैले पनि यो चुनावमा पूर्ण बहुमत ल्याउने सम्भावना देखिएको छैन।
चुनावी प्रतिस्पर्धामा लोकप्रियतावादी दल फूए थाई पार्टी पनि रहेको छ। कुनै बेला उक्त पार्टी एउटा सशक्त प्रतिस्पर्धी थियो, तर उसकी भूतपूर्व नेत्री एवम् तात्कालिक प्रधानमन्त्री पेतोङ्तान चिनवतको एउटा फोनवार्ता कुराकानी सार्वजनिक भएपछि उनलाई पदबाट हटाइयो र उक्त पार्टी कमजोर हुन पुगेको बताइन्छ।
पेतोङ्तान भूतपूर्व प्रधानमन्त्री थाक्सिन चिनवतकी छोरी हुन्। क्याम्बोडियाका नेता हुन सेनसँगको फोनवार्ता सार्वजनिक भएपछि उनी प्रधानमन्त्री पदबाट निलम्बित भएकी थिइन्।
जनमतसङ्ग्रह किन?
निर्वाचित नभएका सिनेटका सदस्यहरूलाई वर्तमान संविधानले व्यापक अधिकार प्रदान गरेको र सैनिक कूपछि उक्त संविधान ल्याइएको भन्दै पुनर्लेखनका लागि यो जनमतसङ्ग्रह भइरहेको हो।
वर्तमान संविधान सैनिक शासनअन्तर्गत सन् २०१७ मा लेखिएको थियो। हुन त संसद्सँग संविधान बनाउने अधिकार हुन्छ, तर त्यसो गर्नका लागि आमजनताले जनमतसङ्ग्रहबाट पहिला अनुमोदन गर्नुपर्ने हुन्छ।
यस किसिमको जनमतसङ्ग्रह भएको यो पहिलो पटक चाहिँ होइन। यसअघि सन् २००७ र २०१६ मा जनमतसङ्ग्रह भएका थिए।
तर आलोचकहरूका अनुसार संविधानको मस्यौदा तयार गरी पारित गरिसकेर ती जनमतसङ्ग्रहरू गराइएको थियो।
अहिले भइरहेको जनमतसङ्ग्रह चाहिँ संविधान निर्माणको पहिलो चरण हो, यसले अनुमोदन गरेमा मात्र संविधानको मस्यौदा लेखिने छ।

तस्बिर स्रोत, Thainewspix
चयन प्रक्रिया कस्तो?
थाईल्यान्डको संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सका ५०० सीटका लागि निर्वाचन भइरहेको हो।
पाँच सय सीटमध्ये ४०० सीट प्रत्यक्ष निर्वाचित हुन्छ। बाँकी सय सीटको टुङ्गो समानुतिक प्रणालीबाट हुन्छ।
प्रत्येक मतदाताले दुइटै प्रणालीअन्तर्गत दुईवटा मत खसाल्ने छन्। एउटा मत उम्मेदवारलाई र अर्को मत राजनीतिक दललाई जाने छ।

तस्बिर स्रोत, BBC/Joe Phua
न्याश्नल एसेम्बली पनि भनिने थाईल्यान्डको संसद् हाउस अफ रिप्रेजेन्टेटिभ्स र सिनेट मिलेर बन्छ।
यस वर्ष मुलुकको प्रधानमन्त्री चयनमा सिनेटको कुनै भूमिका हुने छैन- सन् २०२३ को चुनावको भन्दा फरक छ, जब सेनाद्वारा नियुक्त सिनेटले प्रत्यक्ष निर्वाचित सांसदहरूले जस्तै मतदान गर्न पाउँथे।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















