होली: कमसल रङ्ग प्रयोग गरिरहँदा क्यान्सर र मिर्गौला रोगको सम्भावना

होली
तस्बिरको क्याप्शन, राजधानी काठमाण्ठूमा होलीको रमाइलो गर्दै महिलाहरू
    • Author, विष्णु पोखरेल
    • Role, बीबीसी नेपाली सेवा

डेढ दशकदेखि राजधानी काठमाण्डूमा सौन्दर्य व्यवसाय गर्दै आएकी लक्ष्मी महतकहाँ केही वर्षदेखि 'होली खेलेपछि अनुहारमा दाग निस्कियो' भन्दै आउने महिलाहरू बढ्न थालेका छन्।

उनको अनुमानमा होली खेलेकै कारण यस्तो समस्या लिएर आउने महिलाको सङ्ख्या बर्सेनि वृद्धि भइरहेको छ।

उनी भन्छिन्, "१५ वर्षको मेरो अनुभवमा होली खेलेरै अनुहार बिग्रियो भन्दै आउनेको सङ्ख्या बढेको दुई-तीन वर्ष जति भयो होला। त्यस अघि यस्तो समस्या त्यत्ति धेरै आउदैन थियो।"

महतका भनाइमा होली खेल्न प्रयोग गरिएको रङ्गका कारण अनुहारमा चाया पोतो आएको, छाला डढेको, दाग लागेको, चिलाएको र स-साना फोकाहरू आएको समस्या लिएर महिलाहरू आउने गरेका छन्।

सावधानी

"उनीहरूको समस्या हेर्दा होली खेल्दा जुन पायो त्यही रङ्ग प्रयोग गरिएको र आवश्यक सावधानी नअपनाएको जस्तो देखिन्छ," उनी भन्छिन्।

"कतिपयले चाँहि सावधानी अपनाउँदा पनि रङ्गको गुणस्तर कमजोर भएर त्यस्तो भएको हुनसक्छ।"

बुधवार काठमाण्डू उपत्यका सहित देशका पहाडी भागमा, बिहीवार तराई र शुक्रवार मिथिला क्षेत्रमा मनाइने होलीलाई रङ्गहरूको पर्व भनिन्छ।

यस पर्वमा रातो अबिरसहित विभिन्न खाले रङ्गहरू प्रयोग हुने गर्छन्।

बजारमा विभिन्न गुणस्तरका अबिर उपलब्ध रहेको व्यवसायी र प्रयोगकर्ता बताउँछन्।

तर पछिल्ला वर्षहरूमा सस्तो मूल्यमा पाइने धेरै रसायन मिसिएका अबिर र अन्यखाले रङ बजारमा आएको प्रयोगकर्ताहरू बताउँछन्।

'रसायन हुनसक्छ'

आफ्नै अनुभव सुनाउँदै सौन्दर्य व्यवसायी महत भन्छिन्, "बुधवार मैले नै किनेको रङ्ग त्यस्तै परेछ। साँझ घरमा आएर मैले कति सफा गर्दा पनि गएको छैन।"

महतकै जस्तो अनुभव छ, अर्की सौन्दर्य व्यवसायी दीपा बनको।

उनी भन्छिन्, "संवेदनशील छालाका लागि अहिले बजारमा उपलब्ध रङ्गहरू ठीक छैनन्। त्यस्तो छाला हुनेहरूमा धेरै खाले समस्या देखिन्छन्।"

होली खेल्दा प्रयोग गरिएको रङ्गका कारण छालामा समस्या लिएर आउनेहरूलाई विभिन्न उपाय अपनाएर 'ट्रिटमेन्ट' गरिने उनी बताउँछिन्।

होली

त्यस्तो रङ्गले अनुहार मात्र नभई शरीरभर छालामा विभिन्न समस्या हुने गरेको पाइएको चिकित्सकहरूको अनुभव छ।

चाया पोतो देखि घाउ खटिरासम्म

धुलिखेल अस्पतालको छाला रोग विभागका प्रमुख डाक्टर धर्मेन्द्र कर्णका अनुसार पछिल्ला वर्षहरूमा होलीपश्चात् विभिन्न छाला सम्बन्धी रोग लिएर आउनेहरू बढेका छन्।

उनी भन्छन्, "रङ्गको प्रयोग गर्दाखेरि चिलाउने, दुख्ने घाउ खटिरा बढ्ने र पहिले देखि नै भएको रोगहरू बल्झने गरेको देखिएको छ।"

कर्णले रङ्गका कारण छालाको एलर्जी, घामको एलर्जी, डन्डिफोर र कत्ले रोगजस्ता समस्या धेरै देखिने गरेको बताए।

"कतिपय रङ्गमा त सिसाका कण र गम्भिर प्रकृतिका रसायनहरू समेत भेटिन्छ," कर्णले भने, "त्यस्तो रङ्ग धेरै मात्रा र समयसम्म प्रयोग गर्दा क्यान्सर र मिर्गौलाको रोग समेत लाग्न सक्छ।"

रमाइला नेपाली पर्वहरू मध्येको एक होलीमा बालबालिकादेखि वृद्धवृद्धासम्म रङ्ग र पानीसँग रमाउने गर्छन्।

होली

अनुपयुक्त रङ्ग

तर पछिल्ला वर्षहरूमा विशेषगरी युवा पुस्ताले घर पोत्ने खनिजयुक्त रङ्गहरू पनि अनुहारमा लगाउन थालेका छन्।

