नेपाल निर्वाचनः गठबन्धनका ४ दलबीच ६ महानगर र ११ उपमहानगरपालिकाको भागबन्डामा सहमति

तस्बिर स्रोत, Getty Images
सत्ताधारी गठबन्धनमा सहभागी दलहरूबीच आसन्न स्थानीय तहको निर्वाचनका निम्ति महानगर र उपमहानगर पालिकामा उठाउने प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारको भागबन्डामा सहमति भएको छ।
बुधवार साँझ भएको सहमति अनुसार गठबन्धन सरकारको नेतृत्वमा रहेको नेपाली कांग्रेस पार्टीले तीन महानगर सहित सात वटा उपमहानगरपालिकामा प्रमुख पदमा उम्मेदवारी दिने भएको छ।
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले सञ्चारमाध्यमहरूलाई उपलब्ध गराएको उक्त सम्झौता पत्रमा गठबन्धनमा सहभागी पाँच दलका प्रमुख नेताहरूले हस्ताक्षर गरेका छन्।
गठबन्धनको दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले एक महानगरपालिका सहित दुई उपमहानगर र नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले बराबर एक महानगर र एक उपमहानगरमा प्रमुख पदमा उम्मेदवारी दिने भएका छन्।
गठबन्धनको साझेदार राष्ट्रिय जनमोर्चाको भागमा भने कुनै पनि महानगर र उपमहानगरको प्रमुख तथा उपप्रमुख पद परेको छैन।
कांग्रेसको भागमा काठमाण्डू, ललितपुर र विराटनगर महानगर साथै धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिकाको प्रमुख पदको उम्मेदवारी परेको छ।
माओवादीको भागमा भरतपुर महानगरपालिका सहित जितपुर-सिमरा र घोराही उपमहानगरपालिका परेका छन्।
उपप्रमुखमा कुन दलले कहाँ उम्मेदवारी दिँदै छन्?
एकीकृत समाजवादीको भागमा पोखरा महानगर र हेटौँडा उपमहानगरको उम्मेदवारी परेको छ। जनता समाजवादीले वीरगञ्ज महानगर र जनकपुर उपमहानगरमा उम्मेदवारी दिनेछ।
सहमति अनुसार कांग्रेसले वीरगन्ज, भरतपुर र पोखरा महानगरपालिकाको उपप्रमुखमा आफ्नो उम्मेदवारी दिने भएको छ।
कांग्रेसले जितपुर-सिमरा, घोराही, हेटौँडा र जनकपुरको उपप्रमुखमा उम्मेदवारी दिने सहमतिमा उल्लेख छ।
माओवादी केन्द्रले ललितपुर महानगर सहित धरान र धनगढी उपमहानगरमा उपप्रमुखमा उम्मेदवारी दिने सहमति भएको छ।
नेकपा एमालेबाट अलग भएपछि पहिलो पटक स्थानीय निर्वाचनमा सहभागिता जनाउन लागेको एकीकृत समाजवादीले काठमाण्डू महानगर सहित इटहरी, बुटवल र तुलसीपुर उपमहानगरमा उपप्रमुखको उम्मेदवारी दिने सहमति गठबन्धनले गरेको छ।
जनता समाजवादी पार्टीले विराटनगर महानगर सहित कलैया र नेपालगन्ज उपमहानगरमा उपप्रमुखको उम्मेदवारी दिने सहमति भएको छ।
"कुनै कारणवश सहमति बन्न नसकेको स्थानमा पाँच दलीय गठबन्धन भित्रै एक आपसमा समझदारी गरी मित्रवत् प्रतिस्पर्धा गर्न सकिने समेत सहमति भयो," पाँच दलीय गठबन्धनबीच भएको सहमति पत्रमा उल्लेख छ।








