'कालको मुखमा परे जस्तो लाग्यो': अफगानिस्तानमा फेरि भूकम्प

अफगानिस्तान

तस्बिर स्रोत, Reuters

पश्चिमी अफगानिस्तानमा फेरि अर्को शक्तिशाली भूकम्प गएको छ। पाँच दिनअघि पनि त्यहाँ दुइटा ठूला भूकम्प जाँदा धनजनको ठूलो क्षति भएको थियो।

स्थानीय समयानुसार बिहान ५ः१० मिनेटमा फेरि पनि ६.३ म्याग्निट्यूडकै भूकम्प गएको विवरणमा जनाइएको छ।

हेरात सहरदेखि २८ किलोमिटर उत्तरमा भूकम्पले केन्द्रबिन्दु बनाएको बताइएको छ।

स्वास्थ्य अधिकारीहरूका अनुसार १०० जनाभन्दा बढी मानिस घाइते भएका र उनीहरुलाई अस्पताल पठाइएको जनाएका छन्।

यसअघि १,००० जनाभन्दा बढीको ज्यान जाने गरी शनिवार ६.३ म्याग्निट्यूडको भूकम्प गएको थियो।

सहायता संस्थाहरूले भूकम्पबाट प्रभावित स्थानमा वितरण गर्न कम्बल, खाद्यान्य र अरू सामग्रीको अभाव रहेको जनाएका छन्।

मध्य हेरातमा बस्ने एक महिलाले भूकम्पका कारण आफू बिउँझिएको र चिच्याउँदै घरबाट खाली खुट्टा बाहिर निस्किएको बताइन्। त्यहाँ केही घरहरू सकुशल छन्।

"म गहिरो निद्रामा थिएँ। केही दिनदेखि म सुत्नै पाएकी थिइनँ," उनले बीबीसीसँग भनिन्।

"यसअघि मलाई कहिल्यै पनि कालको मुखमा पुगे जस्तो लागेको थिएन।"

त्यसपछि दौडिँदै आफू सहरको बाह्य भागमा पुगेको उनले बताइन्। त्यहाँ यसअघि भूकम्प गएपछि मानिसहरू पाल टाँगेर बसेका छन्।

क्षतिको विवरण आउन बाँकी

अहिलेको भूकम्पले पुर्‍याएको क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ।

तर शनिवारको भूकम्पपछि घर गुमाएका मानिसहरू खुला आकाशमुनि सुतिरहेका बेला अर्को भूकम्प गएको हो।

शनिवारको भूकम्पले हेरात सहरदेखि ४० किलोमिटर परका कैयौँ गाउँहरू ध्वस्त पारेको थियो।

अफगानिस्तान

अफगानिस्तानमा किन गइरहन्छ भूकम्प?

जमिनमुनि पृथ्वीभित्र रहेका टेक्टोनिक प्लेटमा अकस्मात् हलचल हुँदा भूकम्प जान्छ। प्लेटहरू ठोक्किएपछि बनेका चिरालाई 'फल्टलाइन' भनिन्छ।

अफगानिस्तान भूकम्पको एकदमै उच्च जोखिममा छ किनभने यो भारतीय र युरेशियाली प्लेटहरू भेट हुने कैयौँ फल्टलाइनमाथि अवस्थित छ।

संयुक्त राष्ट्रसङ्घको मानवीय मामिला संयोजन निकायका अनुसार विगत एक दशकमा अफगानिस्तानमा भूकम्पका कारण ७,००० जनाभन्दा बढीले ज्यान गुमाएका छन्।

औसतमा प्रत्येक वर्ष ५६० जनाको मृत्यु भएको छ।

अफगानिस्तान

तस्बिर स्रोत, Getty Images

जापान र दक्षिण अमेरिकाका अरू देशहरूमा अफगानिस्तानमा भन्दा बढी भूकम्प जाने गर्छ।

तर अफगानिस्तान विशेष रूपमा उच्च जोखिममा छ किनभने त्यहाँ घरहरू भूकम्पप्रतिरोधी छैनन्।

त्यहाँ काठ र माटोको इँटले वा कमजोर कङ्क्रिटले घर बनाइन्छ।

भूकम्पका कारण पहाडहरूमा जाने पहिरोले पनि ठूलो क्षतिहरू गराउँछ।

त्यसले पहाडमा अवस्थित गाउँहरूमा रहेका घरहरू बगाउनुका साथै नदीहरू अवरुद्ध पारेर भीषण बाढी पनि आउन सक्छ।कतिपय अवस्थामा भूकम्प गएको खबर अधिकारीहरूसमक्ष पुग्न कैयौँ दिन पनि लाग्न सक्छ।

पहिरोले सडक बन्द गराउन पनि सक्छ जसले उद्धारकर्ता र उद्धार सामग्री दुर्गम पहाडी भेगसम्म पुर्‍याउन समय लाग्छ।

वर्षा वा हिउँ, तुवाँलो र एकदमै चिसोजस्ता चरम मौसमी अवस्थाले उद्धारका प्रयासलाई बारम्बार प्रभावित तुल्याइरहन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।