गाजामा नरसंहार हुने गतिविधि रोक्न इजरेललाई आईसीजेको अन्तरिम आदेश, तर युद्धविराम गर्न भनिएन

तस्बिर स्रोत, Reuters
संयुक्त राष्ट्रसङ्घको शीर्ष अदालतले इजरेलविरुद्धको नरसंहार मुद्दा आफ्नो क्षेत्राधिकारभित्र पर्ने पुष्टि गरेको छ।
एउटा अन्तरिम आदेश दिने क्रममा इन्टरन्याश्नल कोर्ट अफ जस्टिस आईसीजेको अध्यक्षता गरेकी न्यायधीश जोआन डोनोघ्युले इजरेलको मागदाबी बमोजिम अदालतले मुद्दा खारेज नगर्ने बताइन्।
उक्त अदालतले इजरेलविरुद्ध आपत्कालीन आदेशहरू समेत जारी गरेको छ।
त्यसमा उसले इजरेललाई प्यालेस्टिनीहरूको हत्या वा उनीहरूलाई क्षति पुर्याउने काम रोक्न र आधारभूत सेवा र मानवीय सहायता पुर्याउने उपाय चाल्न आदेश दिएको छ।
तर इजरेलले तत्काल युद्धविराम गर्नुपर्ने भन्दै दक्षिण अफ्रिकाले गरेको मागमा अदालत सहमत भएन।
इजरेलले आफ्नो सेनाले नरसंहार हुने कुनै गतिविधि नगर्ने सुनिश्चित गर्नुपर्ने समेत आईसीजेले भनेको छ।
इजरेलले हमासविरुद्ध जारी लडाइँमा प्यालेस्टिनीविरुद्ध नरसंहार गरेको भन्दै आईसीजेमा दक्षिण अफ्रिकाले मुद्दा दायर गरेको थियो।
इजरेलविरुद्धको आदेशलाई अदालतले लागु गराउन सक्दैन तर यो राजनीतिक रूपमा महत्त्वपूर्ण छ।
इजरेलले नरसंहार गरेको हो वा होइन भन्ने तय गर्न आईसीजेले वर्षौँ लगाउन सक्छ।
प्रतिक्रिया

तस्बिर स्रोत, Reuters
इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले आदेशप्रति प्रतिक्रिया जनाउँदै इजरेलले "अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्दै आफू र आफ्ना नागरिकको प्रतिरक्षा गर्ने काम जारी राख्ने" बताए।
उनले इजरेलले "पूर्ण जित हासिल नगर्दासम्म" र "सबै बन्धकहरू नफर्किएसम्म यस युद्ध जारी राख्ने" बताए।
दक्षिण अफ्रिकाले अदालतले दिएका आदेशको स्वागत गर्दै त्यसलाई अन्तर्राष्ट्रिय कानुनी राजको एउटा निर्णायक जित र प्यालेस्टिनी जनताको न्यायको खोजीमा उल्लेख्य कोशे ढुङ्गा भएको बताएको छ।
तर दक्षिण अफ्रिकाकी विदेशमन्त्री नलेदी पान्दोरले पत्रकारहरूसँग भनिन्: "म आदेश कार्यान्वयन गर्ने क्रममा युद्ध विराम हुनुपर्नेमा विश्वास गर्छु जसबिना आदेशले खास काम गर्दैन।"
प्यालेस्टिनी विदेश मन्त्री रियाद अल-मलिकीले आदेश मानवताको पक्षमा भएको प्रतिक्रिया दिँदै त्यसको स्वागत गरेका छन्।
इजरेलका एकजना उग्र दक्षिणपन्थी खेमाका सुरक्षामन्त्री इताम्बर बेन-गिभिरले आदेशलाई अस्वीकार गर्दै आईसीजे यहुदी विरोधी अदालत बनेको आरोप लगाए।
इजरेल र दक्षिण अफ्रिका पक्षराष्ट्र भएको महासन्धि
इजरेलले गत अक्टोबर ७ मा हमासले इजरेलमाथि गरेको हमला र क्षतिको प्रतिउत्तरमा गाजामा आफूले कारबाही गरेको बताउँदै आएको छ।
इजरेलले आत्मरक्षाका लागि त्यस्तो कारबाही गरिएको र आफूले प्यालेस्टिनी जनताविरुद्ध नभई हमासविरुद्ध निशाना बनाइरहेको जनाएको छ।
यद्यपि दक्षिण अफ्रिकाका न्यायमन्त्रीले यसअघि आईसीजेमा बोल्ने क्रममा नरसंहारसम्बन्धी महासन्धिलाई उल्लङ्घनलाई कुनै पनि आक्रमणले पुष्टि गर्न नसक्ने बताए।
इजरेलले सन् १९४८ को उक्त महासन्धिमा हस्ताक्षर गरेको छ।

उक्त महासन्धिले नरसंहार भनेको के हो भनेर परिभाषित गरेको छ भने राष्ट्रहरूलाई नरसंहार रोक्न प्रतिबद्ध बनाउँछ।
आईसीजेले संयुक्त राष्ट्रसङ्घको सबैभन्दा उच्च तहको अदालत हो र यसको मुख्यालय नेदल्यान्डस्को द हेगमा रहेको छ।
आईसीजेका सदस्य राष्ट्रहरूका लागि कानुनी रूपमा उसका आदेशहरू बाध्यकारी हुन्छन्।
दक्षिण अफ्रिका र इजरेल दुवै आईसीजेका सदस्य हुन्।
तर ती आदेशहरू कार्यान्वयन गर्न दुवै देशलाई बाध्य बनाउन भने सकिँदैन।
इजरेल-हमास युद्ध

तस्बिर स्रोत, Getty Images
गाजामा इजरेली आक्रमणमा परेर हालसम्म २५ हजार ९०० जनाभन्दा बढीको ज्यान गइसकेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यसमा अधिकांश महिला र बालबालिका रहेका छन्।
गत वर्ष अक्टोबर ७ मा हमासले इजरेलमा गरेको आक्रमणमा एक हजार दुई सयभन्दा बढी मानिस मारिएका थिए भने हमासले २४० जना जतिलाई बन्धक बनाएको थियो।
त्यसपछि इजरेलले गाजामा लगातार आक्रमण गरिरहेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








