‘बचाउने आशा थियो, जहाज नआउँदा मुटुको टुक्रा गुमाएँ’

तस्बिर स्रोत, BBC
- Author, प्रकाश पन्त
- Role, सुर्खेत
झाडापखाला चलेपछि हुम्ला सिमकोटका सुरज चुनारले ६ महिनाका छोरा इमरानलाई उपचारको लागि जिल्ला अस्पताल ल्याए।
उपचारपछि झाडापखाला त रोकियो, तर बच्चालाई न्यूमोनियाले समात्यो।
चार दिन अस्पतालमा भर्ना गरेर उपचार गर्दा समेत न्यूमोनिया ठिक नभएपछि जिल्ला अस्पतालका डाक्टरले साउन १८ गते थप उपचारका लागि बच्चालाई नेपालगन्ज 'रेफर' गरे।
तर रेफर गरेको हप्ता दिनसम्म जहाज कुर्दाकुर्दै साउन २६ गते इमरानको ज्यान गयो।
निर्विकल्प हवाई मार्ग
बिरामी छोरालाई सुविधायुक्त अस्पताल लैजान सुरजसँग हवाई मार्गबाहेक अरू केही विकल्प थिएन।
छोरालाई बचाउन धेरै प्रयास गरेका उनी "नेपाल नागरिक उड्डयन प्राधिकरणको गलत निर्णयका कारण आफूले छोरा गुमाउनु परेको" भन्दै पीडा पोख्छन्।
“सुविधा सम्पन्न ठाउँमा लग्न पाएको भए बचाउन सकिन्थ्यो कि भन्ने आशा थियो, तर हप्ता दिनसम्म पनि जहाज नआउँदा मुटुको टुक्रा (छोरा) गुमाएँ”, उनले बीबीसीसँग भने, “यस्तो नियम लागु गर्नु भनेको दुर्गमका बिरामीलाई मर्न बाध्य पार्नु हो।”
जिल्ला अस्पताल हुम्लाकी निमित्त प्रमुख सरिता बोहराले "आफ्नो अस्पतालले रेफर गरेको तर समयमै विरामीलाई उपचार हुन सक्ने सुविधा सम्पन्न अस्पताल लैजान नसक्दा हप्ता दिनभित्रै २ जना बच्चाको मृत्यु भएको" बताइन्।
“समयमै सुविधायुक्त अस्पतालमा लगेको भए बच्चाहरूलाई बचाउन सकिन्थ्यो”, उनले भनिन्, “१२ बजेसम्म मौसम खुल्दैन, दिउसो खुल्छ जहाज आउँदैन।”
साउन १५ गते रेफर गरिएका ७ महिनाका रोहित शाहीको पनि साउन २२ गते मृत्यु भएको थियो।
बोहराका अनुसार दुवै बच्चालाई 'एनआइसीयू' मा राखेर उपचार गर्नु पर्ने अवस्था थियो। तर यो सुविधा जिल्ला अस्पताल हुम्लामा छैन।
अहिले पनि थप उपचारका लागि हप्ता दिन अघि रेफर भएर नेपालगन्ज जान नसकेका ३ जना सिकिस्त बिरामी अस्पतालमै छन्।
दुर्गमवासीको जीवनमाथि ‘प्राधिकरणको खेलबाड’

