विवादित राजपरिवारबारे विभाजित परिवारहरू: 'मेरा पिता राजसंस्थाको प्रेममा अन्धा भएका छन्'

राजसंस्थाबारे भिन्न मतका कारण थाइल्यान्डमा परिवारहरू विभाजित भएका छन्

तस्बिर स्रोत, Jilla Dastmalchi

तस्बिरको क्याप्शन, राजसंस्थाबारे भिन्न मतका कारण थाइल्यान्डमा परिवारहरू विभाजित भएका छन्

"हाम्रा राजालाई आलोचना गर्नु भनेको पाप हो भनेर मेरा पिताले मलाई सिकाएका थिए।"

तर १९ वर्षका दनाइले पिताको चेतावनीलाई बेवास्ता गर्दैछन्। ब्याङ्ककमा कानुनका विद्यार्थी उनी हरेक महिना राजसंस्थामा सुधार माग गर्दै प्रदर्शनमा उत्रने दशौँ हजारमध्ये एक हुन्।

उनका पिता पाकोर्न* उच्च मध्यम वर्गका हुन् र धेरै ठाउँ घुमिसकेका छन्। एउटै घरमा नबसे पनि उनीहरूबीच बेलाबेला भेट हुन्छ तर प्रत्येक भेटमा उनीहरू राजसंस्थाको विषयबारे भने बोल्दैनन्।

"सो विषयमा कुराकानी हुनासाथ हाम्रो झगडा पर्न थाल्छ र दिन नै खेर जान्छ", दनाइले भने।

"एकपटक मैले राजाको आलोचना गरेपछि हाम्रो गाडीभित्रै झगडा पर्‍यो। मेरा पिताका निम्ति राजसंस्था पवित्र हो। मैले किन भनेर सोधेँ। उनले म सानो उमेरको भएकोले बुझ्न नसक्ने बताए। म रिसाएँ र त्यसपछि उनी मसँग बोलेनन्।"

अनलाइनमा विवाद

थाइल्यान्डमा परिवारहरू राजसंस्थालाई लिएर प्रत्यक्ष विवादमा मात्र उत्रँदैनन्, कतिपयले त यो विवाद सामाजिक सञ्जालमा पनि पुर्‍याएका छन्।

जब एक विश्वविद्यालयका विद्यार्थीले फेसबुकमा राजसंस्थाविरोधी भावनाका कारण उनको पिताले उनीमाथि मुद्दा हाल्न चाहेको लेखिन्, उनको पिताले क्रुद्ध प्रतिक्रिया व्यक्त गर्दै उनलाई परिवारको नाम प्रयोग गर्न नदिने बताए।

दनाइले राजसंस्थाबारे आफ्नो पितालाई सबैभन्दा पहिले १७ वर्षको उमेरमा चुनौती दिएका थिए।

"हामी सिनेमा हलमा थियौँ। जब राष्ट्रगान बज्यो सबैजनाले राजाप्रति सम्मान व्यक्त गर्न उभिए। मैले त्यसो गर्न चाहिनँ। पिताले भन्दाभन्दै पनि म उठिनँ। जब अरू मानिसहरूले घुरेर हेर तबमात्र म उभिएँ।"

सिनेमा हलमा राष्ट्रगान बज्दा दनाइ उभिन मानेनन्

तस्बिर स्रोत, Jilla Dastmalchi

तस्बिरको क्याप्शन, सिनेमा हलमा राष्ट्रगान बज्दा दनाइ उभिन मानेनन्

राष्ट्रगान बज्दा नउभिनुलाई गैरकानुनी मानिन्थ्यो।

ऐतिहासिक परम्परा

थाइ मानिसहरूलाई बच्चैदेखि आफ्ना राजाप्रति स्नेह र सम्मान प्रकट गर्न सिकाइन्छ। साथै त्यसो नगरे हुनसक्ने परिणामको त्रास पनि देखाइन्छ।

थाइल्यान्ड त्यस्ता थोरै देशहरूमध्ये पर्छ जहाँ कडा कानुन छ जसअनुसार राजा, रानी वा गद्दीका उत्तराधिकारीको आलोचनालाई गैरकानुनी ठानिन्छ। त्यसो गरेको पाइए १५ वर्ष जेल सजाय हुनसक्छ।

