अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पबारे हामीलाई के थाहा छ

भिडिओ क्याप्शन सुरु हुँदैछ, भिडिओ हेर्नुहोस्: भूकम्पमा परेर घाइते भएका केही मानिसलाई हेलिकप्टरबाट उद्धार गरिएको छ
पढ्ने समय: ५ मिनेट

पूर्वी अफगानिस्तानमा आएको ६.० म्याग्निट्यूडको भूकम्पका कारण मृत्यु हुने मानिसको सङ्ख्या ८०० पुगेको र घाइतेको सङ्ख्या कम्तीमा २,५०० रहेको तालिबानको आन्तरिक मामिला मन्त्रालयले पुष्टि गरेको छ।

स्थानीय समयानुसार आइतवार राति ११ः४७ बजे गएको भूकम्पको केन्द्रबिन्दु देशको पाँचौँ ठूलो सहर जलालाबादबाट २७ किलोमिटर टाढा जमिनभन्दा आठ किलोमिटर तल रहेको बताइएको छ।

दुर्गम भेगबाट सूचना आउन बाँकी नै भएकाले हताहत हुने मानिसको सङ्ख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।

तालिबानका अनुसार कुनारमा ८०० मानिसको मृत्यु भएको छ भने नाङ्गर्हारमा पनि केही मानिसको शव फेला परेको छ।

प्रभावित क्षेत्रमा परकम्पहरू गइरहेका छन्। भूकम्पका कारण पहाडी क्षेत्रमा पहिरोले सडकहरू अवरुद्ध भएका छन् भने उद्धारकार्य पनि प्रभावित भएको छ।

यसअघि तालिबान सरकारका कैयौँ स्रोतहरूले दर्जनौँ घरहरू "भग्नावशेषमा परिणत" भएको बताएका थिए।

अफगानिस्तानको कुनार, जलालाबादस्थित एउटा बाटोमा घाइतेहरूलाई लिएर आएका दुई एम्बुलेन्स

तस्बिर स्रोत, EPA/Shutterstock

दुर्गम क्षेत्रमा उद्धारकार्यमा सघाउन तालिबान अधिकारीहरूले अन्तर्राष्ट्रिय मानवीय संस्थाहरूलाई आग्रह गरेका छन्।

पहिरो र बाढीका कारण त्यहाँका कतिपय भूकम्प प्रभावित इलाकामा हवाई उद्धार मात्र सम्भव देखिएको छ।

तालिबान सरकारले दुर्गम भेगमा उद्धार गर्न तथा प्रभावित क्षेत्रमा बसोबास मानिसहरूसम्म पुग्न हेलिकप्टरहरू प्रयोग गरेको छ।

जलालाबादमा तालिबानका सैनिक र सर्वसाधारण मानिसहरू मिलेर स्थानीय विमानस्थलमा घाइतेहरूलाई एम्बुलेन्समा राख्दै

तस्बिर स्रोत, Reuters

घाइतेहरूको उपचार र सहायताका लागि चिकित्सकहरू बोकेका कम्तीमा चारवटा हेलिकप्टरहरू कुनार प्रान्त पुगेको स्रोतहरूले बताएका छन्।

यसैबीच नाङ्गर्हार प्रान्तमा दर्जनौँको सङ्ख्यामा स्वयंसेवकहरू रक्तदान गर्न अस्पतालहरूमा पुगेका छन्।

भूकम्पले काबुलदेखि पाकिस्तानको राजधानी इस्लामाबादसम्मका भवनहरू हल्लाएको बताइएको छ। उक्त स्थान झन्डै ३०० किलोमिटर टाढा अवस्थित छ।

धेरैजसो भूकम्पको क्षति कुनार प्रान्तमा भएको ठानिएको छ जसको झन्डै ९० प्रतिशत भूभाग पहाडी छ।

सन् २०२२ को भूकम्पमा पनि यस्तै कठिनाइहरू देखा परेका थियो।

त्यस बेला झन्डै १,००० जनाको मृत्यु भएको थियो। पहिरोका कारण दुर्गम गाउँहरूमा खोज र उद्धार प्रयासहरू अवरुद्ध भएपछि हवाई मार्ग प्रयोग ​​गर्नुपरेको थियो।

अफगानिस्तानमा बारम्बार विनाशकारी भूकम्प किन

सन् २०२३ को अक्टोबरमा हेरात प्रान्तमा गएको भूकम्पले भत्काएका घरका भग्नावशेषमा सामान खोज्दै स्थानीय बासिन्दाहरू

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, सन् २०२३ मा आएको भूकम्पका कारण अफगानिस्तानमा १,५०० जनाको मृत्यु भएको राष्ट्रसङ्घको तथ्याङ्कले देखाउँछ

अफगानिस्तान 'इन्डिअन टेक्टोनिक प्लेट' र 'यूरेशिअन टेक्टोनिक प्लेट' जोडिने कैयौँ 'फल्ट लाइनहरू'माथि अवस्थित छ।

भूमिमुनि पृथ्वीभित्र रहेका टेक्टोनिक प्लेटमा अकस्मात् हलचल हुँदा भूकम्प जान्छ। प्लेटहरू ठोक्किएपछि बनेका दरारलाई फल्टलाइन भनिन्छ।