यस्तै मुगुको खत्याड गाउँपालिकाका ६० वर्षीय बिर्खबहादुर कार्कीको पनि "जहाज कुर्दाकुर्दै ज्यान गएको" उनका आफन्तजनले बताएका छन्।
उपचारका लागि सुविधायुक्त ठाउँमा लैजान छिमेकको बाजुरास्थित कोल्टी विमानस्थल पुर्याइए पनि तीन दिनसम्म जहाज नआउँदा उपचार अभावमा उनले ज्यान गुमाउनु परेको उनका परिवारजनले बताए।
नागरिक उड्डयन प्राधिकरणले मनसुनी वर्षा धेरै हुने समयलाई ध्यानमा राखेर हवाई सुरक्षाकालागि भन्दै गत साउन १५ गतेबाट पहाडी तथा हिमाली जिल्लाका साना जहाज चल्ने २९ वटा (स्टल एयरपोर्ट) विमानस्थलमा दिउसो १२ बजेपछि उडानमा रोक लगाइएको जनाएको छ।
ती क्षेत्रका लागि भरपर्दो यातायात सेवाका रूपमा रहेका हवाई जहाज र हेलिकप्टरको सेवा दिनको १२ बजेपछि बन्द हुँदा आफूहरूले ठुलो सास्ती भोग्नु परेको त्यहाँका नागरिकहरूले गुनासो गरेका छन्।
अहिलेसम्म पनि सडक सुविधा नपुगेका र सडक भए पनि भरपर्दो यातायात सेवा नभएका ठाउँमा प्राधिकरणले दिउसो १२ बजेपछिका उडानमा रोक लगाएपछि आपत्कालीन उद्धार, दैनिक उपभोग्य वस्तु, खाद्यान्न, औषधी, निर्माण सामग्रीको ढुवानीमा समेत असर परेको स्थानीयबासीले बताएका छन्।

प्रायःजसो दिउसोतिर मात्रै मौसम सफा
कर्णाली र सुदूरपश्चिमलगायत देशका अरू पहाडी तथा हिमाली क्षेत्रमा मनसुनको समयमा प्रायःजसो दिउसोतिर मात्रै मौसम सफा हुने गरेको स्थानीयबासिन्दा भन्छन्।
यसअघि भने ती क्षेत्रका विमानस्थलमा दिउसो पाँच बजेसम्म हवाई जहाज र हेलिकप्टर उडान हुने गर्थे।
प्राधिकरणले निर्माण सामग्री ढुवानी, कार्गो, चार्टर फ्लाइट र माउन्टेन फ्लाइटमा समेत १२ बजेपछि रोक लगाएको छ।
प्राधिकरणको निर्णयले नागरिकलाई सास्ती हुनुको साथै पर्यटन व्यवसायसमेत धराशायी बन्ने अवस्था आएको पर्यटन व्यवसायी गुनासो गर्छन्।
'हतोत्साहित'
सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशीला रोकाया दुर्गमको जनजीवनलाई प्रतिकुल प्रभाव पार्ने निर्णय तत्काल फिर्ता लिन माग गर्छिन्।
उनी भन्छिन्, “कर्णालीवासीलाई हेपेर गरिएको जनता मार्ने निर्णय हामीलाई मान्य छैन।”
१२ बजेपछि उडानमा रोक लगाएपछि चामल ढुवानीको कामसमेत प्रभावित भएको छ।
सिमकोट, खार्पुनाथ र नाम्खा गाउँपालिकाका बासिन्दाकf लागि सतिसल्लाबाट हेलिकप्टरले चामल ओसारी रहेको छ।
उक्त निर्णय अघि दैनिक ९–१० वटा उडान हुँदै आएकोमा अहिले भने १२ बजेसम्म मुस्किलले २–३ खेप मात्र चामल ढुवानी हुने गरेको छ।
समयमै चामल ढुवानी गर्न नसकिए यी गाउँपालिकामा हप्ता दिनभित्रै खाद्यान्न सङ्कट हुने उपाध्यक्ष रोकायाले चिन्ता व्यक्त गरेकी छन्।
सेफ्टी प्रोटोकललाई कडाइ गरिएको प्राधिकरणको दाबी

नेपाल नागरिक उड्डयन प्राधिकरणले मनसुनको समयमा हुने हवाई दुर्घटना न्यूनीकरण गर्न तीन महिनाको लागि 'सेफ्टी प्रोटोकल' लाई कडाइका साथ लागु गरेको बताएको छ।
प्राधिकरणका उपप्रबन्धक ज्ञानेन्द्र भुलले “कसैलाई दुःख दिने नियतले नभई जनताको जीवन सुरक्षाका लागि सेफ्टी प्रोटोकललाई कडाइ गरिएको” बताए।
उनले भने, “मौसम अनुकूल भएको बेला खाद्यान्न ढुवानी, बिरामी ओसार पसार, आकस्मिक उद्धारको उडानमा भने रोक छैन।“
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








