नेपाल निर्वाचन: ८० सीट वरपर मान्छ भन्ने प्रचण्डको दाबीप्रति कांग्रेसको जबाफ यस्तो

धनगढीमा प्रचण्ड

तस्बिर स्रोत, RSS

आगामी मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका निम्ति सत्तारूढ गठबन्धनभित्र सीट बाँडफाँटको कसरत अन्तिम चरणमा पुग्दै गर्दा माओवादी अध्यक्ष प्रचण्डले आज गठबन्धनभित्रको पछिल्लो दाबीबारे बोल्दै नेपाली कांग्रेसले ८० सीट वरपर चित्त बुझाउने सङ्केत गरेका थिए।

तर त्यसबारे प्रतिक्रिया जनाउँदै कांग्रेसका प्रवक्ताले चाहिँ त्यो केवल प्रचण्डको प्रस्तावमात्र भएको जबाफ दिएका छन्।

पछिल्लो दाबी कति कति?

पाँच दलीय सत्तारूढ गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (समाजवादी), जनता समाजवादी तथा राष्ट्रिय जनमोर्चा रहेका छन्।

उनीहरूले खासगरी प्रतिनिधिसभा तथा प्रदेशसभाका प्रत्यक्ष निर्वाचित हुने सीटहरूमा तालमेल गर्ने प्रयत्न गरिरहेका छन्।

संविधानअनुसार २७५ सीटको प्रतिनिधिसभामा १६५ सिट प्रत्यक्ष निर्वाचितका निम्ति छुट्ट्याइएको छ।

त्यस्तै ७ प्रदेशका सभाहरूका ५५० सीटमध्ये ३३० प्रत्यक्ष निर्वाचितका निम्ति छुट्ट्याइएको छ।

अहिले चर्चाको केन्द्रमा चाहिँ प्रतिनिधिसभाको १६५ सीटको बाँडफाँट नै रहेको छ।

"नेपाली कांग्रेसले सुरुमा १०० सीट भनेको थियो। अहिले ८० को वरिपरि आउने सम्भावना बढ्दो छ," मङ्गलवार बिहान धनगढीमा पत्रकारहरूसँग बोल्दै प्रचण्डले भने।

"हामीले पनि ६० सीट भनेका छौँ। त्यसैको वरिपरि निर्णय हुन्छ भन्ने विश्वास छ।"

उनका अनुसार समाजवादी पार्टी र जनता समाजवादी पार्टीले २५/२५ सीट वरिपरिमा दाबी गरिरहेका छन्।

शेरबहादुर देउवा

तस्बिर स्रोत, RSS

कांग्रेसको जबाफ

दाबी गरेका सीटहरूको हिसाब गर्दा १६५ भन्दा धेरै नाघिसकेको देखिन्छ।

उसोभए कांग्रेस अब ८० सीटको सेरोफेरोमा खुम्चन राजी भएको हो?

"त्यो उहाँ (प्रचण्ड)को प्रस्ताव हो। हामीले परिणामकेन्द्रित भएर बाँडफाँट गरौँ भनिरहेका छौँ," कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले भने।

उनका अनुसार कांग्रेस आवश्यक लचिलो हुन तयार छ तर त्यस्तो लचकता 'पार्टी पङ्क्तिले पनि स्वाभाविक मान्ने किसिमको नभए भोटमा परिणत हुँदैन।'

नेकपा (समाजवादी)का नेता माधवकुमार नेपालले बेलाबेला गठबन्धनभित्र कांग्रेसले अधिक सीट दाबी गरेर दम्भ देखाइरहेको आरोप लगाउँदै आएका छन्।

त्यसको जबाफमा महतले भने, "वहाँले किन त्यसो भनिरहनुभएको छ थाहा छैन। हामी दिल फुकाउन तयार छौँ तर त्यो मत आधारसँग मिल्दो पनि त हुनु पर्‍यो।"

टुङ्गोमा कहिले?

गठबन्धन दलका नेताहरू सम्मिलित कार्यदललाई सीट बाँडफाँट टुङ्ग्याउने काम दिइएको छ।

"मिलेको जति मिलाउने गरी प्रदेश र क्षेत्रसहित सीट सङ्ख्या टुङ्ग्याउन साथीहरूलाई आज (मङ्गलवार) बेलुकासम्म समय दिइएको छ। भोलि शीर्ष तहमा बसेर अन्तिम रूप दिने भनिएको छ," प्रचण्डले भने।

निर्वाचन आयोगको कार्यक्रमअनुसार समानुपातिकतर्फ पार्टीहरूले बन्दसूचीको नाम पेश गर्ने समय असोज २ र ३ गतेलाई तोकिएको छ।