अचेल दनाइ सिनेमा हलमा उभिँदैनन्।

जुलाईदेखि यता विश्वविद्यालयहरूमा पढ्ने हजारौँ विद्यार्थी सडकमा उत्रिएका छन्।

उनीहरूले राजाको करिब असीमित शक्ति र स्रोतमा सिमाको माग गरेका छन्। विश्वमा अरूलाई यी माग सामान्य लाग्न सक्छ तर थाइल्यान्डको आधुनिक इतिहासमा राजसंस्थालाई यसरी सार्वजनिक चुनौती दिइएको थिएन।

विद्यार्थीको विरोधले अधिकांश थाइ जनता अचम्भित भएका छन् - दनाइका पिता पाकोर्नसहित।

"म राजा रामा ११ को पालामा जन्मिएको थिएँ। उनले आफ्ना बालबालिकाभन्दा धेरै जनताका निम्ति काम गरेका थिए। जब उनी बिरामी भए तब उनलाई जोगाउन सकिने भए म आफैँ ज्यान दिन समेत तयार थिएँ। तर मेरा छोराजस्तै अहिलेका पुस्ताका युवाहरूले त्यो अनुभव गरेनन्।"

नयाँ राजा

थाइल्यान्डमा नयाँ पुस्ताले राजसंस्था विरुद्ध प्रदर्शन गरेका छन्

तस्बिर स्रोत, Jilla Dastmalchi

तस्बिरको क्याप्शन, थाइल्यान्डमा नयाँ पुस्ताले राजसंस्थाविरुद्ध प्रदर्शन गरेका छन्

केही वर्ष पहिलेसम्म पनि यस्तो पुस्ताबीचको झगडा अकल्पनीय थियो। तर नयाँ राजा महा बजिरालङ्गकर्नको राज्याभिषेकले सबै बदलिदियो।

नयाँ राजालाई सार्वजनिक रूपमा दुर्लभै देखिन्छ। उनको धेरै समय जर्मनीमा बित्छ। थाइल्यान्डमा कोरोनाभाइरस महामारीको प्रभाव परेपछि त उनी झन् धेरै बाहिर बसे।

उनले ब्याङ्ककस्थित सबै सैन्य इकाइको निर्देशन आफ्नो हातमा लिएपछि थुप्रै प्रश्न उठे। आधुनिक थाइल्यान्डमा शाही परिवारमा सैन्य शक्ति यसरी केन्द्रीकृत गरिएको थिएन।

उनको निजी जीवन पनि चर्चामा आउँछ। उनले चारपटक विवाह गरेका छन् र उति नै विवाहेतर सम्बन्ध पनि रहेको बताइन्छ।

जबकि दिवङ्गत राजा रामा ११ लाई कतिपयले झन्डै ईश्वरीय दर्जा दिन्थे। उनी जहाँ जान्थे मानिसहरूले प्रणाम गर्थे र आफूलाई उनको पैताला मुनिको धूलो भन्थे।

पाकोर्नले दिवङ्गत राजालाई दुईपटक भेटेका थिए।

"एकपटक म गाडीमा गइरहेको थिएँ। विपरीत दिशामा उनीपनि आफैँ गाडी चलाएर आइरहेका रहेछन्। उनको अघिपछि कुनै मोटरकेड थिएन। हाम्रा आँखा जुधे। मलाई लाग्छ उनी साधारण मानिसजस्तै रहन रुचाउँथे। उनी विशेष थिए।"

विगतप्रति प्रश्न

तर दनाइले आफ्नो पिताको अनुभव बुझ्दैनन्।

"उनी राजसंस्थाप्रतिको प्रेममा अन्धा भएका छन्। उनीसँग कुरा गर्नु भनेको भित्तासँग कुरा गर्नुजस्तै हो। उनी सुन्न चाहँदैनन्।"

राजाबारे विपरीत धारणाका कारण उनीहरूको सम्बन्ध बिग्रिएको छ।

यो पुस्तान्तर थाइ समाजको विभाजनको एउटा उदाहरण हो।

गर्मीयाममा विद्यार्थी विरोध प्रदर्शन सुरु भएयता थाइल्यान्डभरि परिवारहरू विभाजित भइरहेका छन्।

अभिभावक तथा बालबालिका, दाजुभाइ र दिदीबहिनी, काकाकाकी र भतिजाभतिजी एकअर्कासँग अपरिचित बन्न थालेका छन्।

थाइल्यान्डको युवा पुस्ताले राजसंस्था र उसले प्रतिनिधित्व गर्ने सबैथोकमाथि प्रश्न उठाउन थालेको छ र यो लामो आन्तरिक सङ्घर्षको सुरुवात मात्र हो जस्तो लाग्छ।

*परिचय लुकाउनका निम्ति नामहरू परिवर्तन गरिएका छन्।