थाईल्यान्डका पूर्वप्रधानमन्त्री किन १५ वर्षपछि फर्किए, किन पक्राउ परे

चिनवात १५ वर्षपछि थाईल्यान्ड फर्किएका हुन्

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, चिनवात १५ वर्षपछि थाईल्यान्ड फर्किएका हुन्

थाईल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन चिनवात १५ वर्षको स्वघोषित निर्वासनबाट स्वदेश फर्किएको केही घण्टामै पक्राउ परेका छन्।

चिनवात सेनाले शासनसत्ता हातमा लिएपछि देशबाट पलायन भएका थिए। लामो समयदेखि उनले आफ्नो अनुपस्थितिमा आफूमाथि लगाइएका भ्रष्टाचारका आरोप राजनीतिक रूपमा प्रेरित रहेको बताउने गरेका छन्।

आठ वर्षको जेल सजायको सङ्क्षिप्त अवधि कारावासमा बसेपछि रिहा हुने गरी चिनवातसँग एउटा सहमति भएको ठानिएको छ।

उनको परिवारसँग नजिकको सम्बन्ध भएको दल 'पूअ थाई'ले नयाँ सरकार बनाउन लागेको छ। सैन्य कूलाई साथ दिएका उक्त दलका विगतका राजनीतिक प्रतिद्वन्द्वीहरू पनि सरकारमा समावेश हुन लागेको ठानिन्छ।

उक्त गठबन्धनले प्रभावशाली व्यापारिक घरानाका सेटा टविसिनलाई प्रधानमन्त्री बनाउन लागेको छ।

स्वागत र पक्राउ

आफ्नो दलका उम्मेदवार चुनावी दौडमा अघि रहेको नयाँ प्रधानमन्त्री चयनका लागि मतदान हुनुअघि चिनवात मङ्गलवार निजी जेटमा ब्याङ्कक फर्किएका थिए।

उनलाई थाईल्यान्डमा सबैभन्दा सफल निर्वाचित नेता मानिन्छ र सैनिक शासनको पक्षमा उभिएका कट्टरपन्थी राजतन्त्र पक्षधरहरू उनीसँग लामो समयदेखि डराउँदै आएका थिए। विवादास्पद मुद्दाहरू अदालतमा लगेर उनलाई कमजोर बनाउने प्रयास गरिएको थियो।

तर सैनिक शासनबाट अपदस्थ गरिएका जेहेन्दार र राजनीतिक रूपमा महत्त्वाकाङ्क्षी टेलिकम उद्योगपति अब फर्किएका छन्। ब्याङ्ककको मुख्य विमानस्थलमा उनलाई रातिदेखि नै भेला भएका सयौँ शुभेच्छुकहरूले स्वागत गरेका थिए।

विमानस्थलको टर्मिनलबाट बाहिर निस्कनेबित्तिकै दुई छोरी र छोरासँग लामबद्ध भएर उनले राजा र रानीको तस्बिरमा सम्मान व्यक्त गरेका थिए।

विमानस्थलमा समर्थकहरूलाई अभिवादन गर्दै चिनवात

तस्बिर स्रोत, GETTY IMAGES

तस्बिरको क्याप्शन, विमानस्थलमा समर्थकहरूलाई अभिवादन गर्दै चिनवात

चौहत्तर वर्षीय यी पूर्वनेतालाई तुरुन्तै सर्वोच्च अदालत लगिएको थियो। त्यहाँ उनलाई विगतमा दोषी पाइएका तीन कसुरमा आठ वर्ष जेल चलान गरिएको थियो। त्यहाँबाट उनलाई ब्याङ्ककस्थित कारागारमा पठाइएको थियो।

जेलका अधिकारीहरूले बढ्दो उमेरका कारण उनलाई विशेष स्वास्थ्य उपकरणसहित जेलको एउटा एकाइमा राखिने जनाएका छन्। उनलाई तत्कालै १० दिन क्वारन्टीनमा राखिने छ। त्यसअन्तर्गत पहिलो पाँच दिनमा उनी आफ्नो कोठामा नै सीमित हुने छन्।

चिनवातले क्षमादानका लागि राजासमक्ष अनुरोध गर्ने अनुमान गरिएको छ। जेल अधिकारीहरूले उनले तत्कालै माफीका लागि निवेदन दिन सक्ने बताएका छन्। उक्त प्रक्रिया पूरा हुन एकदेखि दुई महिनासम्म लाग्न सक्छ।

आफ्ना नेताको स्वागतमा सयौँ ‘रेड शर्ट’ नेताहरू ब्याङ्ककको डन म्वाङ विमानस्थलमा भेला भएका थिए।

सोमवार साँझदेखि चिनवातलाई हेर्न भेला हुनेमा ६३ वर्षकी साम्निआङ कङ्पोल्पार्न पनि थिइन्। उनी पछिल्लो दशकमा चिनवातको दलको प्रभाव रहेको उत्तरपूर्वी सुरिन प्रान्तबाट ब्याङ्कक पुगेकी थिइन्।

“उनी हामीले अहिलेसम्म पाएका सर्वोत्कृष्ट प्रधानमन्त्री हुन्। आज मैले उनलाई देख्न नपाए पनि म यहाँ आएर उनीप्रति समर्थन व्यक्त गर्न चाहन्थेँ,” उनले भनिन्।

“उनले सेनासँग निकट सरकारसँग मेलमिलाप गरेको मलाई स्वीकार्य छ किनभने हामी सासंदहरूमा मात्रै अल्झिरहने छौँ। हामी त्यस्तो चाहन्नौँ।”

