मधेशी पहिचानको बहस

तस्बिर स्रोत, madhesicommunityfacebook
- Author, चन्द्र किशोर
- Role, पत्रकार
मधेश तरार्इको एउटा अभिन्न भूभाग हो, जसले पृथक पहिचान बोकेको छ, यो पहिचान केवल भौगोलिक बनोटको कारणले उब्जिएको होइन।
तरार्इमा पहाडीमूलका मानिसको बसोवासको लामो परम्परा भएपनि अहिले पनि उनीहरुलाई धेरैले आप्रवासीको रुपमा हेर्ने गर्दछन्।
मधेशी शब्द मूलत: गैरपहाडीमूलका नेपालीलाई सम्बोधन गर्न प्रयोग गर्ने गरिन्छ।
पृथक
राजनीतिकर्मी जयप्रकाश गुप्ताका अनुसार, मधेश एक सांस्कृतिक पहिचान हो, जुन पहाडभन्दा फरक छ ।
उनी भन्छन्, मधेश कुनै स्थान वा समुदायको सांस्कृतिक पहिचान, इतिहास, जातजाति, भाषा, रहनसहन जस्ता एक भन्दा बढी तत्वको संयोजनबाट बनेको छ।
पहिलो संविधानसभाको राज्यको पुर्नसंरचना र राज्यशक्तिको बाँडफाँड समितिले मधेशी पहिचानलार्इ चित्रण गर्दे भनेको छ, ʺ प्राग ऐतिहासिक, ऐतिहासिक, वैदिक कालखण्डहरुमा समेत रहेको विदेह, विराट, सलहेश, सिम्रौनगढ, शाक्य लगायतका गणराज्यहरुका वासिन्दाहरु कालान्तरमा मधेशी भनेर एउटा विशेष पहिचान र राष्ट्रियताको रुपमा एकतावद्ध भइरहेको समुदाय हो।ʺ
राजनीतिशास्त्री कृण्ण हाछेथुको विश्लेषणमा मधेश एक बहुजातीय, बहुभाषिक र बहुधार्मिक स्थल भएपनि यसको एउटा साझा सांस्कृतिक पहिचान छ, जसको बनोट साझा मनोविज्ञानबाट बनेको छ।
तरार्इ मूलका हिन्दुधर्माबलम्बी विभिन्न जात होउन् वा मुसलमान, सुदूरपूर्व झापामा बसोवास गरेका राजवंशी होउन् वा सुदूर पश्चिम कञ्चनपुरका थारु, मैथली मातृभाषी होउन् वा अवधिभाषी, हाछेथु भन्छन्, यी सबै समुदायको साझा दृष्टिकोण के छ भने मधेश र मधेशीहरु पहाड केन्द्रित नेपाली राज्यसत्ताबाट पीडित छन्।
सोच
खुला सिमाना र सीमापारिका मानिससंगको सांस्कृतिक सामिप्यताको कारण मधेशीहरुको राष्ट्रियतामाथि शंका गर्ने चलनले गर्दा मधेशी पहिचान अस्तित्वमा आएको वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसका उपप्राध्यापक ललन द्धिवेदी बताउँछन् ।
उनका अनुसार पारि भारततिर समान सांस्कृतिक समूहका बसोवास गभएपनि त्यहाँ मधेशी पहिचान छैन, यो पहिचान नेपालभित्र नै खोजिएको र स्वीकारिएको छ ।
उनी भन्छन्, मधेशीको धार्मिक परम्परा, भाषा, जातपातको व्यवस्था, खानपान, पहिरन मनोरञ्जनको शैली, जस्ता पक्षहरु सीमापारिका भारतको विहार र उत्तर प्रदेशका वासिन्दासंग मिल्दोजुल्दो छ ।
त्यसैगरी राजनीतिकर्मी गोपाल ठाकुर पहाडी समुदायका मानिसहरु ठूलो संख्यामा मधेशीमूलका जनजातिहरुको बाहुल्यता रहेको जिल्लाहरुमा बसाइ सर्दा, ती जनजातिहरु आफ्नै क्षेत्रमा अल्पमत परेको बताउँछन्।
विक्रम संवत २००८/०९ सालतिर करिब ६ प्रतिशत मात्र रहेको पहाडी मूलका वासिन्दाको आवादी अहिले तराईमा करिब ४० प्रतिशत पुगेको बताइन्छ।
सारभूत रुपमा मधेशी पहिचानको खोजी राज्यसंग सम्बन्ध निर्धारणको क्रममा नेपालको दक्षिणी भूगोलमा रैथाने बसोवास भएका तर बहिस्करणमा पारिएको भनिएको समुदायको अस्मिताको विषय भएको मधेशी अधिकारकर्मीहरु बताउँछन् ।
उनीहरु भन्छन्, मधेशीहरुले राज्यमा पहिचान, पहुँच र प्रतिनिधित्व खोजेका हुन्।
यही क्रममा समावेशिता, संघीयता, जनसंख्याको आधारमा प्रतिनिधित्व, राष्ट्रियताप्रतिको फराकिलो बुझाइ जस्ता मागहरु अगाडि आएका छन्।
सहअस्तित्व
तरार्इको भूगोलमा जो जसरी र जहिले बसोवास गर्न आइपुगे पनि यस क्षेत्रमा सुरक्षा र सम्मानका साथ बस्न पाउनु सबैको हक हो भन्नेमा कसैको विमति नहोला ।
त्यो मधेशी पहिचान स्वंय र अर्को समुदायसंगको सम्बन्धमा सहअस्तित्वको खोजी पनि हो ।
नेपालीत्वमा गर्व गर्ने एकजना मधेशीको नाताले म भन्न सक्छु, मधेशीहरुको भाषासंस्कृति सिंगो नेपालको साझा सम्पत्ति हो ।
यिनीहरुको सामाजिक, आर्थिक, राजनीतिक विकास नगरी न त नेपालको विकास नै सम्भव छ न त नेपाली राष्ट्रियता नै मजबुत हुनसक्दछ ।
पहाड र मधेशबीचको अन्तरसम्बन्धको जगमा नै नेपालको समृद्धि र राष्ट्रियताको जगेर्ना सम्भव छ ।
त्यसैले राष्ट्रिय संरचनाभित्र मधेशीहरुलाई ससम्मान समावेश गर्नैपर्छ र राज्यले यो समुदायलार्इ विश्वासमा लिनै पर्दछ।
तर मधेशी नेताहरुले पनि मधेशको अधिकारको नाममा समाजमा तिक्तता बढाउने र सिंगो राष्ट्रप्रतिको जिम्मेवारीमा आघात पुर्याउने काम गर्नुहुंदैन ।








