मोदीको मन्दिर बनाउने योजना स्थगित

प्रधानमन्त्री नरेन्द्र मोदीको असहमतिका कारण उनको मूर्ती सहितको मन्दिर संचालनमा ल्याउने योजना रोकिएको छ।

तस्बिर स्रोत, Prakash Ravrani

तस्बिरको क्याप्शन, प्रधानमन्त्री नरेन्द्र मोदीको असहमतिका कारण उनको मूर्ती सहितको मन्दिर संचालनमा ल्याउने योजना रोकिएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मूर्ती राखेर मन्दिर स्थापना गर्ने उनका समर्थकहरुको योजना स्थगित गरिएको छ।

प्रधानमन्त्री मोदीले भारतीय परम्परा विपरित गुजरातको कोठारीयामा त्यस्तो मन्दिर बनाउने खबरले आफूलाई स्तब्ध तुल्याएको बताएपछि पछिल्लो निर्णय आएको हो।

उक्त मन्दिर बनाउने योजनामा सामेल व्यक्तिहरुले अब त्यसलाई मातृभुमी भारत प्रति समर्पित एउटा धार्मिक स्थानमा रुपान्तरण गर्ने जनाएका छन्।

मोदीको मूर्ती सहितको हिन्दु मन्दिर उनको गृह राज्य गुजरातको कोठारीया गाउँमा आइतबारबाट सञ्चालनमा ल्याउने तयारी गरिएको थियो।

स्तब्ध

सामाजिक सञ्जाल ट्वीटर मार्फत प्रधानमन्त्री मोदीले, उनकै शब्दमा भारतको महान परम्परा विपरितको त्यस्तो योजनाले आफूलाई स्तब्ध तुल्याएको भन्दै मन्दिर नबनाउन आफ्ना समर्थकहरुलाई आग्रह गरेका थिए।

मन्दिर निर्माणमा जुटेको स्थानीय संगठन ओम युवा समुहका प्रमुख जयेश पटेलले बीबीसी हिन्दीसँग कुराकानी गर्दै मोदीले ट्वीटर मार्फत दिएको सन्देशपछि मूर्ती हटाउने निर्णय भएको बताए।

उनले भने, “हाम्रो आस्था वहाँमाथि कायम छ, मन्दिरमा भगवान हुनैपर्छ त्यसैले अब यहाँ भारत माताको मूर्ती राख्छौँ।”

मोदीको हिन्दु राष्ट्रवादी दल भारतीय जनता पार्टी गएको मे महिनामा सत्तामा आएको थियो।

उनले यसै हप्ताको सुरुमा दिल्लीमा भएको विधान सभाको चुनावमा पराजित भएपछि पहिलोपटक राजनीतिक धक्का महसुस गरिरहेका छन्।

भरतमा नेताहरु चर्चित अभिनेता र क्रिकेट खेलाडीहरुको महान ठानेर पुजा गर्नुलाई सामान्य ठानिने गरेको छ।

पूर्व प्रधानमन्त्री इन्दिरा गान्धी र लोकप्रिय चलचित्र अभिनेताबाट नेता बनेका एन टी रामा राओको नाममा मन्दिरहरु स्थापना गरिएका छन्।

अघिल्लो वर्षको जेनेवरीमा दक्षिणी भारतमा विपक्षी कंग्रेस पार्टीकी प्रमुख सोनिया गान्धीको मुर्ती सहितको मन्दिर स्थापना गरिएको थियो।

उत्तरी भारतको काउसम्बीमा भगवान शिवसँगै मोदीको मूर्ती राखेर पुजा गरिँदै आएको छ।

तस्बिर स्रोत, Prabhat Kumar Verma

तस्बिरको क्याप्शन, उत्तरी भारतको काउसम्बीमा भगवान शिवसँगै मोदीको मूर्ती राखेर पुजा गरिँदै आएको छ।

गएको वर्षको आमचुनावमा विजयको लागि प्रार्थना गर्दै यसअघि उत्तरी भारतमा एक जना पुजारीले शिवको मुर्तीको छेउमा प्रधानमन्त्री मोदीको मूर्ती राखेका थिए र त्यो मन्दिर अहिले पनि संचालनमा रहेको विवरणहरुमा जनाइएको छ।

रुपान्तरण

गुजरातको राजधानी अहम्दाबादबाट झन्डै १ सय ३० माइल टाढा मोदीका नाममा मन्दिर बनाउन झन्डै ३ सय ५० जना उनका समर्थकहरुले चन्दा संकलन गरेको जनाइएको थियो।

सुरुमा फ्रेममा राखिएको मोदीको तस्विर मन्दिरमा राखिए पनि पछि उनीहरुले झन्डै १ लाख ७० हजार भारतीय रुपैँया खर्च गरी मूर्ती खरिद गरेका थिए।

बिहीबार ट्वीटरमार्फत मोदीले त्यस्तो मन्दिर बनाउन लागिएकोमा आफूलाई व्यक्तिगत रुपमा दुख लागेको भन्दै आफ्ना समर्थकहरुलाई आफ्नो समय र श्रोत अन्य राम्रा काममा खर्च गर्न आग्रह गरेका थिए।

उक्त मन्दिर बनाउने योजनामा सामेल व्यक्तिहरुले अब त्यसलाई मातृभुमि भारत प्रति समर्पित एउटा धार्मिक स्थानमा रुपान्तरण गर्ने जनाएका छन्।