Skip to main contentAccess keys helpA-Z index
BBCNepali.com
हिन्दी
उर्दू
बंगाली
तमिल
सिंहला
24 जुलाई, 2008 16:04 GMT सम्मका समाचारहरु
साथीलाई ई मेल गर्नुस्छाप्न मिल्ने
संविधानसभा अध्यक्षमा नेम्वाङ निर्विरोध निर्वाचित
सुवास नेम्वाङ
यसअघि सुवास नेम्वाङले अन्तरिम व्यवस्थापिका संसदमा सभामुखको भूमिका निर्वाह गरेका थिए
संविधानसभाको अध्यक्षमा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरिएको छ।

संविधानसभाको बिहीबारको बैठकले उक्त घोषणा गरेपछि तीन महिना अघि गठन भएको संविधानसभाले नेतृत्व पाएको छ।

यसअघि सभा अध्यक्षमा सर्वसम्मतिले उम्मेदवारी दिने कोशिस असफल भएको थियो।

त्यसपछि राष्ट्रपतिको चुनावमा माओवादीलाई पछारेको नेपाली कांग्रेस, नेकपा एमाले र मधेसी जनअधिकार फोरम लगायतका दलहरूको गठबन्धनको तर्फबाट नेम्वाङ चुनावी मैदानमा उत्रिएका थिए।

तर पछि अरू कोहीपनि चुनावी प्रतिस्पर्धामा नआएपछि सभाअध्यक्षको निम्ति बिहीबारका लागि तोकिएको मतदान नै गर्नु परेन।

संविधानसभाको बैठकमा ज्येष्ठ सदस्य कूलबहादुर गुरुङले आफूले निर्वाह गर्दै आएको संविधानसभा अध्यक्ष पदमा नेम्वाङ निर्विरोध चुनिएको घोषणा गरेका थिए।

चुनौतीपूर्ण भूमिका

एक सफल कानून व्यवसायीको पृष्ठभूमि बोकेका एमाले नेता नेम्वाङको निम्ति उक्त जिम्मेवारी नयाँ भने हैन।

उनी पछिल्लो जनआन्दोलनको सफलता पछि पुनर्स्थापित प्रतिनिधिसभा र त्यसपछि बनेको माओवादी सहितको व्यवस्थापिका-संसदको सभामुख थिए।

तर अब उनी ती दुबैभन्दा निकै ठूलो ६०१ सदस्यीय संविधानसभाको नेतृत्व सम्हाल्दै छन्।

संविधानसभामा विगतमा भन्दा दलहरूको संख्या निकै धेरै छ भने तिनको जनाधार पनि फरक छ।

राजा विरूद्धको लडाईं जितेपछि बेला-बेला सत्ताको घम्साघम्सी गरेपनि प्राय: साखुल्ले देखिने गरेका ठूला दलहरूबीचको सहमतिको साइनो अहिले आएर गम्भीर संकटमा परेको छ।

ती दलहरूबीच शक्ति हत्याउने होडबाजी पनि उत्तिकै देखिन्छ।

त्यही होडका माझ संविधानसभा शुरू हुँदा नहुँदै झण्डै दुई साता रोष्ट्रम घेराउ र सदन अवरूद्ध भैसकेको छ।

नव निर्वाचित अध्यक्ष नेम्वाङले ती यावत चुनौतिको सामना गर्नु पर्नेछ।

उनले भने, "नयाँ संविधान बनाउन २५ वटै दलहरूबीच समझदारीको खाँचो छ। म त्यसको निम्ति क्रियालशील हुनेछु। संविधानसभा अध्यक्षको निर्विरोध चयनपछि ममा थप विश्वास जागेको छ।"

संविधानसभाको उपाध्यक्षको चयन र अन्य समितिहरूको गठन हुन भने बाँकी नै छ।

ताजा समाचार
साथीलाई ई मेल गर्नुस्छाप्न मिल्ने
हाम्रो बारेमा|सम्पर्क ठेगाना|सहयोग|गोप्यता
BBC Copyright Logo^^ शुरुमा जानुहोस्
मुख पृष्ठ|अन्य आकर्षण|मौसम|कार्यक्रमहरु|साझेदारहरु|फ्रिक्वेन्सीहरु
BBC News >> | BBC Sport >> | BBC Weather >> | BBC World Service >> | BBC Languages >>