त्यसैले अफगानिस्तानलाई भूकम्पका दृष्टिले निकै जोखिममा रहेको क्षेत्र मानिन्छ।

सन् २०२३ को अक्टोबर महिनामा पश्चिमी प्रान्त हेरातमा आएको ६.३ म्याग्निट्यूडको भूकम्पमा परी झन्डै १,५०० जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कले देखाउँछ।

जमिनबाट केबल १४ किलोमिटर उत्पन्न भएकाले उक्त भूकम्पले धेरै क्षति गराएको थियो। अहिलेको भूकम्पको उत्पत्ति जमिनको सतहभन्दा अझ नजिकै मापन गरिएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, भिडिओ हेर्नुहोस्: नाङ्गर्हार विमानस्थलबाट हेलिकप्टरहरू उद्धारका लागि कुनार प्रान्तमा पठाइएको छ

अफगानिस्तानमा ढुङ्गा, काँचो इँटा, काठपात र कमजोर कङ्क्रिट प्रयोग गरेर बनाइने भएकाले कच्ची घर बनाउने चलन छ।

त्यसैले त्यस्ता संरचनाहरू भूकम्पका कारण सजिलै भत्किन सक्छन्।

भूकम्पपछि आउने पहिरोले पनि अफगानिस्तानका पहाडी भूभागमा धेरै क्षति पुग्छ। पहिरोले घरहरू भत्काइदिन्छ र नदीहरू थुनिदिन सक्छ।

पहिरोका कारण उद्धार र राहत वितरण पनि प्रभावित हुन्छन्।

यूनिसेफ राहत वितरण गर्ने तयारीमा

यूनिसेफको कार्यालयबाहिर सो निकायको नाम र लोगो

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, यूनिसेफले सयौँ घरहरू भत्किएको हुन सक्ने भन्दै आफूले राहत वितरण गर्ने तयारी गरेको जनाएको छ

संयुक्त राष्ट्रसङ्घको बालबालिका हेर्ने निकाय यूनिसेफले आफ्ना स्थानीय टोलीहरूले स्थानीय अधिकारीहरूसँग मिलेर भूकम्पका कारण नराम्ररी प्रभावित भएका स्थानहरूको पहिचान गर्ने प्रयास थालिएको जनाएको छ। सो निकायका अनुसार त्यस्ता स्थानमा सहयोग सामग्री पठाउने तयारी भइरहेको छ।

यूनिसेफको काबुलस्थित कार्यालयबाट बीबीसीसँग कुरा गर्दै सलाम अल जानबीले भूकम्पबाट सर्वाधिक क्षति पुगेका स्थानहरूमा सयौँ घरहरू ध्वस्त भएका हुन सक्ने तर त्यहाँसम्म पुग्ने सडकमार्ग अझै अवरुद्ध भएको बताए।

"पहाडी भूभाग भएकाले त्यहाँ एउटा घरमाथि अर्को घर बनाए जस्तै हुन्छ। त्यसैले सबै घरहरू एउटामाथि अर्को ढले जस्तै अवस्था छ," उनले भने।

उक्त निकायले स्वास्थ्य, बालबालिकाको सुरक्षा, पानी र सफाइलाई प्राथमिकतामा राखेको छ।

अफगान नागरिकहरू भूकम्पसँग अभ्यस्त भए पनि आकस्मिक प्रतिकार्यको महत्त्व नघट्ने उनले बताए।

"तपाईँले पहिला गर्नुभएको थियो भने पनि अहिले फरक पर्दैन। यस्तो घटना सधैँ दुःखद र कठिन हुन्छ," उनले भने।

अस्पतालमा घुइँचो

अफगानिस्तानको नाङ्गर्हार प्रान्तमा एउटा अस्पताल परिसरमा बिरामीलाई राख्ने स्ट्रेचर बोकेका मानिसहरू, अरू मानिसहरू कोही उभिएका छन् भने कोही हिँड्दै गरेका छन्

तस्बिर स्रोत, Health ministry

तस्बिरको क्याप्शन, नाङ्गर्हार प्रान्तमा अस्पतालमा घाइते र तिनका आफन्तको घुइँचो लागेको छ

अफगानिस्तानस्थित राष्ट्रसङ्घीय सहयोग मिशन यूनामा र जापानी दूतावासले धनजनको क्षति भएकोमा दुःख व्यक्त गर्दै सहयोग गर्ने बताएका छन्।

अफगानिस्तानमा अन्तर्राष्ट्रिय सहयोगलाई कुनै रोकटोक छैन। तालिबान सरकारले अन्तर्राष्ट्रिय सहयोग निकायहरूलाई भूकम्पबाट प्रभावित क्षेत्रहरूमा सहयोग उपलब्ध गराउनका लागि स्रोत र साधनलाई प्राथमिकता राख्न आह्वान गरेको छ।

तर अमेरिकी सहायता नियोग यूएसएआईडीका गतिविधिहरू यो वर्षको सुरुतिर बन्द भएपछि त्यसो प्रभाव अहिले सहायता वितरणमा देखिएको छ।

जलालाबादको मुख्य अस्पतालमा क्षमताभन्दा बढी बिरामीहरू छन्। उक्त अस्पतालम पाकिस्तानबाट निष्काशनमा परेका हजारौँ अफगानहरू हिँड्ने मार्गमा अवस्थित छ।

एक स्थानीय पत्रकारका अनुसार भूकम्पमा परेर घाइते भएका मानिसका आफन्तहरूलाई औषधि किन्न उक्त अस्पतालबाट बाहिर जान भनिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।