मुर्रा जातका राँगाभैँसी किन विशेष, कसरी गरिन्छ नस्ल सुधार

मुर्रा राँगा

तस्बिर स्रोत, Getty Images

    • Author, गनी अन्सारी
    • Role, बीबीसी न्यूज नेपाली

भारतले सहयोगस्वरूप दिने घोषणा गरेको मुर्रा जातका राँगाहरू एक-डेढ महिनाभित्र नेपाल आइपुग्ने नेपाली अधिकारीहरूले बताएका छन्।

ती राँगा नेपाल ल्याउनुअघि प्राविधिक पक्ष निरीक्षणका लागि विज्ञ एवं प्राविधिकलाई भारत पठाउने तयारी भइरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

भारतबाट मुर्रा जातका राँगा ल्याउने प्रयास २०७३ सालदेखि नै गरिए पनि अहिले आएर त्यो सफल भएकोमा पशु विकास अधिकारीहरू उत्साहित देखिएका छन्।

यसै महिना प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमणका क्रममा भारतले सहयोगस्वरूप १५ वटा राँगा दिने घोषणा गरेको हो।

भारतले दिने घोषणा गरेको मुर्रा जातिको राँगाको चर्चा हुने क्रम भने अझै जारी छ।

स्वदेश फर्केपछि प्रधानमन्त्री प्रचण्डले भारतबाट ल्याउन खोजिएको मुर्रा भैँसी नभई राँगा भएको भनेर सदनमा स्पष्टीकरण नै दिए।

यसअघि भारतबाट नेपालले भैँसी उपहार ल्याउन लागेको भन्दै विभिन्न टीकाटिप्पणी भएका थिए।

के छ सरकारी योजना?

नस्ल सुधार र विकासका लागि भारतबाट मुर्रा राँगा ल्याउन लागिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले स्पष्ट पारेको छ।

पशु सेवा विभागस्थित वरिष्ठ पशु विकास अधिकृत चन्द्र ढकालका अनुसार भारतले दिने मुर्रा राँगा सम्भवतः स्थलमार्गबाट ल्याइने छ। ती राँगा भारतीय पक्षले नेपाल‍-भारत सीमासम्म ल्याइदिने कुरा छ।

भारतीय मुर्रा राँगाहरूबाट तीन वर्षपश्चात् वार्षिक डेढ लाख मात्रा वीर्य सङ्कलन गरी कम्तीमा एक लाख भैँसीमा कृत्रिम गर्भाधान गराउने सरकारी योजना छ।

ढकालका अनुसार भारतबाट ल्याइने मुर्रा राँगालाई राष्ट्रिय पशु प्रजनन कार्यालयहरू लाहान र पोखरामा राख्ने योजना छ।

“आवश्यकता अनुसार केहीलाई अर्को प्रजनन कार्यालयमा पनि राख्न सकिन्छ,” बीबीसी न्यूज नेपालीसँग उनले भने।

ढकालका अनुसार प्रजनन कार्यालयहरूमा केही समय राखेर परीक्षण गरिएपछि ती राँगाबाट बल्ल वीर्य सङ्कलन गर्न थालिने छ।

“त्यसपछि देशभरि भैँसीहरूमा कृत्रिम गर्भाधानका लागि त्यसको प्रयोग गरिने छ,” उनले थपे।

रेखा
रेखा

मुर्रा राँगा र भैँसीका विशेषता के हुन्

नेपाल कृषि अनुसन्धान परिषद्‌का पूर्वप्रमुख चेतराज उप्रेतीका अनुसार नेपालमा अहिले दुई जातका भैँसीहरू पाइन्छन्।

रैथाने र आयातित उन्नत गरी दुई जातका भैँसी पाइन्छन्। स्थानीय भैँसीमा लिमे, पारकोटे, तराई, गड्डी जातका भैँसी रहेका छन्।

“स्थानीय हावापानीमा राम्ररी हुर्किन सक्ने भए पनि रैथाने जातका भैँसीहरूले धेरै दूध दिँदैनन्,” उनले भने।

ढकालका अनुसार नेपालमा अहिले ५२ लाखको हाराहारीमा भैँसी रहेको सरकारी तथ्याङ्क रहेकोमा त्यसको ५३ प्रतिशत जति मुर्रा जातका छन्।

