त्रिभुवन विश्वविद्यालयले काम गर्न विदेशिएकाहरूलाई अनलाइन पढाउने

नेपाली युवा

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, लाखौँ नेपाली युवाहरू वैदेशिक रोजगारीका लागि अन्यत्र जाँदा कैयनको पढाइ छुट्ने गरेको पाइन्छ
    • Author, सञ्जय ढकाल
    • Role, बीबीसी न्यूज नेपाली

देशको सबभन्दा ठूलो र सबभन्दा पुरानो विश्वविद्यालयले विदेशमा काम गर्न गएका नेपालीहरूलाई तिनको पढाइ नछुटोस् भन्ने उद्देश्यले उतै बसेर पठनपाठन गर्न सकिने व्यवस्था गर्न लागिएको बताएको छ।

त्रिभुवन विश्वविद्यालय सभाको साधारण बैठकले यसै साता पारित गरेको नीति तथा कार्यक्रममा वैदेशिक रोजगारमा गएका नेपालीहरूलाई अनलाइन कक्षा सञ्चालन गर्ने विषय परेको छ।

आगामी शैक्षिक सत्रदेखि नै यस्तो पठनपाठन थालिने विश्वविद्यालयका रेक्टर (शिक्षाध्यक्ष) प्राध्यापक खड्ग केसीले बताएका छन्।

कसरी हुन्छ पठनपाठन

अहिले पनि हरेक दिन झन्डै २,००० नेपालीहरू कामको खोजीमा विदेश गइरहेका छन्। लाखौँ मानिसहरू विदेशमा श्रम गरिरहेका छन्। तीमध्ये कतिपयले आफ्नो पढाइ बीचमै छाडेर गएको पाइन्छ।

"हामी राष्ट्रिय विश्वविद्यालय भएका कारण हाम्रो सार्वजनिक दायित्व पनि छ। स्नातक वा स्नातकोत्तर तहका विद्यार्थीहरू बीचमै पढाइ छाडेर खाडी देश वा दक्षिण कोरियालगायत दक्षिणपूर्वी एशियामा गएको भन्ने हामीले सुन्दै आएका छौँ। पढाइ निरन्तर गर्न चाहने इच्छुकहरूप्रति यो लक्षित छ," प्राध्यापक केसीले भने।

विदेशमा गएका श्रमिकहरूले नेपालको अर्थतन्त्र धान्दै आएको तर आफैँ चाहिँ असुरक्षित कार्यस्थल अनि अनिश्चयपूर्ण भविष्य लिएर काम गर्न बाध्य हुने हुनाले उनीहरूलाई पनि उच्च शिक्षाको धोको पूरा गर्न दिन नयाँ कार्यक्रम ल्याइएको उनले बताए।

उनका अनुसार धेरैले त्रिभुवन विश्वविद्यालय नै पढिरहेको र बीचमा छुटेपछि पनि यसैको डिग्री खोज्ने गरेका छन्। त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेको ओपन एन्ड डिस्टान्स एजुकेशन सेन्टर (ओडेक)ले उक्त कार्यक्रम सञ्चालन गर्ने केसीले बताए।

ओडेकका उपनिर्देशक इन्द्रराज उपाध्यायका अनुसार एलएमएस (लर्निङ म्यानेजमन्ट सिस्टम) प्ल्याट्फर्मबाट 'टिम्स' र 'मूडल'मा आधारित भएर अनलाइन पठनपाठन गर्न सकिन्छ।

"टिम्समार्फत् भिडिओ गरेर पढाइन्छ अनि मुडल भन्ने छ जसमा विभिन्न क्रियाकलाप सेट गरेर राख्न सकिन्छ। शिक्षकहरूलाई हामीले प्रशिक्षित गरेका हुन्छौँ अनि उनीहरूले जुनजुन विषयमा विद्यार्थीहरू भर्ना भएका हुन्छन् त्यसको पाठ्यक्रमलाई विभाजित गरेर मोड्युलर रूपमा राखिएको हुन्छ। यो अन्तर्राष्ट्रिय मापदण्डकै हुन्छ," उपाध्यायले बताए।

यस्तो प्रणालीमा अनलाइनमै विद्यार्थीहरूलाई भिडिओ, टेक्स्ट, क्विज, गेमिफिकेशन गरिएका सामग्री तथा असाइन्मन्टहरू राख्न सकिने उनले बताए।

त्रिभुवन विश्वविद्यालय सभाको साधारण बैठकमा प्रधानमन्त्री सुशीला कार्की सहभागी

तस्बिर स्रोत, TU

तस्बिरको क्याप्शन, त्रिभुवन विश्वविद्यालय सभाको साधारण बैठकले नीति तथा कार्यक्रम पारित गरेको छ

"हामीले थुप्रै शिक्षकहरूलाई अनलाइन अध्यापनमा प्रशिक्षित गरिसकेका छौँ। वास्तवमा भौतिक रूपमा कक्षाकोठामा पढाउनभन्दा अनलाइनमा पढाउन दुई, तीन गुना नै गाह्रो काम हो। यसमा प्राविधिक ज्ञान तथा कम्प्युटरको ज्ञान पनि आवश्यक पर्छ।"