चिनवातको दल शक्तिमा

सेटा टविसिन

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, सेटा टविसिनलाई पूअ थाईले प्रधानमन्त्री बनाउन लागेको छ

तीन महिनाको जटिल प्रक्रियापछि पूअ थाई पार्टीका सेटा टविसिन विजयी बनेका हुन्।

गत मे महिनामा सम्पन्न चुनावमा क्रान्तिकारी मत राख्ने नयाँ मूभ फर्वर्ड पार्टीले अधिकांश सीट जितेको थियो। मूभ फर्वर्डले सुरुमा पूअ थाईसँग साझेदारी गरेको थियो तर अहिले नयाँ गठबन्धनले सुधारवादीबाहेक विगतमा कूको समर्थन गरेका दुई दलसँग पनि गठबन्धन गर्ने निश्चित भएको छ। यसअघि पूअ थाईले त्यस्तो नगर्ने बताएको थियो।

पूअ थाईले दुवै घटनाक्रम असम्बन्धित रहेको जनाएको छ। यद्यपि केही मानिसहरू मात्रै त्यो कुरा पत्याउँछन्। निर्वाचनबिनै गठन भएको २५० सदस्यीय सिनेटका कारण पूअ थाईको हात बाँधिएको छ। सन् २०१४ को सत्ताविप्लवपछि पाँच वर्ष शासन गरेको सैनिक जुन्टाले त्यस्तो संवैधानिक धराप थापेको थियो।

चुनावमा अपेक्षा गरिएभन्दा कम परिणाम आएपछि उक्त दलको मोलमोलाइ गर्ने सामर्थ्य कमजोर भएको थियो। मूभ फर्वर्डले राम्रो प्रदर्शन गरेपछि उक्त दल पहिलो पटक दोस्रो स्थानमा पुगेको थियो।

प्रधानमन्त्री चुन्न गरिने निर्वाचनमा जुन्टाबाट मनोनीत भएकासहित सबै ५०० जना निर्वाचित सांसदहरूले मतदान गर्न पाउँछन्।

थाईल्यान्डको निर्णय प्रणालीमा राजतन्त्र, सेना र ठूलो व्यापारिक घरानाको सम्बन्धले दशकौँदेखि प्रभाव पार्दै आएको छ। प्रधानमन्त्री चुन्ने निकायको भित्री मनसाय यथास्थितिलाई चुनौती दिन सक्ने दललाई अवरोध पुर्‍याउने हुने गर्छ।

त्यही भएर तल्लो सदनमा स्पष्ट बहुमत हुँदा समेत उनीहरूले मूभ फर्वडले नेतृत्व गरेको पूअ थाईसँगको गठबन्धनलाई स्वीकार गरेनन्। तर पूअ थाईले नयाँ गठबन्धनका लागि कुरा चलााउँदा सिनेटबाट समर्थन जुटाउन उसले विगतका कतिपय आफ्ना प्रतिद्वन्दीहरूसँग नरम बन्नुपर्ने परिस्थिति बनेको हो।

नयाँ गठबन्धनको भविष्य

थाईल्यान्ड

तस्बिर स्रोत, LULU LUO/BBC

तर पूअ थाईका कतिपय नेताले अतिकट्टरपन्थी समूहहरूले सरकारमा सहभागी हुन अस्वीकार गर्नुपर्ने तर्क गर्ने गरेका छन्।

पूअ थाई र मूभ फर्वर्ड दल सहभागी नभएको कुनै पनि अल्पसङ्ख्यक सरकार तुरुन्तै भङ्ग हुने अवस्था थाईल्यान्डमा छ किनभने सिनेटलाई बजेटजस्ता विषयमा मतदान गर्ने अधिकार छैन।

तर पूअ थाई नेतृत्व पर्खनका लागि तयार थिएन र उसले उग्र राजावादी दल यूनाइटेड थाई नेशनलाई पनि गठबन्धनमा सहभागी हुन निम्तो दिएको थियो।

उक्त दलका नेताहरू चिनवातको परिवार र उनका समर्थकहरूको कटु आलोचक थिए। उनकी बहिनी यिङ्लकको नेतृत्वमा रहेको विगतको पूअ थाई सरकार ढाल्न उनीहरूको पनि भूमिका थियो।

अब दुई गठबन्धन एउटै सरकारमा काम गर्ने अवस्थासम्म आइपुग्नुले थाई राजनीति कति परसम्म आइपुगेको छ भन्ने सङ्केत गर्छ।

उग्र राजावादीहरूले मूभ फर्वर्डबाट निम्तिन सक्ने भनेर देखेको जोखिम र देशको नयाँ पुस्ताले राजतन्त्रको शक्ति र सम्पत्तिबारे माग गरिरहेको बहसले चिनवात परिवारसँगको लामो द्वन्द्वलाई ओझेलमा पारिदिएको छ।

सरकारमा जाने र चिनवातलाई पुनः देश फर्काउने कुरा सुनिश्चित गरेर चिनवात र पूअ थाईको परम्परागत र व्यावसायिक सोच भएको तप्काले दलको प्रतिष्ठाबारे चिन्ता लिनुभन्दा ठूला प्राथमिकताहरू रहेको सन्देश दिएको छ।

तर उक्त सम्झौताको व्यावहारिक पक्षलाई लिएर भय व्यक्त गर्नेहरू पूअ थाईमा छन्। उक्त दलप्रति निष्ठावान् तल्लो तहका समर्थकहरूमाझ आकर्षण गुम्ने र दुई दशकदेखि थाईल्यान्डको चुनावी राजनीतिमा प्रभुत्व कमजोर हुने सक्ने चेतावनी पनि दिइएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।