भारतले दिन लागेको "उच्च प्रजननमान" का मुर्रा राँगा किनेर पाउन मुस्किल हुने उनी बताउँछन्।

“नेपालमा हुने स्थानीय जातको भैँसीले एक बेतमा सरदर ८०० लिटर दूध दिन्छ भने भारतमा मुर्रा भैँसीको औसत दूध उत्पादन प्रतिबेत २,५०० लिटरभन्दा बढी देखिएको छ,” विशेषताबारे उनले थपे।

वरिष्ठ पशु विकास अधिकृत ढकालका अनुसार नेपाल ल्याउन लागिएका उच्च प्रजननमानका मुर्रा राँगाहरू “उत्कृष्टमध्ये उत्कृष्ट” रहेका छन्।

“औसतमा प्रतिबेत ४,००० लिटरभन्दा बढी दूध भएका भैँसीका राँगा छान्न लागिएको हो,” उनले भने।

वीर्य सङ्कलन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, राँगाबाट सङ्कलित वीर्य कृत्रिम गर्भाधानका लागि प्रयोग गरिन्छ

भारतमै किसानहरूले एउटा मुर्रा भैँसी दुई-तीन लाख भारुसम्म किनबेच गर्ने गरेका विवरण सुन्ने गरिएको ढकाल बताउँछन्।

“नेपालमै पाइने मुर्रा भैँसी दूध उत्पादनको हिसाबले तीन-चार लाख रुपैयाँसम्ममा पनि खरिदबिक्री हुने गरेको सुनिन्छ,” उनले भने।

दूधमा हुने ठोस पदार्थका आधारमा पनि मुर्रा जातका भैँसीहरू उत्कृष्ट रहेको नार्कका पूर्वप्रमुख उप्रेती बताउँछन्।

“मुर्रा भैँसीको दूधमा ६ देखि ८ प्रतिशत फ्याट (चिल्लो पदार्थ) र ८ प्रतिशतभन्दा बढी एसएनएफ (सोलिड्स-नट-फ्याट) अर्थात् चिल्लो तत्त्वबाहेकको ठोस पदार्थ पाइन्छ,” उनले थपे।

“दूधको मूल्य यिनै दुई तत्त्वको आधारमा निर्धारण हुने गरेको छ।”

‘विशेष हेरचाह’

पशु विकास अधिकारीहरूका अनुसार नस्ल सुधारका लागि प्रयोग गरिने राँगा वा साँढेहरूलाई विशेष किसिमले पालिन्छ।

“तिनीहरूको आहारा लगायतका कुरामा विशेष ध्यान दिइन्छ। तिनीहरूको वीर्य र शारीरिक तौलका आधारमा आहारा दिइन्छ,”ढकालले भने।

“घाँस, पराल र दाना दिइनुका साथै वीर्य सङ्कलनका बेला क्याल्सिअम, फस्फरस सुई पनि दिइन्छ।”

उप्रेतीका अनुसार प्रजनन केन्द्रमा एउटा राँगाबाट हप्तामा तीन पटकसम्म वीर्य सङ्कलन गर्ने गरिन्छ।

“त्यसपछि प्रशोधन गरिन्छ र वीर्यलाई तरल नाइट्रोजनसँग फ्रोजन अवस्थामा राखिन्छ,,” उनले भने।

“प्रशोधन गरिएको वीर्य लामो समयसम्म ठूलाठूला ‘मदर कन्टेनर’ मा राखिन्छ। सानोसानो फ्रिजमा पनि राखेर कृत्रिम गर्भाधानका लागि विभिन्न ठाउँमा पुर्‍याइन्छ।”

दानामा आवश्यक मात्रामा खनिज तत्त्व उपलब्ध नहुन सक्ने भएकोले अतिरिक्त पोषक तत्त्व पनि दिने गरिएको उनी बताउँछन्।

“एउटा राँगा तीन वर्षको उमेरमा वयस्क हुन्छ। आठ वर्षको उमेरसम्म स्वस्थ खालको वीर्य उत्पादन हुन्छ,” उप्रेतीले थपे।