गोविन्द केसी: स्वास्थ्य स्थिति बिग्रेपछि १६औँ आमरण अनशन स्थगित

गोविन्द केसी

तस्बिर स्रोत, Abhishek Raj Singh

    • Author, नेत्र केसी
    • Role, बीबीसी नेपाली सेवा

सरकारले आफूसँग गरेको सम्झौताअनुसार नै चिकित्सा शिक्षा विधेयक पारित हुनुपर्ने मुख्य माग राख्दै आएका डाक्टर गोविन्द केसीले २४ दिनअघि थालेको आमरण अनशन अहिलेलाई स्थगित गरेका छन्।

तर केसीको मागविपरीत प्रतिनिधिसभाले पारित गरेको उक्त विधेयक बिहीवार राष्ट्रिय सभाबाट पनि अनुमोदित भएको थियो।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको उपस्थितिमा उनले अनशन फिर्ता लिएका हुन्।

सरकारले केसीको मागलाई बेवास्ता गरेको भए पनि उनको स्वास्थ्यलाई ध्यानमा राखेर अनशन फिर्ता लिन विभिन्न व्यक्तित्वहरूले उनलाई आग्रह गरेका थिए।

त्यसपछि केसीले अनशन फिर्ता लिने निर्णय गरेको उनका सहयोगी डाक्टर अभिषेक सिंहले बताए।

अहिलेका लागि अनशन फिर्ता लिए पनि चिकित्सा शिक्षाको क्षेत्रमा सुधारका लागि आफू लागिरहने डाक्टर केसीले बताएका छन्।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

Presentational white space

चिकित्सकहरुले स्वास्थ्य अवस्था निकै बिग्रिएको भन्दै आईसीयूमा भर्ना गर्नुपर्ने सल्लाह दिएका भए पनि डाक्टर केसीले मानेका थिएनन्।

उनका मागप्रति ऐक्यबद्धता जनाउँदै चिकित्सकहरूले देशभरि नै शुक्रवार आकस्मिकबाहेक अन्य स्वास्थ्यसेवा बन्द गरेका थिए।

सरकार र सत्तारूढ दलले भने केसीका माग पूरा भइसकेको दाबी गर्दै आएका छन्।

राष्ट्रिय सभामा बोल्दै बिहीवार पनि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले केसीसँग गरिएको सम्झौताअनुसार नै उक्त विधेयक आएको दाबी गरेका थिए।

संसद्को निर्णयपछि डा. केसीका मागबारे सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पत्रकार सम्मेलनमा अनशनको औचित्य समाप्त भएको बताएका थिए।

उनले भनेका थिए, "केही मानिसको हठका कारण संसद्लाई बन्धक बनाउन पाइँदैन। त्यसैका आधारमा दुईतिहाइको सरकारलाई अधिनायकवादी भन्न पाइँदैन, त्यो कुण्ठा हो। त्यसलाई अहिलेको सरकारले मलमपट्टी लगाउन सक्दैनन्, बेला आएपछि जनताले लगाइदिन्छन्।"

केसी

"जस-जसले उहाँलाई बोक्नु भएको छ, उहाँहरूले नै त्यसको अवतरण गराउनु पर्छ। अब त माग पूरा भइसक्यो।"

सोह्रौँ पटकको अनशन केसीले पूर्वी जिल्ला इलामबाट गरेका थिए।

अनशन सुरु गर्नुअघि पत्रकार सम्मेलन गरेर केसीले आवश्यक परे प्रधानमन्त्री र नेकपाका अर्का अध्यक्ष प्रचण्डविरुद्ध 'जिहाद छाडिने' बताएका थिए।

स्वास्थ्यस्थिति बिग्रेपछि त्यहाँ उपचारको राम्रो प्रबन्ध नभएको भन्दै केसीलाई इलामबाट सेनाको हेलिकप्टरबाट काठमाण्डू ल्याइएको थियो।

तर उनले आफ्नो अनशन जारी राखेका थिए।

यसअघि उनी १५ औँ अनशनका बेला जुम्ला पुगेका थिए। त्यहाँबाट उनलाई सरकारले नै काठमाण्डू ल्याएको थियो।