काबुल गुरुद्वारा आक्रमणः दुई जनाको मृत्यु, सशस्त्र आक्रमणकारीहरू पनि मारिए

घटनास्थलनजिकै तालिबानका सुरक्षाकर्मी

तस्बिर स्रोत, EPA

काबुलस्थित एउटा सिख मन्दिरमा आक्रमण हुँदा एक सर्वसाधारण नागरिक र एक तालिबान सुरक्षाकर्मीको मृत्यु भएको छ। उक्त घटनामा आक्रमणकारीहरूको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

आक्रमणकारीहरू को हुन् त्यो खुल्न बाँकी नै छ।

शनिवार बिहानै आक्रमण हुँदा करत-ए-परवान गुरुद्वारामा ३० जनाजति मानिस भएको उक्त धार्मिक स्थलका एक अधिकारीले बताएका थिए।

काबुल प्रहरीका प्रवक्ता खालिद जदरानका अनुसार आक्रमण गर्न आएका सबै जना कारबाहीका क्रममा मारिएका छन्।

यसअघि तालिबान नेतृत्वको सरकारको गृह मन्त्रालयका प्रवक्ता अब्दुल नफी टकूरले बीबीसीलाई गुरुद्वाराबाहिर केही विस्फोटन भएका र त्यसपछि केही सशस्त्र व्यक्ति गुरुद्वारा परिसरभित्र छिरेको बताएका थिए।

आक्रमणका बेला गुरुद्वाराभित्र भएका मानिसको अवस्थाबारे सर्वत्र चिन्ता व्यक्त भएको थियो।

"कति जना जीवित छन् वा कति जनाको मृत्यु भयो भन्ने हामीलाई थाहा छैन," सिंहले समाचारसंस्था रोएटर्सलाई भनेका थिए।

उनका अनुसार तालिबानले कसैलाई भित्र जान दिएको थिएन।

स्थानीय टेलिभिजन टोलोले विस्फोटन भएको क्षेत्रबाट धुवाँको बाक्लो मुस्लो उडेको दृश्य प्रसारण गरेको थियो।

अफगानिस्तानस्थित एउटा गुरुद्वारा

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, फाइल तस्बिर

अहिले घटना भएको गुरुद्वारा काबुलमा बाँकी भएको अन्तिम सिख मन्दिर हो।

सिख समुदायका नेताहरूका अनुसार अहिले अफगानिस्तानमा सिख धर्मावालम्बीको सङ्ख्या १४० जति छ।

सन् १९७० को दशकमा अफगानिस्तानमा सिखको जनसङ्ख्या एक लाखजति थियो।

कसरी भयो आक्रमण?

अफगान गृह मन्त्रालयका प्रवक्ता टकूरका अनुसार स्थानीय समयानुसार बिहान साढे ६ बजेतिर आक्रमण भएको थियो।

करत-ए-परवान गुरुद्वारा परिसरमा प्रवेश गर्नुअघि आक्रमणकारीहरूले त्यहाँ परिचालित सुरक्षाकर्मीमाथि ग्रिनेड प्रहार गरेको टकूरले बताए। ग्रिनेड प्रहार भएपछि त्यहाँ आगो लागेको थियो भने दुई व्यक्ति घाइते भएका थिए।

आक्रमणकारीहरूलाई "धर्म र देशका शत्रु" को सङ्ज्ञा दिँदै टकूरले उनीहरूले भिडभाड भएको ठाउँमा आक्रमण गर्न खोजेको बताए। तर आफ्नो लक्ष्यसम्म पुग्न नपाउँदै उनीहरूले कारमा विस्फोट गराएको जानकारी उनले दिए।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

टकूरका अनुसार गुरुद्वारामा आक्रमणकारीहरूलाई घेरिएको थियो र चाँडै परिस्थिति नियन्त्रणमा ल्याइएको थियो।

केही प्रत्यदर्शीहरूका अनुसार त्यहाँ एकपछि अर्को गर्दै कैयौँ पटक विस्फोटन भएको थियो र धुवाँको मुस्लो उडेर आकाशसम्म पुगेको थियो।

त्यसपछि सरकारी सुरक्षाकर्मीहरूले चेतावनी दिँदै हवाई फायर गरेका थिए। अहिले पूरै क्षेत्र सुरक्षा निकायको नियन्त्रणमा छ।

भारत चिन्तित

घटनाबारे भारत सरकारले चिन्ता प्रकट गरेको छ।

भारतीय विदेशमन्त्री एस जयशङ्करले ट्वीट गर्दै काबुलमा भएको आक्रमणको भर्त्सना गरेका छन्।

"गुरुद्वारा करत-ए-परवानमा भएको कायरतापूर्ण आक्रमणको कडा शब्दमा निन्दा गर्नुपर्छ। हामीहरू आक्रमणको समाचार पाएदेखि नै घटनाक्रम नियालिरहेका छौँ।"

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

यसअघि भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भारतले त्यहाँको परिस्थिति नियालिरहेको र थप जानकारीको प्रतीक्षामा भएको जनाएका थिए।

सत्तारूढ दल भारतीय जनता पार्टीका नेता मनजिन्दर सिंह सिरसाले अफगान सैनिकहरूले गुरुद्वारामा आक्रमण गर्न आएका दुई आतङ्कवादीलाई मारिदिएको दाबी गरेका छन्।

उनका अनुसार उक्त घटनामा तीन सैनिक पनि घाइते भएका छन्।

तालिबान आएपछि पनि काबुलमा आक्रमण

गत वर्ष तालिबान पुनः अफगानिस्तानको सत्तामा फर्किएको थियो। त्यसपछि काबुलमा बेलाबेलामा आक्रमण हुने गरेको छ।

गत डिसेम्बर महिनामा एउटा सैन्य अस्पतालमा बन्दुक र बम आक्रमण हुँदा २० जनाभन्दा बढीको मृत्यु भएको थियो।

एप्रिलमा काबुलस्थित एउटा मस्जिदमा ग्रिनेड प्रहार हुँदा छ जना घाइते भएका थिए। इस्लामिक स्टेट अफ खोरासान प्रोभिन्स (आईएसआईएस-के) ले उक्त आक्रमण आफूले गराएको दाबी गरेको थियो।