त्यसको असर जप जटिल हुने सौन्दर्य व्यवसायी र चिकित्सकहरूले बताए।

उनीहरूका भनाइमा त्यस्ता रङ्ग प्रयोग गर्दा बाहिरबाट हेर्दा निख्रिएजस्तो देखिए पनि अनुहार र अन्य भागमा रहेका स-साना छालाका प्वालहरूमा टाँसिएर रहने गर्छन्।

"त्यस्ता प्वालहरूमा टाँसिएर रहेको रङ्गले अझ धेरै नकारात्मक असर पार्नसक्छ," कर्ण भन्छन्।

होली खेल्नेहरू मध्ये कतिपयले रङका कारण छालाको एलर्जी सामना गरेको अनुभव सुनाए।

विकल्प: आयुर्वेदिक

तीन दशक अघि देखि होली खेल्दै आएकी बूढानीलकण्ठकी निशा बस्नेत भन्छिन्, "रङ्गहरू त छालामा एलर्जी ल्याउने खालका पनि हुन्छन्। त्यही भएर मैले चाँहि व्यक्तिगत रूपमा आयुर्वेदिक रङ्ग प्रयोग गरिरहेकी छु।"

बस्नेत जस्तै ललितपुरको कुपण्डोलकी कल्पना विष्ट पनि एलर्जीबाट बच्न आयुर्वेदिक रङ्ग खोज्छिन्।

होली

"बजारमा सबैखाले रङ्ग पाइन्छन्। तर आफैँ सचेत भएर असर नगर्ने खालको खोज्नुपर्छ," उनी भन्छिन्।

भक्तपुरकी सोनी दनुवार चाँहि रङ्गले अनुहार र छालामा असर गर्ने ठानेर थोरै मात्र रङ्ग प्रयोग गर्छिन्।

उनले भनिन्, "जे कुरा पनि धेरै प्रयोग गर्‍यो भने त्यसले नकारात्मक असर गर्छ। रङ्ग पनि थोरै मात्र प्रयोग गर्नुपर्छ।"

'ब्रिक्री रोक्नुपर्छ'

रङ्गका साथमा कतिपयले फोहोर पानी तथा अन्य रसायनहरू समेत मिसाएर होलीमा प्रयोग गर्ने गरेको जानकारहरू बताउँछन्।

त्यसले शरीरमा घाउ खटिरा आउने खतरा थप बढाउने चिकित्सकहरूको भनाइ छ।

नक्सालकी सरिना पाण्डेका अनुभवमा भने कतिपय रङ्गहरू लगाएको तीन-चार दिनसम्म पनि सफा गर्दा समेत जाँदैन।

"त्यस्तो रङ्गलाई त बिक्री वितरण नै हुन नदिनु पर्ने हो," उनी भन्छिन्।

धुम्बाराहीकी अप्सरा राई भने रङ्ग प्रयोग गर्दा उपभोक्ता पनि सचेत हुनुपर्ने ठान्छिन्।

उनले भनिन्, "केमिकल हालेको रङ्ग छ छैन भनेर हामी प्रयोग गर्ने मान्छे नै सचेत बन्नुपर्छ। हुनत अहिले धेरै मान्छे सचेत भएको जस्तो पनि लाग्छ।"

होली

कसरी बच्ने?

चिकित्सक र सौन्दर्य व्यवसायीहरू रङ्गबाट छालामा पुग्नसक्ने असरबाट बच्न होली खेल्नुपूर्व देखि नै तयारी गर्नुपर्ने सुझाव दिन्छन्।

उनीहरूका अनुसार सकेसम्म प्राकृतिक, जैविक वा आयुर्वेदिक रङ्ग प्रयोग गर्न सुझाउँछन्।

छालारोग विशेषज्ञ कर्ण भन्छन्, "विशेषगरि सुक्खा छालाले रङ्गहरूलाई सोस्ने काम गर्छ। त्यसबाट बच्न शुरुमै क्रिमहरू लगाउन सकिन्छ। प्राकृतिक तेल पनि प्रयोग गर्दा हुन्छ।"

यसरी क्रिम वा तेल प्रयोग गरेको छालामा रङ्ग भित्रैसम्म नपुग्ने र सफा गर्दा सहज हुने उनको तर्क छ।

उनी सुक्खा रङ्गहरू मात्र प्रयोग गर्न सुझाव दिन्छन्। त्यस्तै इनामेल वा खनिजयुक्त रङहरू त प्रयोग नै गर्नु नहुने कर्णले बताए।

सौन्दर्य व्यवसायी महत पनि होली खेल्न शुरु गर्दाखेरि नै बचावटका उपया अपनाउन सुझाव दिन्छिन्।

होली खेलेपछि रङ्गलाई साबुन, स्याम्पु वा अनुहार सफा गर्ने क्रिमहरू प्रयोग गरेर सफा गर्नुपर्ने उनको भनाइ छ।

यसरी सफा गर्दा कहिल्यै पनि घोट्ने वा रगड्ने गर्नु नहुने बताउँदै उनी भन्छिन्, "कत्ति जनाले जबरजस्ती गर्दा पनि एलर्जी आएको देखिएको छ।"

चिकित्सक र सौन्दर्य व्यवसायीहरू सबै उपाय अपनाउँदा अपनाउँदै पनि समस्या देखिए तत्काल चिकित्सकलाई देखाउन सुझाव दिन्छन्।