किएभमा रुसी हमला : २३ जनाको मृत्यु र ईयूको कार्यालयमा क्षति, युरोपेली नेताहरू आक्रोशित

रुसी हवाई हमलामा परेर क्षतिग्रस्त भवनको भग्नावशेषमा उद्धारकर्मीहरू

तस्बिर स्रोत, Dmitry Vlasov

    • Author, केटी वाट्सन
    • Role, बीबीसी न्यूज, किएभ
    • Author, पोल किर्बी
    • Role, युरोप डिजिटल सम्पादक

युरोपेली सङ्घको कार्यकारी आयोगकी प्रमुख उर्जुला फोन डेर लाइअनले किएभमा जुलाई महिनायता भएको सबैभन्दा घातक रुसी आक्रमणप्रति आक्रोश व्यक्त गरेकी छन्।

युक्रेनको राजधानीमा बिहीवार राति भएको हमलामा युरोपेली सङ्घको प्रतिनिधिमण्डलको कार्यालयमा समेत क्षति पुगेको थियो।

युक्रेनी अधिकारीहरूका अनुसार बम विस्फोटमा चार बालबालिकासहित कम्तीमा २३ जनाको मृत्यु भएको छ र दर्जनौँ मानिस घाइते भएका छन्।

पाँचतले आवासीय भवन ध्वस्त भएको छ भने युरोपेली सङ्घको नियोग र त्यसनजिकै रहेको ब्रिटिश काउन्सिलमा क्षति पुगेको छ।

कडा शब्दहरू प्रयोग गरिएको एक विज्ञप्तिमा फोन डेर लाइअनले रुसले कूटनीतिक नियोगनजिकै क्षेप्यास्त्र प्रहार भएको बताएकी छन्: "२० सेकेन्डभित्र प्रतिनिधिमण्डल [भएको ठाउँ]मा ५० मिटरको दूरीमा दुइटा क्षेप्यास्त्र प्रहार भएका छन्।"

यस महिनाकै ठूलो हमला

युक्रेनी सेनाका अनुसार रुसले झन्डै ६०० वटा ड्रोन र ३० वटाभन्दा बढी बलिस्टिक तथा क्रूज क्षेप्यास्त्र प्रहार गरेको थियो। यस महिना युक्रेनी राजधानीमा भएको यो सबैभन्दा ठूलो हमला हो।

ज्यान गुमाउने मानिसमध्ये धेरैजसो किएभको दक्षिणपूर्वी भेगमा अवस्थित एउटा पाँचतले आवासीय भवनमा थिए।

बिहान करिब ३:०० बजे एउटा क्षेप्यास्त्र त्यहाँ बज्रिँदा उक्त भवन भत्किएको थियो।

खोज तथा उद्धारकर्ताहरू भग्नावशेष हटाउँदै जीवित मानिसहरूलाई खोज्न धुवाँ भरिएको भागमा चढेका थिए।

अधिकारीहरूका अनुसार मृतकहरू दुई वर्ष, १४ वर्ष र १७ वर्षका बालबालिका थिए। अरू धेरै जना घाइते भए।

किएभमा रुसी हवाई हमलामा परेको भवनको भग्नावशेषनजिकै उद्धारकर्मीहरू

तस्बिर स्रोत, Reuters

युद्ध अन्त्य गर्ने उद्देश्यसहित अमेरिकी नेतृत्वको कूटनीतिक प्रयासपछि भएको हमलाका कारण ब्रिटेन र युरोपेली सङ्घ निकै आक्रोशित भएका छन्।

ब्रिटिश प्रधानमन्त्री सर किअर स्टार्मरले रुसका भ्लादिमिर पुटिनलाई "शान्तिको आशालाई नियतवश बिगारेको" आरोप लगाए भने युरोपेली सङ्घका विदेशनीति प्रमुख काया कालासले "जानीजानी तनाव बढाउन खोजिएको र शान्ति स्थापना गर्ने प्रयासको खिल्ली उडाइएको" टिप्पणी गरिन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्कोले "वार्ताको टेबलको साटो क्षेप्यास्त्र" रोजेको बताउँदै रुसमाथि "नयाँ, कडा प्रतिबन्ध" को आवश्यकता दोहोर्‍याए।

क्रेम्लिनले रुस वार्तामा "अझै इच्छुक" रहेको बताएको छ। तर उर्जुला फोन डेर लाइअनले यी आक्रमणहरूले रुसले "युक्रेनलाई आतङ्कित गर्न जुनकुनै हदसम्म पुगेर" पुरुष, महिला र बालबालिकाको हत्या गर्दै ईयूलाई समेत तारो बनाउन सक्छ भन्ने सङ्केत गरेको बताइन्।

युक्रेनका लागि अमेरिकी विशेषदूत कीथ केलोगले आवासीय क्षेत्रहरूमा रुसको "भीषण आक्रमण" ले राष्ट्रपति डोनल्ड ट्रम्पले खोजिरहेको शान्तिलाई खतरामा पारेको बताए।

जर्मन चान्स्लर फ्रीड्रिख मेअर्ट्सले रूसले "फेरि आफ्नो वास्तविक अनुहार देखाएको" भन्दै ईयूको प्रतिनिधिमण्डलमाथि आक्रमण हुनु भनेको क्रेम्लिनको निर्लज्जता बढेको सङ्केत भएको बताए।

किएभमा एउटा आवासीय क्षेत्रमाथिबाट धुवाँ उड्दै गरेको देखिने तस्बिर

तस्बिर स्रोत, Dmitry Vlasov

ईयूका एक प्रवक्ताले कुनै पनि कूटनीतिक नियोगलाई कहिल्यै पनि लक्षित गर्नु नहुने बताउँदै त्यस हमलापछि ब्रसल्सस्थित रुसी उपनियोग प्रमुखलाई बोलाइएको बताइन्।

ब्रिटेनका लागि रुसी राजदूत आन्द्रेइ केलिनलाई समेत विदेश मन्त्रालयमा बोलाइएको थियो।

जेलेन्स्कीले युक्रेनका सहर तथा बस्तीहरूमा भएका हमला हप्तौँ र महिनौँदेखि "युद्धविराम र वास्तविक कूटनीति" को लागि भइरहेका आह्वानप्रति क्रेम्लिन स्पष्ट प्रतिक्रिया रहेको बताए।

बुधवार ऊर्जा पूर्वाधारमा भएका रुसी ड्रोन आक्रमणबाट एक लाखभन्दा बढी घरमा विद्यु्त् आपूर्ति बन्द भएपछि अहिले शृङ्खलाबद्ध क्षेप्यास्त्र हमला भएको हो। अधिकारीहरूले यी आक्रमणहरूमा मध्यभिनिट्सिया क्षेत्रमा थप ६०,००० उपभोक्ताहरू बिजुलीविहीन भएको बताए।

रुसी सेनाले युक्रेनी जलसेनाको पानीजहाजमा हमला गर्दा एक जनाको मृत्यु भएको छ भने कैयौँ मानिस घाइते भएका छन्।

रुसी रक्षा मन्त्रालयले डान्यूब नदीको मुखमा अवस्थित गुप्तचरी गर्न प्रयोग गरिएको जहाज 'सिम्फेरोपोल'लाई आक्रमण गर्न मानवरहित स्पीडबोट प्रयोग गरेको दाबी गरेको छ।

यद्यपि युक्रेनी सेनाले उक्त आक्रमण कहाँ भएको थियो भन्ने बारेमा केही खुलाएको छैन।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।