यस्ता अनलाइन पढाइको समय पनि लचक पार्न सकिने उनले बताए। "विदेशको समयानुसार बिहान, बेलुका, दिउँसो वा मध्यराति पनि पढाउन सकिन्छ," उपाध्यायले भने।

यसका प्राविधिक तथा अन्य विस्तृत पक्षहरू बिस्तारै प्रस्ट पारिँदै जाने उनले बताए।

कुनकुन विषय पढ्न पाइन्छ

ग्राफिक्स चित्र

अहिलेका निम्ति प्रयोगात्मक (प्र्याक्टिकल) सिकाइ नचाहिने विषयहरूमा मात्र यो सुविधा उपलब्ध गराइने त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्राध्यापक खड्ग केसीले बताए।

"प्रयोगात्मक कार्य गर्नुनपर्ने विषयहरूमा, ‍जस्तो कि व्यवस्थापन, शिक्षा, मानविकी, कानुनमा, हामीले अनलाइन पठनपाठन गराउन सक्छौँ," उनले भने।

पाठ्यक्रम साविककै रहने अनि अनलाइन भर्ना आह्वान हुँदा इच्छुकहरूले दर्ता गरेर पढ्न सक्ने व्यवस्था मिलाइने बताइएको छ। यसबारे सार्वजनिक सूचना यहाँको श्रम मन्त्रालय तथा सम्बन्धित देशमा रहेका नेपाली दूतावासमार्फत् जारी गर्न सकिने पनि बताइएको छ।

न्यूनतम शुल्क लिएर अनलाइन पढाइने अनि भौतिक परीक्षा आवश्यक पर्दा दूतावासहरूको सहयोग लिन सकिने बारे सोचविचार भइरहेको प्राध्यापक केसीले बताएका छन्।

कसलाई हुन्छ फाइदा

त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा विद्यार्थीहरू

तस्बिर स्रोत, TU

तस्बिरको क्याप्शन, त्रिभुवन विश्वविद्यालय नेपालको पहिलो र सबैभन्दा ठूलो विश्वविद्यालय हो

वैदेशिक श्रम मामिलाका जानकार गणेश गुरुङ त्रिभुवन विश्वविद्यालयको पछिल्लो योजनाले धेरै नेपाली श्रमिकहरू लाभान्वित हुने ठान्छन्।

"मलाई यो खबर सुनेर असाध्यै खुसी लागेको छ। म बेलाबेला खाडी राष्ट्र तथा मलेशिया गइरहन्छु। जाने बेला श्रमिक भाइबहिनीहरूलाई म के ल्याइदिऊँ भनेर पनि सोध्छु। अधिकांशले किताब ल्याइदिनूस् भन्छन्। त्यसैले त्यो अभिलाषा छ," गुरुङले भने।

"धेरै नेपाली युवाहरू एसईई सिध्याएर वा १२ कक्षापश्चात् बाहिर जान्छन् अनि त्यसपछि उनीहरूको पढाइ र वृत्तिविकासका ढोका बन्द हुन्छन्। यो नयाँ पहलले ती ढोका खुल्न सक्छन्," उनले भने।

त्यसरी पढाइलाई निरन्तरता दिन सके ती श्रमिकलाई उतै बस्दा पनि आफ्ना सीप र दक्षता तिखार्न अनि स्वदेश फर्कँदा पनि वृत्तिविकास गर्न सघाउ पुग्ने उनले बताए।

"अझ उनीहरूको प्राविधिक सीपसम्बन्धी ज्ञानलाई पनि यसै गरी अनलाइनबाट बढोत्तरी गराउन सकिएमा उतै पनि उनीहरूको दक्षता बढ्ने थियो।"

हाल अधिकांश नेपाली श्रमिकहरू अदक्ष वा कम दक्ष भएकाले असुरक्षित क्षेत्रमा अनि थोरै पैसाका निम्ति काम गर्न बाध्य हुने गरेको जानकारहरू बताउँछन्।

तर जानकारहरू विदेशमा रहेका विद्यार्थीहरूले तिनको कामबाट कुन समय फुर्सद निकाल्न पाउलान् अनि अनलाइन माध्यम उनीहरूका लागि कतिको उपयोगी र सहज होला भन्ने जस्ता चुनौती बाँकी रहेको बताउँछन्।

तथापि कोभिड महामारीका बेला अधिकांश विद्यालय तथा कलेजहरूले अनलाइन शैली अपनाएको अनुभव अनि विश्वका अग्रणी विश्वविद्यालयहरूले पनि अनलाइन पाठ्यक्रम तथा पठनपाठन अपनाएको सन्दर्भमा त्रिभुवन विश्वविद्यालयको योजना सान्दर्भिक रहेको जानकारहरूले बताएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।