श्रीलङ्का: विरोध प्रदर्शनबीच सङ्कटकाल घोषणा

प्रदर्शनकारीले जलाएको भनिएको सवारी साधनहरू।

तस्बिर स्रोत, NURPHOTO/GETTY IMAGES

श्रीलङ्कामा राष्ट्रव्यापी सङ्कटकाल घोषणा भएको छ। राष्ट्रपतिको निवासबाहिर भएको विरोध प्रदर्शनले हिंसात्मक रूप लिएको एक दिनपछि सङ्कटकाल घोषणा गरिएको हो।

बिहीवार कोलम्बोस्थित राष्ट्रपति गोटबय राजपक्षको निजी निवास नजिकै प्रदर्शनकारीहरूले छेकबारहरू भत्काएका र सवारीसाधनहरूमा आगो लगाएका थिए।

अहिले त्यहाँ सेनालाई तैनाथ गरिएको छ र आरोपितहरूलाई पक्राउ पुर्जीबिना पक्राउ गर्ने अधिकार दिइएको छ।

श्रीलङ्का ठूलो आर्थिक सङ्कटबाट गुज्रिरहेको छ। यो केही हदमा चरम विदेशी मुद्रा अभावका कारण निम्तिएको अवस्था हो, जसलाई इन्धन आयातको भुक्तानीका लागि प्रयोग गरिन्थ्यो।

दैनिक १२ घण्टाभन्दा बढी हुने विद्युत् कटौती, इन्धन र अत्यावश्यक खाद्यान्न तथा औषधिको अभावका कारण २ करोडभन्दा बढी जनसङ्ख्या भएको यस टापु राष्ट्रमा आम मानिसको आक्रोश उच्च विन्दुमा पुगेको छ।

राष्ट्रपति भवन अगाडि भएको विरोध प्रदर्शनको घटना शान्तिपूर्ण रूपमा आरम्भ भएको थियो। प्रदर्शनकारीहरूका अनुसार प्रहरीले उनीहरूमाथि अश्रु ग्यास र पानीको फोहरा प्रहार गर्नुका साथै कुटपिट गर्न थालेपछि अवस्था हिंसात्मक बनेको हो।

प्रदर्शनकारीहरूले पनि प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए। उक्त प्रहारबाट कम्तीमा दुई दर्जन प्रहरी घाइते भएको रोएटर्स समाचार संस्थाले जनाएको छ।

शुक्रवार ५३ जना प्रदर्शनकारीलाई गिरफ्तार गरिएको र पाँच जना फोटो पत्रकारलाई हिरासतमा राखी यातना दिइएको एएफपी समाचार संस्थाले जनाएको छ। सरकारले उक्त आरोपबारे अनुसन्धान गर्ने बताएको छ।

श्रीलङ्का

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, अश्रु ग्यास प्रहारपछि प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुङ्गा प्रहार गरेका थिए

कारबाही भए पनि विरोध प्रदर्शन जारी रह्यो र त्यो देशका अन्य भागहरूमा बिस्तार भएको थियो।

त्यहाँको राजधानीमा प्रदर्शनकारीले राष्ट्रपतिको राजीनामाको माग गर्दै प्रदर्शन गरेका थिए।

एएफपीका अनुसार श्रीलङ्का सरकारले राजधानीमा लगातार दोस्रो रात पनि कर्फ्यू लगाएको छ र देशको पश्चिमी प्रान्त पनि कर्फ्यू आदेश अन्तर्गत समावेश गरेको छ।

राष्ट्रपति राजपक्षले सार्वजनिक सुरक्षा, सार्वजनिक व्यवस्थाको संरक्षण र आपूर्ति र अत्यावश्यक सेवाहरू सुनिश्चित गर्न सङ्कटकाल घोषणा गर्ने निर्णय भएको बताए।

देशका लागि संयुक्त राष्ट्र सङ्घकी प्रतिनिधि हना सिंगर-हाम्डीले ट्विटमार्फत सबै समूहलाई संयम अपनाउन आह्वान गरेकी छन्।

सन् २०१९ मा बहुमत प्राप्त गरी सत्तामा पुगेका राजापक्षले देशमा स्थायित्वको प्रतिबद्धता जनाएका थिए। तर, जारी प्रदर्शनले उनको लोकप्रियतामा ठूलो परिवर्तन भएको सङ्केत गर्छ।